धोवियाधार मुसहर बस्ती , क्रान्तिकारी लाल शासकहरु र एमालेको मिसन ग्रासरुट

[sharethis-inline-buttons]

–अर्जुन थपलिया
एउटा गाउँ धोवियाधार – गोलबजार नगरपालिका वडा नं. १० मा दलित मुसहर समुदायको बस्ती छ । पुरानो चोहर्वा चौकबाट उत्तर श्रेष्ठ टोल हुँदै धर्मपुर पुगेर पश्चिम घुर्मी नदीतर्फ मोडिदा यो बस्तीमा पुगिन्छ । राजमार्गबाट पुगनपुग ४ किलोमिटर उत्तरमा अवस्थित छ यो दलित मुसहर बस्ती । यस बस्तीमा ४५ घरधुरी मुसहर समुदायको बसोबास छ । बस्तीमा मुसहर समुदायको २१३ जनसंख्या रहेको छ । त्यसमध्ये महिला ९९ र ११४ पुरुष रहेका छन् । यो बस्तीमा ५ वर्ष मुनिका ४१ जना बालबालिका छन् । ती कलिला मूनाहरु मध्ये आधाजसोले पूरा डोज खोप लगाएका छैनन् ।

सरसर्ती हेर्दा झण्डै आधा संख्यामा बच्चाहरु पेटभरी खान नपाई कुपोषित देखिन्छन् । (स्वास्थ्यकर्मीले कुपोषित र हृष्टपुष्ट नछुट्याएसम्म यकिन संख्या उल्लिखित गर्न सकिएन ) ५ देखि १६ वर्ष मुनिका बालबालिकाहरुको संख्या ५४ रहेको छ । यी ५४ बालबालिकाहरु मध्ये विद्यालय ( बाल विकास केन्द्रमा ) जाने जम्मा २ जना छन् । उनीहरु पनि नियमित जाँदैनन् ।

९५ जना बालबालिकाहरु मध्ये ५५ जनाको जन्मदर्ता भएको छैन । १६ वर्ष माथिका ११८ जना जनसंख्या भएको यस मुसहर बस्तीमा ५६ जनाको नागरिकता छैन । सबै ४५ घरधुरी भूमिविहीन सुकुम्वासी छन् । कसैको लालपुर्जा छैन । ४५ घरधुरीको दलित मुसहर बस्तीमा ६० वर्ष माथिका जम्मा ३ जना छन् । ६ जनाले सामाजिक सुरक्षा भत्ता पाइरहेका छन् । ३ जना ६० वर्ष नाघेको कारण र ३ जना महिला पतिको मृत्यु भएर एकल भएको कारणले भत्ता लिन्छन् । यो बस्तीमा ६० वर्ष नाघेका पति पत्नी एक जोडी मात्र छन् । ५० वर्ष माथिकाको कि त पतिको मृत्यु भएको छ कि पत्नीको । विहङ्गम दृष्टिकोणबाट हेर्दा भन्न सकिन्छ अधिकांश मुसहर समुदायको ५० वर्ष नपुग्दै मृत्यु भइरहेको छ ।

यस गाउँबाट बैदेशिक रोजगार खाडी मुलुक जाने जम्मा एक जना छन् । अपाङ्ग संख्या ३ जना छन् त्यसमध्ये एक जनाले मात्र अपाङ्ग भत्ता पाइरहेका छन् । २१३ जनसंख्या पूरापूर निराक्षर छन् । ४५ धरधुरी मध्ये झण्डै २० धरधुरीमा आकाशको पानी छेकिने अवस्था छैन । छानाविहीन अवस्था छ । कुनै पनि घरधुरीमा ७ दिन खान पुग्ने अन्न भण्डार छैन । यो गाउँमा आजका मितिमा ७ जना महिला गर्भवती छन् तर कसैले पनि गर्भावस्थामा गरिने स्वास्थ्य जाँच सेवा पाएका छैनन् ।

