खरिद कमिशनको लागि अधिकारक्षेत्र मिचियो , ६ महिनादेखि औषधालयमा सेवा बन्द

[sharethis-inline-buttons]

अर्जुन थपलिया
गोलबजार , फागुन २१

गोलबजार नगरपालिका स्थित आयुर्वेद औषधालय खुल्न त दैनिक खुल्छ तर विरामीले सेवा भने पाउँदैनन् । किनभने औषधालयमा विगत ६ महिनादेखि कुनै औषधी छैन । विरामीहरु सेवा लिन आउँछन् तर औषधी नभएको कारण निराश भएर रित्तो हात फर्किन्छन् ।
गोलबजार नगरपालिका –४ बस्ने ६० वर्षीया सुमित्रादेवी ग्यास्ट्रिकले सताएपछि आयुर्वेद औषधालयमा आइन् तर सेवा नपाई फर्किइन् । गोलबजार ६ का मधुमेह रोगी ६० वर्षीय भरत प्रसाद साह पनि औषधालयबाट रित्तो हात फर्किए ।

 

आयुर्वेद औषधालयका लागि औषधी खरिद नगरिएको भने होइन । तर औषधी खरिद प्रकृयामा धोकाधडी भएपछि नगरपालिकाले खरिद गरेको औषधी औषधालयले बुझिलिएको छैन । नगरपालिकाको गोदाममा औषधी सडेर बसेको छ तर औषधालयमा औषधी नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।

औषधालयका सातौ तहका अधिकृत वैजनाथ महतो भन्छन् शाखा प्रमुख म हुँ । तर म दुई दिन बिदा बसेको बेला मलाई नै छलेर गोलबजार नगरपालिकाका जिन्सी शाखाका खरिदार अमलेश सिंहले आफूखुशी औषधी खरिद गरेका छन् । महतोले प्रश्न गरे “उनी आयुर्वेदका बारेमा के जान्दछन् ?” म शाखा प्रमुख हुँ , मेरो कुनै अस्तित्व छैन ? कुन औषधी , कस्तो गुणस्तरको र कति परिमाणमा खरिद गर्ने हो मसँग सल्लाह गरिनु पथ्र्यो । उनीहरुले मसँग परामर्श नगरी खरिद गरेको औषधी मैले किन जिम्मा लिनु ?

यता नगरपालिकाका जिन्सी शाखाका कर्मचारी अमलेश कुमार सिंहसँग आयुर्वेद औषधालयका लागि गैर प्राविधिकहरुले बुझ्दै नबुझी किन र कसरी औषधी खरिद गरेको भनेर पत्रकार सुरेश रायले सोधनी गर्दा उनले भने “मैले खरिद प्रकृया मात्र अगाडि बढाएको हो । औषधीको सूचि स्वास्थ्य शाखाबाट आएको बताए । ”

आयुर्वेद औषधालयका लागि खरिद गरिएको औषधी बुझ्न नमाने पछि गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौडेलले औषधालयका अधिकृत महतोलाई धम्क्याएका छन् । महतो भन्छन् “औषधी नबुझ्ने हो भने तपाईँमाथि निगरानी बढाइने छ ” भन्दै औषधी बुझ्न दबाब दिईरहेका छन् । तर औषधीको गुणस्तर सुनिश्चित नभएसम्म मैले औषधी बुझ्न मिल्दैन । भोलि कुनै विरामीमाथि तलवितल प¥यो भने को जवाफदेही हुन्छ – उनले प्रतिप्रश्न गरे ।

आयुर्वेद औषधी खरिद प्रकृयाको अधिकारक्षेत्र मिचिएको घटनाले औषधालय नै ६ महिनादेखि ठप्प छ । गोलबजार नगरपालिका स्वास्थ्य शाखाका एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा भने,“ नगर भित्र ५ रुपैयाँको सामान खरिद गर्न पनि अमलेश सिंहलाई एकद्वार बनाइएको छ । यसको प्रमुख कारण कमिशन एकत्रित भएर आओस् भन्ने हो । नगर उप प्रमुख मान्ती साहले खरिद गरिएको औषधी हेरौं त भन्दा जिन्सीका खरिदार सिंहले तपाईँले किन हेर्नु प¥यो ? भनेर प्रतिप्रश्न गरेको र उप प्रमुख चुप लागेर फर्किएको एक प्रत्यक्षदर्शी कर्मचारीले बताए । प्रमुख प्रशासकीय अधिकृत पौडेल र अमलेश कुमार सिंहको खरिद प्रकृयामा रहेको मिलिभगतले सिंगो नगरपालिका वेथितिको भूमरीमा फसेको कर्मचारीहरु बताउँछन् । प्रमुख प्रशासकीय अधिकृत पौडेलसँग प्रतिक्रिया लिन जाँदा उनी कार्यालयमा भेटिएनन् ।

नगर प्रमुख श्याम कुमार श्रेष्ठलाई पनि आयुर्वेद औषधालयमा सेवा बन्द रहेको ज्ञात छ तर उनले पनि यस प्रसंगमा सार्थक हस्तक्षेप गर्न सकेका छैनन् । प्रमुख श्रेष्ठले औषधालयका एक पटकलाई मानी दिनुस् , झगडा नगर्नुस् भनेर आग्रह गरे पनि औषधीको गुणस्तर सुनिश्चित नभएसम्म नबुझ्ने अडानमा आफू रहेको प्रमुख महतोले बताए ।

 

 


प्रकाशित : २०७९ फाल्गुन २१ आईतवार