कानून व्यवसायी महिलाको ३० औँ राष्ट्रिय सम्मेलन वीरगञ्जमा   

[sharethis-inline-buttons]

काठमाडौँ, १० फागुन
नेपाल बार एसोसिएसनले कानून व्यवसायी महिलाको ३० औँ राष्ट्रिय सम्मेलन यही फागुन १२ गतेदेखि १४ गतेसम्म गर्ने भएको छ ।

बारले महिला सम्मेलन र केन्द्रीय कार्यकारिणी परिषद्को ४८ औँ बैठक संयुक्तरूपमा मधेस प्रदेशको पर्सा, वीरगञ्जमा गर्न लागेको बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

सम्मेलनको कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले र कार्यकारिणी बैठकको उद्घाटन कानून, न्याय तथा संसदीय मामिलामन्त्री धु्रवबहादुर प्रधानले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

‘पेसागत उत्कृष्टता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ आयोजना हुने उक्त सम्मेलनमा बारले वर्तमान अवस्थामा बारको भूमिका र भावी कार्ययोजनासहितको मार्गचित्रका बारेमा छलफल गर्नेछ ।

त्यस्तै, सम्मेलनले समग्र महिला अधिकारको अवस्था र स्वतन्त्र न्यायपालिकाका लागि कानून व्यवसायी महिलाको भूमिका, सङ्घीय संरचनमा महिला सहभागिता, पेसागत चुनौती, हिंसा पीडितको न्यायमा पहुँचको अवस्था र निःशुल्क सहायतालगायतका विभिन्न विषयमा अवधारणा पत्र र कार्ययोजनामाथि बृहत् छलफल गर्नेछ ।

सम्मेलन र बैठकमा बारको कामको समीक्षा र भावी योजनाको बारेमा बृहत् छलफल गर्न देशभरिबाट कानून व्यवसायीको उपस्थिति र सक्रिय सहभागितामा घोषणापत्र जारी गर्दै मार्गनिर्देश गर्ने उद्देश्य रहेको जनाइएको छ ।


प्रकाशित : २०७९ फाल्गुन १० बुधबार