गोलबजार, फागुन २१
न्युनतम मानवीय जीवनस्तर भन्दा पनि तल रहेर जीविका चलाइरहेकी चन्द्रिका मुखिया र उनका छोरा सुमनलाई सहयोग गर्न गोलबजारका केही मनकारी युवाहरु अग्रसर भएका छन् । दावानल अनलाइन पत्रिकामा फोटो सहित चन्द्रिका आमा छोराको दीनहीन दारुण अवस्थाको सत्य कथा प्रकाशित भएपछि समाजको ध्यान आकृष्ट भएको छ । पत्रकार सुरेश राय भन्छन् स्वतस्फूर्त रुपमा युवाहरु सहयोग लिएर चन्द्रिका आमा छोरालाई भेट्न गएका थिए ।
आइतबार दिवा समयमा गोलबजारका मनकारी युवा समूह चामल , दाल, सोयाविन, तेल र आलु जस्ता खाद्य सामग्री सहित चन्द्रिकाको निवास स्थानमा पुगेका थिए । युवाहरुले तत्कालका लागि खाद्य सामग्री प्रदान गरिएको र पीडित आमा छोराका लागि थप सहयोग जुटाउने बताएका छन् ।
सहयोग दिन पुगेका युवाहरुलाई चन्द्रिकाले गर्मीयाम सुरु भएको र आमा छोरा सुत्ने सोन्द्रोमा सर्प आउने गरेको व्यथा सुनाएकी थिइन् । पत्रकार राय भन्छन् त्यहाँ बत्तीको व्यवस्था नरहेकोले अन्ध्यारोमा सर्पसँग पौठाजोरी खोज्दै बाँच्नुको विकल्प नभएको दारुण अवस्था अवलोकन गरियो । चन्द्रिका आमा छोराको असाहाय अवस्था देखेर कटक्क मन पोलेको सहयोग प्रदान गर्न गएका युवाहरुले बताए । उनीहरुले आमा छोरा अट्ने पानी नचुहिने छानाको व्यवस्था गर्नु पर्ने महसुस गरेको बताए । युवाहरुले भने – नगरपालिकाले सिन्को नभाँचे पनि हामी अन्यत्रबाट श्रोत जुटाएर मानवता तथा सामाजिकताको प्रदर्शन गर्ने छौं ।