–अर्जुन थपलिया
सुखीपुर नगारपालिका वडा नं. ६ का वडाध्यक्ष रामेस्वर साहले वडा कार्यालय भवन निर्माण गर्ने प्रयोजनका लागि २०७६ सालमा खरिद गरेको २ कट्ठा ३ धुर जग्गामा नगर प्रमुख राम अवतार यादवले भ्रष्टाचार गरेको आरोप लगाएका छन् । बनिबनाउ सडक बनाउने भनेर गोप्य रुपमा उपभोक्ता समिति बनाएर सडकमा थोरै माटो हालेर करिब १७ लाख रकम निकासा गरेको उनले दावी गरे । खरहीटोलदेखि मखानपोखरीसम्मको सडक वर्षौ पुरानो सडक हो । त्यसलाई नयाँ सडक बनाएको भनेर रकम निकासा गरिएको उनको आरोप छ । वडाका जनप्रतिनिधिहरुलाई थाहै नदिइ उपभोक्ता समिति निर्माण गरी सडक बनाएको नाममा रकम झिकिएको र पार्टी कमिटीलाई वडा कार्यालयको लागि जग्गा खरिद गर्न रकम उवार्ने भनेर धोका दिइएको गुनासो गरे । उनले यसबारेमा सम्बन्धित निकायले जाँच गर्नुपर्ने पनि माग गरे ।
दिपेन साहबाट खरिद गरिएको जग्गा सडकले छोएको छैन र सो जग्गामा पुरण साह तेली मोही रहेका छन् । जग्गा खरिद गर्दा मोही किसान पुरण साह तेलीले आफूलाई नसोधिएको र मोही अझै कायम रहेको बताए । उनले मोहीयानी हक नछोड्ने पनि बताए । खरिद गरिएको जग्गा २ कट्ठा ३ धुर मात्र हो तर नगर प्रमुख यादव भन्छन् २ कट्ठा १० धुर हो ।
जग्गा खरिद गर्ने रकम कहाबाट कसरी आयो ?
वडाध्यक्ष साह भन्छन् , “ वडा कार्यालयका लागि जग्गा खरिद गर्ने सम्बन्धमा एमाले वडा पार्टी कमिटीको बैठक बोलाइयो । मेयर यादवले आफ्ना बहुमत समर्थकहरुलाई बोलाएर प्रस्ताव राखे । “एउटा सडक बनाउन पार्टी कमिटी भित्रैबाट उपभोक्ता समिति बनाऔं ” त्यसैबाट रकम उबारेर वडा कार्यालयका लागि जग्गा किन्ने सहमति बन्यो । हामीले दुई जना दाताहरुले निशुल्क जग्गा दिइरहेको अवस्थामा जग्गा खरिद गर्नु उचित नहुने भन्यौं । वडाका जनप्रतिनिधिहरुले विरोध ग¥यौं तर मेयर साहवले मान्नु भएन । खरहीटोलदेखि मखान पोखरीसम्म पहिल्यैदेखि बनिबनाउ सडक बनाउने भनेर उपभोक्ता समिति गठन गरियो । उपभोक्ता समिति गठन गर्दा वडालाई सोधिएन । गोप्य तरिकाले नगरपालिकाबाटै उपभोक्ता समिति गठन गरियो । दुई चार ट्रयाक्टर माटो हालेको हामीले देख्यौं । हिसाव किताव नाप जाँच केही हेर्न दिइएन । साह भन्छन् –१७ लाख रकम झिकियो । जवकी एक लाखको माटो पनि सडकमा हालिएन । ४ लाखमा जग्गा किनियो १२ लाख रकम भागशान्ति लगाएर हजम गरियो । कति बजेट थियो र उपभोक्ता समितिमा को–को थिए आज पर्यन्त थाहा पाउन सकिएन । वडाध्यक्ष साह भन्छन् सडकबाट उवारेर त खाए खाए पछि जग्गा खरिद गरेको ४ लाख रकम पुनः नगरपालिकाबाट भुक्तानी गरिएको पनि गाइँगुइँ सुनियो तर यथार्थ थाहा भएन ।
वडाध्यक्ष रामेस्वर साह भन्छन् , “ स्थानीय उत्तमबहादुर केसीले वडा कार्यालय र उप स्वास्थ्य चौकी भवन निर्माण गर्न ५ कट्ठा जग्गा निशुल्क दान गर्ने प्रस्ताव राखेका थिए । ” केसीले सडकले भेटेको जग्गा दान दिन खोजेका थिए तर नगर प्रमुख यादवले उक्त जग्गा लिनै मानेनन् । केसीको जग्गा मेयरले अस्वीकार गरेपछि वडाध्यक्ष साहले एक सार्वजनिक सभालाई संवोधन गर्दै मेयर यादव समक्ष ३ कट्ठा १० धुर आफ्नै जग्गा दान दिने प्रस्ताव राखे । वडाध्यक्ष साहको प्रस्ताव पनि यादवले अस्वीकार गरे । वडाध्यक्ष साह भन्छन् – “ मैले खुद आफ्नो सडक छेउकै जग्गा दान दिने घोषणा गरें । मेयर साहवलाई पटक पटक भेटेर अनुनय विनय गरें । तर उहाँले मेरो जग्गा पनि लिन मान्नु भएन । ” वडाका दुई जनाले निशुल्क दान दिइरहेको जग्गा अस्वीकार गरेर अपायक पर्ने सडकले नभेटेको जग्गा खरिद गर्नु पर्ने कारण नै कमिशनको खेल हो , वडाध्यक्ष साहले ठोकुवा गर्दै भने ।
