चन्द्रिकादेवीको भोको पेट र मेयर श्याम श्रेष्ठको गरिब हन्तक नीति

[sharethis-inline-buttons]

जिन्दगी तुने मुझे कब्रसे कम दिई है जमिन
पाउँ फैलाउ तो दिवारसे सर लगता है

–अर्जुन थपलिया

प्रस्तुत पंक्ति भारतीय शायर वशीर बद्रको हो । उनी भन्छन् मैले चिहानभन्दा पनि कम जमिन पाएँ , खुट्टा तन्काउँदा भित्तामा टाउको ठोकिन्छ । भन्न त उनले राज्यलाई भनेका हुन् तर उर्दू शायरी परम्परामा शायरले व्यङ्ग्य गर्नु पर्दा आफैमाथि प्रश्न तेस्र्याउने गर्छन् ।

गोलबजार ६ टुडकियामा आम्र बगैंचाको एक रुखमुनि शरण लिएर बसेकी चन्द्रिका देबी मुखिया र उनका ८ वर्षीय छोरा सुमनसँग वशीर बद्रको भेंट भएको पक्कै थिएन । तर कविको लेखोट चन्द्रिकाको जीवनसँग ठ्याक्कै मिलेको छ ।

गोलबजारबाट टुडकिया जाने बाटोको पूर्वपट्टी ( टुडकिया पुग्नै लाग्दा ) ४ फिट लम्बाई र ४ फिट चौडाईको माटोको सोन्द्रो भित्र आमा छोरा ( दुई प्राणी ) को बास छ । १६ वर्गफिट जमिनमा ८ वर्षीय छोरा सुमनले खुट्टा फैलाउँदा भित्तामा शिर ठोकिन्छ । आमा त टुक्रुक्क बसेर रात काटछिन् । चन्द्रिका आमा छोरा बस्ने घरभन्दा १६ हौं शताब्दीमा मानिस बस्ने गुफा सुन्दर हुन्थ्यो होला ।

चन्द्रिका आजभन्दा ४० वर्ष अघि टुडकिया गाउँमै जन्मेकी थिइन् । १० वर्षको उमेरमा उनको बिबाह भयो । तीन सन्तान जन्माइन् । सन्तान जन्माउन उनका खसम उनीसँग सहवासमा सामेल भए । त्यसबाहेक बालबच्चा हुर्काउन खसमको कुनै योगदान छैन । छोरी खोसेर घरबाट बालत निकालिएकी चन्द्रिकालाई थाहा छैन उनकी जेठी छोरी कहाँ छिन् । जेठा छोरा मामाघरमा हुर्किइ रहेको छ । कान्छा छोरा सुमन ४ वर्षको हुँदा उनलाई साथ लिएर चन्द्रिकाले यो रुखमुनि आश्रय लिएकी हुन् ।

चन्द्रिकाको जीवनको व्यथा सुन्दा पीडा सहन नसकी उनी अचेत हुनु पर्ने हो । तर उनी बर्बराउछिन् मात्र । । भनिन्छ जब सन्तानमाथि विपत्ति आइलाग्छ बाउ मन्दिर गएर भगवान सामु लम्पसार पर्छन् तर आमा भगवानसँग पनि जुध्न तयार हुन्छिन् । त्यसैले बाउभन्दा आमालाई समाजमा उच्च दर्जा प्राप्त छ । पिता नहुँदा पनि सुमनले आफूलाई बेसाहारा अनाथ सम्झिन पाएका छैनन् ।किनभने उनकी जोद्धा जननी चन्द्रिका जीवित छिन् ।

