कमरेड लीलानाथको नयाँ जामा “सारस्वरनाथ महादेवमाथि पुष्पवृष्टिमार्फत समाजवाद ”

[sharethis-inline-buttons]

अर्जुन थपलिया

२१ सौं शताब्दीका सर्वाधिक बिबादास्पद दार्शनिक ओशोले भनेका छन् “ यदि कार्ल माक्र्सले पूर्वीय दर्शन , समाज र धर्मको कोमल रुप अध्ययन गरेको भए उनले धर्मलाई अफिमको नशा भन्ने थिएनन् । ” ओशो भन्छन् – ‘कार्ल माक्र्सले यहुदी, क्रिश्चियन र इस्लाम धर्म तथा धर्मावलम्वी बीचको कट्टरता, कटुता , वैमनस्यता र आततायी युद्ध देखेका थिए । त्यसकारण उनले धर्मप्रति कटाक्षभाव प्रस्तुत गरे । ’ एउटा महान अजेय भौतिकवादी दर्शनका प्रणेता कार्ल माक्र्सप्रति आध्यात्मिक दार्शनिक ओशोले गरेका यो टिप्पणी मलाई पनि हलुका लाग्थ्यो ।

कार्ल माक्र्सले समाजलाई उत्पादनका साधनहरुमाथिको स्वामित्व , उत्पादन तथा वितरण प्रणाली र अतिरिक्त मुनाफा जस्ता आर्थिक संरचनाको तुलोले तौलेर पूँजी दर्शन प्रस्तुत गरे । उनले धार्मिक ग्रन्थ भन्दा अर्थशास्त्रीय आधारमा समाजको विकासक्रमको व्याख्या गरे । समाजको वर्गीय संरचनाको आधारमा नयाँ राज्य र राजनीतिक व्यवस्थाको आवश्यकता औंल्याए । यो दर्शनले मलाई सानै उमेरदेखि प्रभावित बनाएको हो । राजनीतिले समाज फेर्छ । समाज तथा राज्यको आर्थिक, सामाजिक–सांस्कृतिक तथा राजनीतिक बनोटमा परिवर्तन ल्याउँछ । वहिष्करण र किनाराकरण गरिएका वर्गहरुको उत्थान , मुक्ति र उन्नयन कार्ल माक्र्सद्वारा प्रतिपादित दर्शनकै जगमा संभव छ भनेर म पनि एकताका कम्युनिष्ट भएँ । यो एउटा पाटो हो ।

अर्कोे फरक पाटोलाई हेरौं । कार्ल माक्र्सका पाँचौ वा छैठौं पुस्ताका राजनीतिक अनुयायी नेकपा एमालेका पोलिटव्युरो सदस्य, मधेस प्रदेशका सह इन्चार्ज तथा सिरहा क्षेत्र नं. ३ बाट निर्वाचित माननीय सांसद लीलानाथ श्रेष्ठ र सिरहा नगरपालिकाका मेयर डा. नवीन कुमार यादवले २०७९÷११÷६ गते परेको शिवरात्री पर्वको उपलक्ष्यमा सिरहाको सारस्वरनाथ महादेव मन्दिरमा हेलिकप्टरबाट पुष्पवृष्टि गराए छन् । माक्र्सवादी नेताद्वय पालो पालो हेलिकप्टरमा सवार भई आकाशमार्गमा विचरण गर्दै श्री श्री १००८ श्री महादेवलाई पुष्प अर्पण गरेछन् । भूमिमा उभिएका भूईँमान्छे दर्शनार्थीहरुले कर्तल ध्वनीले महादेवसँगसँगै नेताद्वयको जयजयकार गरेछन् । ताली बजाएर नेता द्वयका माक्र्सवादी सतकर्मको समर्थन गरेछन् । किनकी नगर विकासका लागि जनताको करबाट संकलित रकम श्रीमहादेवलाई पुष्प अर्पण गर्न पुष्पक विमानमा खर्च गरिएछ ।