सडकले नभेटेको र अपायक पर्ने जग्गा मेयरले चर्को मूल्य हालेर खरिद गर्न लागेका थाहा पाएर वडाका जनप्रतिनिधि र एमालेको वडा कमिटीका १७ जनाको डेलिगेशनले भेटेर नगर प्रमुख यादवलाई उक्त जग्गा खरिद नगर्न भन्यौ । तर पनि नगर प्रमुखले जग्गा किनेरै छाड्नु भयो । वडाध्यक्ष साह भन्छन् , “ हाम्रो ६ नंं वडाको कार्यालय बनाउन खरिद गरिएको जग्गाको घर बाटो भए÷नभएको सिफारिस ९ नं. वडा कार्यालयबाट लगिएछ । साह भन्छन् –यसबाट पनि प्रष्ट हुन्छ नगर प्रमुख यादव कमिशन प्राप्त गर्न जुन हदसम्म पनि जान सक्छन् । ”
यस सम्बन्धमा नगर प्रमुख यादवसंग प्रश्न ग¥यौं – “६ नंं वडा कार्यालय निर्माण गर्न जग्गा खरिद गर्नुभयो तर नगरपालिकाबाट रकम भुक्तानी भएको देखिंदैन त ?” नगर प्रमुख यादवले भने त्यो २ कट्ठा १० धुर जग्गा एमालेको वडा कमिटीका साथीहरुले चन्दा उठाएर खरिद गरेका हुन् । साथीहरुले चन्दा उठाएर किन्छौं भने –मैले हुन्छ भने । अनि पास गराउन स्वीकृति दिएँ । चन्दा उठाउन एमालेका कुन–कुन कार्यकर्ता संलग्न थिए र को–को चन्दा दाताले कति चन्दा दिए त ? त्यसको रेकर्ड होला नि नगरपालिकामा भनेर अर्को प्रश्न गर्दा यादवले चन्दा उठाउने र चन्दा दिने कसैको नाम बताएनन् । को–को थिए याद छैन भनेर टारे । १५ मिनेट लामो अन द रेकर्ड वार्तालापमा मेयर यादवसंग सोधियो – वडाका निर्वाचित जनप्रतिनिधिसहित एमालेकै वडा कमिटी सदस्यहरु १७ जनाले डेलिगेशन आएर सडक नभएको अपायक पर्ने जग्गा खरिद नगर्न र सडकले छोएको निशुल्क प्राप्त हुने जग्गा स्वीकार गर्न आग्रह गर्दा पनि स्थानीय जनमत विरुद्ध गएर किन जग्गा खरिद गर्नुभयो ? नगर प्रमुख यादवको उत्तर थियो जग्गा खरिद भइसकेपछि उहाँहरु भन्न आउनुभयो ।
वडाध्यक्षसहित दुई जना दाताले निशुल्क जग्गा दिंदादिदै किन चन्दा उठाएर अर्को जग्गा किन्नु प¥यो भन्ने प्रश्नमा नगर प्रमुख यादवले भने उत्तमबहादुर केसी र स्वयं वडाध्यक्ष रामेस्वर साहले जग्गा दान दिन खोजेको सही हो तर त्यो जग्गा अपायक पर्ने स्थानमा थियो । त्यसकारण लिइएन । तर यादवको यो कथनलाई वडाध्यक्ष साहले महा झुठ भनेर चुनौती दिए । उनले भने अहिले पनि गएर हेरौं, –मैले र केसीले दिने प्रस्ताव गरेको जग्गा मेयरले खरिद गरेको जग्गाभन्दा पायक पर्ने र सडकले छोएको जग्गा छ । वडाध्यक्ष साहले जग्गा खरिद गरेपछि डेलिगेशन आएको भन्ने भनाइ पनि झुठ भएको प्रतिक्रिया दिए । उनले भने घर बाटो सिफारिस दिने अधिकार मेरो थियो । मेरो वडाका लागि खरिद भएको जग्गाको सिफारिस ९ नं. वडाध्यक्षबाट लिनुले नै मेयर यादवको नियत प्रष्ट हुन्छ ।