चन्द्रिकाको छातिमा एक लाक्षगृह दन्दनी बलेको छ । उनको अधरमा भोकको कोलाहल छ । दैनिक ज्याला मजदुरी गरेर आफ्नो र छोराको प्राण धानेकी छिन् । काम सधै पाउँदिनन् , पाए पनि ज्याला ४०० मात्र पाउँछिन् । दैनिक श्रम श्रोषण छ । काम नपाएको दिन भिक्षा माग्न पनि जान्छिन् । उनी जीवनको समर भूमिमा भीष्म जस्तै घाइते छिन् । उनको जीवन संघर्षको समरभूमि र उत्तप्त अगेनो जस्तै छ । उनको सोन्द्रो अगाडिबाट वडाध्यक्ष, नगर प्रमुख र उपप्रमुख पनि स्कारपियो चढेर सवारी भएको काकाकुल नयनले देख्छिन् । तर उनलाई कसले सोध्ने कुशलक्षेम ? गरिबीको चक्रब्युहमा बालक सुमन मुखियाको जीवन अभिमन्यू जस्तै छ । मर्नका लागि जीवित छु भन्ने चन्द्रिका भन्छिन् म मरे भने पनि कुना जलाइएको चिठ्ठी कसलाई पठाउनु होला मेरो छोराले ? जन्मदर्ता खसमले खोसे । नागरिकता बनाइदिएनन् । न घर छ न घाट । उनको पेट भोको छ । आखाँमा नुनीलो आँशुको सागर छ । जीवन एक अजंगको उचालिनसक्नु पहाड छ ।

चन्द्रिका जस्तै भोको पेटहरुमा तातो माड पु¥याउन विश्व बैंकले गोलबजार नगरपालिकालाई बजेट दिएको छ । उक्त बजेट नेपाल सरकारको शहरी विकास मन्त्रालय मार्फत आएको छ । श्रममुलक रोजगार परियोजना (Labour Intensive Public Works ) नामाकरण गरिएको छ । मन्त्रालयले जारी गरेको म्यानुअल हेर्दा र सो परियोजनाका अफिसर पुष्कर खडकाको भनाइ अनुसार यो परियोजना कोभिड प्रभावित भएर आर्थिक रुपमा तन्नम भएका र रोजगारीको अभावमा भोकमरीको सामना गरिरहेका वर्ग र तहका जनसमुदायलाई श्रमिकको रुपमा प्रयोग गरेर उनीहरुको जीवन निर्वाहमा मद्दत गर्ने उद्देश्यले आएको हो । यस परियोजनाको बजेटबाट १ दशमलव ५ प्रतिशत रकम कन्टेनजेन्सी , ४ दशमलव ५ प्रतिशत मेसिनरी प्रयोग र ४० प्रतिशत रकम सामग्री खरिद गर्ने तथा बाँकी ६० प्रतिशत रकम अनिवार्य रुपमा श्रमिकलाई ज्याला दिने भनिएको छ । श्रमिकलाई नियुक्ति पत्र दिनु पर्ने , उनीहरुलाई सुरक्षा सेफ्टी सामग्री दिइनु पर्ने , बैंक खातामार्फत भुक्तानी दिनु पर्ने उल्लेख छ ।

मेयर श्याम श्रेष्ठ ज्यु एलआईपिडब्लु परियोजनाको ६० प्रतिशत रकममा चन्द्रिकादेबी र धोवियाधारका गरिब मुसहर समूदायका जनताको हक छ । कुल १० करोड रकम नगरपालिकामा प्राप्त हुने सम्झौता भएको स्वयं मेयर साहवले बताउनु भएको छ । त्यसको ६० प्रतिशत अर्थात ६ करोड रकममा गोलबजार नगरपालिकाका भित्रका श्रमिकहरुको अधिकार छ । नङ्ग्रा खियाउने – हातले काम गर्ने ) वर्गका लागि आएको त्यो रकम । यो कुरा मन्त्रालयले जारी गरेको म्यानुअलमा लेखिएको छ । अफिसर पुष्कर खडकाको भनाइ पनि त्यहि अनुसारको छ । खडका भन्नुहुन्छ यदि ६० प्रतिशत रकम श्रमिकलाई भुक्तानी हुँदैन भने त्यो गैर कानूनी हुन्छ । मेयर साहब गरिबका मुखमा माड लागाउन आएको रकम कथित विकासका नाममा ट्रिपरबाला, डोजर, ग्राभेल खानीबाला र स्काभेटरबालालाई पोस्नु विकास होइन । गरिबहन्तक (गरिबमारा ) नीति हो । अन्याय हो अत्याचार हो । विश्व बैंक लगायत मन्त्रालयसँग सम्झौता गर्दा ६० प्रतिशत रकम मजदुरका लागि खर्च गर्ने कबुल गरेर परियोजनाको उद्देश्य विपरीत सामग्री खरिद गरेर धनी पोस्नु विकास होइन र किमार्थ पनि सदाचार होइन । भ्रष्टाचार र कुसाशन हो । मेयर साहब परियोजनाको सम्झौता गर्दा त्यसमा उल्लिखत उद्देश्य पढ्नु भएन र ? विश्व बैंकलाई ढाँटछल गरेर उद्देश्य विपरीत कार्य गर्न पाइन्छ ? सम्झौता उलंघन गर्न पाइन्छ ? मजदुरको पेटमा लात हान्न पाइन्छ ? उही हो तपाईको सुशासनयुक्त राजनीति ?