धोयिबारधार दलित मुसहर बस्ती बसेको झण्डै एक शताब्दी वितेको छ । मुनिलाल सदा भन्छन् म समेत यहाँ बसेको ५ पुस्ता भयो । हाम्रा बराजुले यो जंगल झाडी फाँडेर यो भूमिलाई खेतीयोग्य बनाए । तर बुर्जा मगर यहाँका पटुवारी थिए । उनले सबै जग्गा आफ्ना नाममा लेखाए । हामीले करेसामा फलाएको साग , तरकारी र केरा उनीहरुलाई दिनुपथ्र्यो । अहिले हाम्रो नाममा नापी गरिएको भनिएको छ । तर लालपुर्जा पाएका छैनौ ।

मुनिलाल सदा पक्षघात भएर अपाङ्ग भएका छन् । उनको अवस्था अत्यन्त दारुण छ । उनको घर ढलेको छ । ४ जना बालबच्चा सहित उनी आँगनमा सुत्छन् । एउटी पत्नीले ज्याला मजदुरी गरेर परिवारका मुखमा माड लगाएकी छन् । अर्की एक एकल महिला जंगली देवी सदाको अवस्था त झन सुन्दै विरक्तलाग्दो छ । छोरा र बुहारी दुवैको मृत्यु भएछ । ३ वटा नाती नातिना भाल्टाङ्गभुल्टुङ्ग छन् । उनी आफू आँखा देख्दिनन् । घर पनि छैन । लौकाको थाङ्ग्रा मुनि बालबच्चा लिएर सुत्छिन् । ३ वटै बालबालिका मृत्युमय जोखिममा छन् ।

यो मुसहर बस्तीमा पुष्पकमल दाहाल प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा एउटा पाहुनाघर निर्माण भएको रहेछ । मुसहर समुदाय भन्छन् हाम्रो गाउँमा यो पाहुनाघर बनाउँदा हामीलाई उपभोक्ता समितिमा राखिएन । को–कसले आएर बनाइदिए । १० वर्ष नपुग्दै भत्किदै छ । छत उप्किन थालेको छ । कुन दिन गल्र्याम्म ढलेर मुसहरहरु चिरिप्पै मारिने हुन थाहा छैन ।

एक पटक खानेपानी लिन जाँदा अछुत दलित भनेर मुसहरहरु गैरदलित समुदायबाट पिटिएका थिए । सञ्चारमाध्यममा त्यो घटना प्रकाशित भएपछि गोर्खा वेलफेयरबाट यस गाउँमा घरैपिच्छे एक धारा जडान गरिएको रहेछ । मुनिलाल सदा भन्छन् धन्न विदेशी परियोजना र खानेपानी पाएका छन् मुसहर समुदायले । चोहर्वा चौकदेखि उत्तर धर्मपुर गाउँसम्म कालोपत्रे सडक छ तर जहाँबाट मुसहर बस्तीतर्फ मोडिन्छ त्यहाँदेखि ग्राभेल पनि हालिएको छैन । नेपाल सरकारले ५७० रुपैयाँ मजदुरको प्रतिदिनको ज्याला तोकेको छ तर यहाँका मुसहर समुदाय ३ देखि ४ सय रुपैयाँमा दैनिक मजदुरी गर्न बाध्य छन् । दैनिक १ सय ७० देखि २७० रुपैयाँसम्म श्रम शोषणमा परिरहेका छन् ।

