तलब नपाएको भन्दै सिरहा नगरपालिकामा सफाई कर्मचारी आन्दोलनमा आन्दोलित सफाई कर्मचारी र प्रहरी बीच हात हालाहाल

[sharethis-inline-buttons]

सिरहा , फागुन २१

सिरहा नगरपालिकामा आन्दोलनरत सफाई कर्मचारी र प्रहरी बीचहात हालाहाल भएको छ । ४ महिनादेखि तलब नपाएका सफाई कर्मचारीहरु होली पर्वको एक दिन अघिसम्म तलब नपाएपछि सडकमा विरोध प्रदर्शनमा ओर्लिएका थिए । तलब माग्दै सडकमा ओर्लिएका कर्मचारीहरुले एकत्रित गरी थुपारिएको फोहोर सडकमै छरिदिएका थिए ।

सदा सर्वदा फोहोर उठाउने र नगरलाई सफा तथा चिटिक्क पार्ने कर्मचारीहरुले तलब नपाएको विरोधस्वरुप सडकमा फोहोर छर्न थालेपछि सिरहा नगर कार्यपालिकामा खलबली मच्चियो । नगरपालिकाले दमकलसहित केही कर्मचारी पठाएर सडकमा पानीको फोहरा हालेर सफा गर्न थाल्यो । दमकलले पानी छर्ने कार्यलाई सफाई कर्मचारीहरुले रोक्न खोजे । सफाई कर्मचारी भन्छन् हामीले होली पर्व पनि मान्न पाएनौ । हाम्रा बालबच्चाले के खाने ?

सफाई श्रमिकहरुले दमकललाई पानीको फोहोरा हाल्न अवरोध गरेपछि वडा प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा पुग्यो । प्रहरीसँग सफाई श्रमिकहरुको भनाभन सुरुभयो ।

 

दुईतर्फी उत्तेजना बढदै गएपछि प्रहरी र आन्दोलनकारी बीच हात हालाहाल भयो । आन्दोलनरत सफाईकर्मीहरुले प्रहरी दमन भएको आरोप लगाए पनि प्रहरी उपरीक्षक टेकु नन्द ईवा लिम्बुले बल प्रयोग नभएको तथा सफाई कर्मचारीहरुले नै प्रहरीसँग ठेलमठेल गरेको बताए । प्रहरीले संयमता अपनाउँदै उनीहरुलाई सम्झाई बुझाई गरेको लिम्बुको भनाइ छ ।

उत्तेजना शान्त भए पछि सफाई कर्मचारीहरु नगरपालिका कार्यालय अगाडि धर्नामा बसेका छन् । नगरपालिकाको तर्फबाट भने केही प्रतिक्रिया जनाइएको छैन । यस विषयमा प्रमुख प्रशासकीय अधिकृत दिलीप कुमार यादवसँग सोध्दा उनले भने तलब जम्मा हुने क्रममा छ । को –को कर्मचारीसँग कति समयको लागि करार भएको छ त्यसबारे छानविन हुँदैछ । यथाशीघ्र तलब निकासा हुन्छ । कसैले परिस्थितिलाई अनावश्यक उत्तेजक बनाउन भूमिका खेलेको उनको कथन छ ।

यता सिरहा नगरपालिकामा कार्यरत करार सेवाका स्वास्थ्यकर्मीहरुले पनि तलब नपाएको भन्दै आजैबाट नगरपालिकामा दबाब बढाउने छलफल गरेका छन् ।


प्रकाशित : २०७९ फाल्गुन २१ आईतवार