मजदुरले सिमेन्ट बोकेर , ग्राभेल बोकेर ल्याउन सक्छन् भनेर प्रश्न गर्दै भाषण गर्नुभयो । सबै मजदुरलाई सेफ्टी टुल्स दिन सकिदैन भनेर लेख्ने पत्रकारलाई चुनौती दिनुभयो । छड प्रयोग गर्न नपाइने सम्झौता गरेर अहिले छड हाल्दै हुनुहुन्छ ? सम्झौता गर्ने बेलामा चेतना कहाँ थियो । जसरी पनि झुठको खेती गरेर रकम स्वाहा पार्ने दाउ हो । मेयर साहव गरिबको नाममा , श्रमिकको नाममा आएको रकम अनिवार्य रुपमा उनीहरुमै खर्च हुने गरी परियोजना तर्जुमा गरिनु पथ्र्यो । विकासका नाममा मजदुरको नाममा आएको रकम अन्यत्र खर्च गर्नु अनैतिक कार्य हो । परियोजनाको उद्देश्य विपरीत खर्च गरिनु आर्थिक अपराध हो । परियोजनाको उद्देश्य अनुरुप काम गर्नुभएको छैन र मजदुरमा ६० प्रतिशत रकम खर्च भएको छैन भनेर त स्वयं मेयर साहबले भाषणमै स्वीकार गर्नुभयो । उल्टो घुर्की लगाउँदै भन्नुभयो के यो विकासको रकम फर्काइदिउ त ? मेयर साहव विकासको रकम फर्काउनलाई जनताले मत दिएर जिताएका हुन् र ? विकासको रकम फर्काउन हुँदैन तर परियोजनको उद्देश्य विपरीत फर्जी बील बनाएर खर्च गर्न पनि पाइदैन । यस्तो विकासले विनास ल्याउँछ । समाजमा गलत सन्देश जान्छ ।

मेयर साहव गोलबजार नगरपालिका धोवियाधारका मुसहर समुदाय र चन्द्रिका जस्ता भोको पेट प्रति उत्तरदायी छ कि छैन ? छ भने उनीहरु जस्ताको नाममा आएको रकमले किन डोजर प्रयोग गर्नुहुन्छ ? किन ग्राभेलमा खर्च गर्नुहुन्छ ? कि गरिबका लागि योजना तर्जुमा गर्नुपर्छ भन्ने संवेदनशीलता नभएको हो ?

मेयर साहव , ओशो भन्छन् नग्नता मानवको जन्मसिद्ध अधिकार हो । किनकी मानव नग्न नै जन्मिन्छ । तर राजनीतिमा नग्नता वर्जित छ । लोकलाज हुन्छ । चन्द्रिका जस्ताको भोको पेट भर्न आएको रकम अनन्तमा विलय हुँदैछ । हाम्रा मेयर अनन्त जालमा फस्नु भएको छ । मैले भोट दिएर जिताएको मेयरको मलाई औधी माया लागिरहेको छ । तपाई स्वयंले भन्नुभयो मलाई राजनीतिमा धेरै माथि जानु छ । गरिबमारा नीति अपनाएर राजनीतिमा श्रीवृद्धि होला त ?

 


प्रकाशित : २०७९ फाल्गुन २० शनिबार