अब अर्को गाउँ – पुरानो चोहर्वा चौकबाट उत्तर लाग्नसाथ सुरु हुन्छ श्रेष्ठ टोल । यो टोल साविक चन्द्रलालपुर गाविसको २ नं. र हाल गोलबजार नगरपालिकाको ७ नं. मा पर्छ । यो टोलमा नेकपा एमालेका पोलिटव्युरो सदस्य, मधेस प्रदेशका सह इन्चार्ज , पूर्व जिविस उपसभापति , दोश्रो अवधिका लागि निर्वाचित सांसद , ५ वटा मन्त्रालय सम्हाल्ने गरी मन्त्री हुनुभएका , विकासका लागि मरिहत्ते गर्ने छविको रुपमा प्रस्तुत गरिएका लीलानाथ श्रेष्ठ र तत्कालीन चन्द्रलालपुर गाविसका दुई अवधिसम्म अध्यक्ष रही हाल गोलबजार नगरपालिकाका मेयर रहनु भएका श्याम कुमार श्रेष्ठ ज्युको घर पर्दछ । धोवियाधार र श्रेष्ठ टोलको दूरी ३ किलोमिटर छ ।

श्रेष्ठ टोल चौतर्फी रुपमा कालोपत्रे सडक जडित छ । नाला सर्वत्र बनाइएको छ । जिल्ला विकास समितिको उपसभापति हुँदा जिल्लामा सर्वाधिक रुपमा इनार खनिएको गाउँ श्रेष्ठ टोल नै हो । अहिले बोरिङ्ग घरैपिच्छे जडान भएको गाउँ श्रेष्ठ टोल नै हो । सिरहा जिल्लामा रहेका शानदार होटलहरुलाई मात दिने अतिथि गृह यही निर्माण भएको छ । अस्पताल लाल दरवारलाई नजिक पर्ने गरी नै बन्ने सुनिश्चित छ । अरु धेरै बयान नगरौं । पुस्तक नै बन्छ । जिल्ला विकासको शासन हातमा आएदेखि हालसम्म श्रेष्ठ टोलमा लगाइएको विकास बजेटको हिसाब लगाउन चार्टर्ड एकाउन्टेन्ट नै चाहिन्छ ।

मेयर श्याम कुमार श्रेष्ठ दुई अवधि गाविस अध्यक्ष हुँदा चोहर्वा पशु बजारका लागि जग्गा खरिद गर्नुभएको र ट्रयाक्टर खरिद गर्नुभएको कुरालाई आफ्नो विकासप्रेमी कामको रुपमा प्रस्तुत गर्नुहुन्छ जसरी एमालेले मनमोहन अधिकारीको ९ महिने प्रधानमन्त्रीत्वकालमा सुरु गरिएको सामाजिक सुरक्षा भत्तालाई प्रस्तुत गर्छ ।

मेयर साहव थोरै पनि कम्युनिष्ट चेत भएकाले छर्लङ्ग बुझ्छन् विकासको वर्गीय चरित्र हुन्छ । विकासको वर्गीय पक्षधरता हुन्छ । पूूर्वमा मैनावत्ती नदी पश्चिममा पुरनो चोहर्वा चौक उत्तरमा धर्मपुर र दक्षिणमा राजमार्ग यति चार किल्ला भित्रको ५० प्रतिशत जग्गा जमिन तत्कालीन चन्द्रलालपुर गाविस वडा नंं २ मा पर्ने श्रेष्ठतम मानिसहरुहरुको स्वामित्वमा रहेको छ । पशुहाट लगाएर मेयर साहवले आफ्नो , आफ्नो नातागोताको र श्रेष्ठतम मानिसहरुको जग्गाको मूल्य वृद्धि गराउनु भयो । साम्यवादी दर्शनका अनुयायी मेयर साहव विकास र राज्यको श्रोतमा कसले प्राथमिकता पाउनु पर्ने हो ? पशुहाट लगाउन जग्गा खरिद गर्ने विकास कसको हितमा गर्नुभयो ? त्यो विकासलाई देखेर÷हेरेर आजसम्म सरकारी श्रोतबाट एक रुपैयाँ नपाएको धोवियाधारका दलित मुसहर बस्ती कसरी रमाउने ? ट्रयाक्टर खरिद गर्नुभयो । त्यो ट्रयाक्टर धोवियाधार जस्ता तन्नम गरिब र सर्वहाराको हितमा कसरी प्रयोग भयो ? धनीमानीका घर अगाडिको फोहोर फाल्न अझैसम्म प्रयोग भइरहेको छ ।