वडाका जनप्रतिनिधि र पार्टी कमिटीका साथीहरुले जग्गा खरिद गर्न किन मरिहत्ते गरेको भनेर सोध्दा नगरप्रमुख यादवले आफूलाई तत्कालीन प्रदेश ५ का प्रमुख धर्मनाथ यादवले उनको घर भएको खरहीटोल नजिक वडा कार्यालय निर्माण गर्न दवाव दिएकाले सो स्थानमा जग्गा खरिद गर्न बाध्य भएको जवाफ दिएको स्थानीय भवानी साहले बताए । यस सम्बन्धमा पूर्व प्रदेश प्रमुख ( प्रदेश ५ ) संग जिज्ञासा राख्दा उनले भने मैले कुनै दवाव दिएको छैन र जग्गा यहाँ ÷वहाँ किन भनेकै छैन । पूर्व प्रदेश प्रमुख यादवले जग्गा खरिद गर्न सडक परियोजनाबाट रकम उबार्ने सहमति भएको र पार्टी कमिटी भित्रैबाट उपभोक्ता समिति बनाएको कुरा स्वीकार गरे । तर कति बजेट थियो , कति खर्च भयो र कति उबारियो सो कुरा भने मेयरले पार्टी कमिटीमा नबताएको दुखेसो पोखे । उनले जग्गा खरिद गर्न चन्दा उठाइएको कुरा झुठ हो भने ।
मेयर यादवलाई अर्को वडाबाट किन सिफारिस लिनु भयो ? अनियमित भएन र भन्ने प्रश्न गर्दा उनले भने “वडाध्यक्ष साह विरोधमा थिए । मैले चन्दा उठाउने पार्टीका साथीहरुको मेहनत र उत्साहलाई कदर गर्नै प¥यो भनेर झारा टार्ने शैलीमा उत्तर दिए । उनले सडक निर्माणबाट बजेट उवारेको आफूलाई थाहा नभएको जिकिर गरे । ”
मेयर यादवले जग्गा त खरिद गरे तर वडा कार्यालय भवन भने निर्माण गर्न सकेनन् । वडा कमिटी र एमालेकै स्थानीय बहुमत पार्टी कमिटीले मेयर यादवले खरिद गरेको जग्गामा भवन बनाउन अस्वीकार गरिदिए । मेयर यादव भन्छन् मैले दुई आर्थिक वर्ष लगातार भवन बनाउन बजेट विनियोजन गरें तर साथीहरुले सो स्थानमा भवन बनाउन मान्नु भएन । दुई पक्ष भयो । अन्त्यमा मैले गोला प्रथाबाट भवन बनाउने स्थान निक्र्यौल गरौं भने तर एक पक्षले मान्नुभएन । वडाध्यक्ष यादव भन्छन् स्थानीय जनताको सहमति बिना मेयरले भवन बनाउन सक्दैनन् । पायक अपायक छुट्याउने काम वडा नंं ६ का जनताको अधिकार हो । भ्रष्टाचार गर्न खरिद गरिएको जग्गामा भवन बनाएर हामी उनको अनियमिततालाई अनुमोदन गर्न सक्दैनौ ।
अचम्म त के छ भने सुखीपुर नगरपालिका वडा नं. ६ मा वडा कार्यालय भवन निर्माणका लागि खरिद गरिएको भनिएको जग्गा मालपोत कार्यालय सिरहाको श्रेष्तामा कतै भेटिदैन । २ कट्ठा ३ धुर जग्गा २०७६ सालमा खरिद भएको कुरा एमालेको पार्टी कमिटी , स्वयं मेयर राम अवतार यादव र वडाध्यक्ष साहले कबुल गरेका छन् । जग्गा धनी दिपेन साहले सुखीपुर नगरपालिकाको नाममा जग्गा पास गरिदिएको बताउँछन् । उनी भन्छन्– मैले प्रति कट्ठा २ लाखका दरले २ कट्ठाको ४ लाख रकम लिएर जग्गा नगरपालिकालाई बिक्री गरेको हुँ । ३ धुर निशुल्क दिएको हुँ । नगर प्रमुख यादवले पहिले दुई लाख दिए र जग्गा पास भए पछि दुई लाख दिए । तर मालपोत कार्यालयको श्रेष्तामा जग्गा भेटिदैन । सुखीपुर नगरपालिकाका कार्यकारी अधिकृत चन्देस्वर प्रसाद यादव भन्छन् “वडा नं. ६ को कार्यालय भवन निर्माण प्रयोजनका लागि खरिद गरिएको भनिएको जग्गाको लालपुर्जा वा अन्य कुनै रकर्ड नगरपालिकामा छैन ।” सर्वप्रथमतः चन्दा उठाएर नगरपालिकाको नाममा जग्गा खरिद गर्नु गैर कानूनी हो । सडक निर्माणबाट रकम उबारेर जग्गा खरिद गर्नु त झन् भ्रष्टाचार नै हो । सुखीपुर नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत डा. श्रवण साहले पनि उक्त जग्गा खरिदबारे आफूलाई केही थाहा नभएको बताए ।
मेयर साहब नेपाली नागरिकको हैसियतले म सोध्न चाहान्छु “ सुखीपुर नगरपालिका वडा नं. ६ को कार्यालय भवन निर्माण प्रयोजनका लागि खरिद गरिएको जग्गा खोइ ? कस्को नाममा छ ? लालपुर्जा सार्वजनिक गरिनु प¥यो ।