धोवियाधारका दलित मुसहरहरु भन्दैछन् दुई पटक गाविस अध्यक्ष र एक पटक मेयर भइसक्दा पनि आज पर्यन्त एक रुपैयाँ पनि श्रोत यो बस्तीमा आएको छैन । नागरिक त उनीहरु पनि हुन् । हरेक पटक भोट माग्न धोवियाधार जानु भएको कुरा मुनिलाल सदा सुनाउँछन् । मेयर हुनुभयो । त्यसपछि संसदीय निर्वाचनमा ज्येष्ठ भ्रातालाई जिताउने तानावाना बुन्न व्यस्त हुनुभयो । लोकलाजको समेत प्रवाह नगरी कालोपत्रे भएकै ठाउँमा आफ्नो घर वरिपरी ( श्रेष्ठतम मानिसहरु बसोवास गर्ने टोलमा ) पुन कालोपत्रे गराउनु भयो । बजेट कहाँबाट आयो अझैसम्म कसैले थाहा पाउन सकेका छैनन् । अपारदर्शीताको यो नकारात्मक नमूना भविष्यमा पनि उदाहरण दिन लायक हुनेछ ।

एलआइपिडब्लु परियोजनाबाट १० करोड रकम खर्च गर्दै हुनुहुन्छ । त्यस परियोजनामा भएको वेथिति लेख्न त बाँकी नै छ । तर त्यो १० करोड रकममा पनि धोबियाधारका दलित मुसहरहरु समेटिएनन् । धोबियाधारका मुसहर समुदयको छाना टाल्न प्राथमिकता नदिई ग्राभेलमा १० करोड खर्च गर्न मेयर साहव किन उद्धत हुनुहुन्छ ? दुनियाँलाई थाहा छ मैले यहाँ लेख्नै पर्दैन । मेयर साहवले केही महिना अघि मात्र भाषण गर्दा भन्नुभयो गरिबीका कारण स्कूल नगएका कोही छन् भने ल्याउनुस् , नगरपालिकाले पढाउँछ । मेयर साहव धोबियाधारका ५५ जना बालबालिका विद्यालय जान पाएका छैनन् । कृपया आफ्नो बचन पूरा गर्नुहोस् । सृजनाका ती कलिला मूनाहरुको भविष्य अन्धाकरतर्फ जाँदैछ । शिक्षाको उज्यालोबाट उनीहरु बञ्चित छन् । बोलेको पूरा गर्ने हो र थोरै पनि क्रान्तिकारी लक्षण बाँकी छ भने यी ५५ जना बालबालिका हामी पत्रकारले देखाइ दिएका छौं ।  कृपया पढाउनुहोस् यिनलाई ।

मेयर साहव माक्र्सवाद , लेनिनवाद मान्ने मनमोहन अधिकारी र श्वेत शार्दूलको पार्टी , जनताको बहुदलीय जनवादलाई मार्गनिर्देशक सिद्धान्त मानेको पार्टीका क्रान्तिकारी मेयरको सत्ता छ गोलबजार नगरपालिकामा । गरिब, दलित र सर्वहारा वर्गको यतिविघ्न उपहास र असंवेदनशीलता देखेर मेयर सहावको सत्तालाई लालसत्ता कसरी भन्न सकिन्छ ? तपाईले सञ्चालन गर्नुभएको सत्ताले सामन्त वर्गको हित रक्षा गरिरहेको छ । धोवियाधारका मुसहरहरुको हालत २०४६ साल पछि प्राप्त प्रजातन्त्र , गणतन्त्रात्मक संघीय लोकतन्त्रको गालामा थप्पड हो । मेयर साहव भ्रष्टाचारका पर्याय बनेका कर्मचारीलाई सुरक्षा दिन बाउन्सर राखेर तलब खुवाउनु भन्दा त्यो रकमले धोवियाधारका कुपोषित बच्चालाई लिटोको व्यवस्था गर्नु उत्तम हुन्थ्यो कि ?

माननीय लीलानाथ श्रेष्ठ ज्यु आठौं नगरसभामा भाषण गर्दा बोल्नु भएको छ “ मेरो ११ विगहा छ तर ६ महिनाभन्दा बढी खान पुग्दैन । ” नगरसभामा माननीय लीलानाथ श्रेष्ठ ज्युभन्दा धनाढ्य व्यक्तिहरु पनि उपस्थित थिए । त्यहाँ त भन्न सुहायो । तर रातो फेरारीमा चढेर धोवियाधार पुगेर ११ विघा जोत्ने सर्वहारा हुँ । मलाई ६ महिना पनि खान पुग्दैन भन्नुभयो भने मुसहर समुदायले मालिक कमरेडका लागि दान बटुल्न थाल्ने छन् । माननीय ज्युको राजनीतिक करिअर माथि नै बेलिबिस्तार लगाइसकें।

जिल्ला विकासको उपसभापति छँदादेखि ५ वटा मन्त्रालय सम्हालेर एक सय ५० करोड ( डेढ अर्व ) विकास वजेट ल्याएको नालिबेली सुनाउँदा धोवियाधारका मुसहर बस्तीको भागमा किन एक रुपैयाँ पनि परेन ? धोवियाधार दलित बस्ती प्रतिनिधी बस्ती मात्र हो । दलित समुदायको हरेक बस्तीहरुको हालत उस्तै छ । यसरी एमाले पार्टीको मिसन ग्रासरुट सफल हुन्छ ? यसरी लालदरवारको जय हुन्छ कि क्षय ? स्वयं बिचार गर्नुस् । हामी प्रतीक्षामा छौं , मिसन ग्रासरुट लिएर माननीय ज्यु सहित एमाले नेताहरु धोबियाधार पुग्नुहुनेछ । त्यहाँ पुगेर के भन्नुहुन्छ र के गर्नुहुन्छ त्यो हेर्न बाँकी छ ।

अन्त्यमा , कमरेड विश्वनाथसँग मेरो एउटा प्रश्न छ । लौकाको थाङ्ग्रा मुनि आश्रय लिने दलित मुसहर परिवारहरुको बीचमा यो पक्की पाहुना घर बनाउनु माक्र्सवाद भित्रको सौन्दर्य हो ? यो विकास हो कि गणतन्त्रको उपहास हो ? माक्र्सवादका मर्मज्ञ , प्रचण्डका राजनीतिक दाजु तथा पूर्व मेयर कमरेड देवनाथ साह ज्यु तपाईँलाई कसरी महसुस होला यो धोवियाधारको पाहुनाघरमा जनयुद्धको नतिजाले दम तोडेको छ । माओवादी तीन चुनावपछि दुब्लाएर संसदमा ३० सिटे भएको कारण यहाँ लुकेको छ । जनयुद्ध यहाँ निर फेल भएको छ सायद । यो पाहुनाघर बनाउने समिति खोजेर त्यो पार्टीले कारवाही गर्न सक्छ ? नचाहिएको विकास थोपर्दा धोवियाधारको पाहुनाघर र शौचालय जस्तै हुन्छ कमरेडहरु । मुसहरले के खाए होला भन्ने चिन्ता गरौं पहिले । त्यसपछि कहाँ शौच गर्छन् भन्ने बिचार गरौं । विकास पाउनु जनताको अधिकार हो । नेताको कृपा र दया होइन ।

अनुसन्धानमा सहयोग आशिष विश्वकर्मा


प्रकाशित : २०७९ फाल्गुन ११ बिहीबार