सारस्वरनाथ महादेव मन्दिरमा सिरहा नगरपालिकाले गरेको खर्चबाट महादेव प्रसन्न भएर पेटभरी खान नपाई कुपोषणमा परेका गरिब दलित बालबालिकाहरुको स्वास्थ्यमा सुधार आउने छ । कापी किताब किन्न नसकेर विद्यालय जान नसकेका , भर्ना भए पनि बीचैमा ड्रप आउट भएका दलित र गरिबका बालबच्चाहरुको समस्या पनि समाधान हुने छ । भोलेनाथले गरिब दलितका बालबालिकाहरुलाई शिक्षा प्राप्त गर्ने अपूर्व प्रेरणा दिनुहुनेछ । सलाईका बट्टाभन्दा थोरै ठूलो पानी चुहिने झुपडीमा बस्ने गरिबहरुको बासको समस्या पनि समाधान हुने छ । दानी बाबा सारस्वरनाथले सिरहा नगरपालिका भित्र रहेका गाँस, बास र कपासविहीन सर्वहारा वर्गको सबै सवाल एकमुष्ट रुपमा एकै पटक समाधान गर्नुहुनेछ । सिरहाको डुबान समस्या पनि जरैदेखि समाधान हुनेछ । भगवान श्रकिृष्णले रातारात भक्त सुदामाको गाउँलाई स्वर्णबस्ती बनाए झैं सिरहा सदरमुकामलाई देवाधिदेवले एउटा स्मार्ट सिटीको रुपमा रातारात विकसित गर्नुहुनेछ । सिरहाबाट रोजगारीको अभावमा पलायन भएर ५०–५५ डिग्री तापक्रममा श्रम गर्न खाडी पुगेका युवाहरुको लागि भोले जगरनाथले सिरहामा रातारात कलकारखाना खोलिदिनु हुनेछ । निर्वाचनको बेला नेकपा एमालेले घोषणा पत्रमा पूरा गर्छौ भनेर कबुल गरेको सवालहरु अब भोलेदानीको जिम्मामा गएको छ । २००७ सालमा प्रजातन्त्र आएको सबैलाई विद्धितै छ । हिसाव गर्दा शिवरात्री कै दिन ७२ वर्ष पूरा भएछ । यो ७२ वर्षसम्म अविकासको अवस्था कायम रहनु तथा सर्वहारा वर्गको उत्थान नहुनुमा मुख्य कारण सारस्वरनाथ महादेव मन्दिरमा हेलिकप्टरबाट पुष्पवृष्टि नगर्नु रहेछ । यो गुह्य कुरा कार्ल माक्र्सले पनि पत्ता लगाउन सकेका रहेनछन् । उनका अनुयायी तरुण राजनीतिक तपस्वीहरु माननीय लीलानाथ श्रेष्ठ र श्रीमान मेयर डा. नवीन कुमार यादवले पत्ता लगाउनु भएछ । कार्ल माक्र्सको पूँजी दर्शनमा उहाँहरुले पत्ता लगाउनु भएको “पुष्पवृष्टि सिद्धान्त ” थप्न आवश्यक छ । उत्पादनको साधन र राज्यको श्रोत बाँडफाँडमा श्रमजीवी वर्गको नियन्त्रण र पहुँच कायम गर्ने झन्झटीलो माक्र्सवादी उपायभन्दा पुष्पवृष्टिको उपाय सरल , सुलभ र सुनिश्चितप्राय छ । आज कार्ल माक्र्स जीवित भएको भए सारस्वरनाथ महादेवस्थानमा शिवरात्रीका दिन आफ्ना अनुयायी लीलानाथ श्रेष्ठले हेलिकप्टरबाट पुष्पवृष्टि गरेको दृश्य देख्दा उनले आफ्नो पूँजी दर्शनमा संशोधन गर्ने थिए । उनले आफूले लेखेको पूँजी दर्शनको केही भाग काटेर मिल्काई दिन्थे । समाजवाद आउने सर्वाधिक सरल र सुनिश्चित मार्ग त शिव माथि पुष्प वृष्टि रहेछ भन्ने कुरामा उनी सहमत हुन्थे । राज्यको श्रोत हेलिकप्टर मालिकहरुको हातमा पु¥याउँदा वर्गीय समाजमा रुपान्तरण आउने शैवतत्व बोध हुनेथियो । राजनीतिमा यसलाई सैद्धान्तिक मूल्य थप्ने कार्य भनिन्छ । यस्तो लीला र नवीन पथका लागि नेताद्वयलाई यथोचित पुरस्कारबाट विभूषित गरिनु पर्छ भन्ने मेरो राय छ ।

तेश्रो पाटो यस्तो छ । हाम्रो धर्म शास्त्रमा लेखिएको छ यज्ञ र तीर्थ सपत्नी मात्र सफल हुन्छ । भगवान श्रीरामचन्द्रले अश्वमेघ यज्ञ गर्दा पत्नी सीता वनबासमा थिइन । यज्ञको सफलताको लागि सीताको स्वर्ण प्रतिमा बनाएर दाहिनेतर्फ राखेर मात्र यज्ञको हवन सुरु गरिएको थियो । तर हिजो माननीय लीलानाथ श्रेष्ठ र मेयर नवीन ज्यु एक्लाएक्लै पुष्पवृष्टि गर्न हेलिकप्टर चढ्नु भएको थियो । शास्त्रीय विधि विधान अनुसार माननीय र मेयर ज्युको महान यज्ञ दोषरहित हुन सकेन । सपत्नी हेलिकप्टर चढेर पुष्पवृष्टि गरिनु पथ्र्यो । यो प्राविधिक त्रुटी भयो । पटबन्धा धर्मपत्नी नभई सत्पुरुषको यज्ञ फलदायी हुँदैन । यसबाट यज्ञ पूर्ण भएको नमानिन पनि सक्छ । श्री महादेव अप्रसन्न पनि हुन सक्नुहुन्छ । जसले गर्दा सिरहामा समाजवाद आउन ढिलाई हुन सक्छ । विधिमा त्रुटी र दोष हुन गए क्षमा पूजा गर्ने शास्त्रीय विधान छ । त्यसकारण शिवरात्रीको दिन भएको पत्नीरहित यज्ञका लागि क्षमा पूजा आयोजना गरिनु पर्छ । अन्य कुनै पालिकामा यस्तै अनुष्ठान गरेर माननीय ज्यु सपत्नी हेलिकप्टरमा सवार भइ पुष्पवृटि गर्नुपर्छ । शिवरात्रीको जात्राको दिन गरिएको पुष्पवृष्टिले समाजवाद नजिकिने प्रवल सम्भावना थियो । सिरहामा एमालेले जितेको पालिकाहरुमा यस्तै कृयाकलाप गरिनुपर्छ ।

चौथो पाटो पनि छ । त्यो पाटो हुन् समकालीन भारतीय विख्यात व्यङ्गकार सम्पत सरल । उनले भनेका छन् “खानेपानीको हाहाकार भएको स्थानमा राजाले सुकेको इनारलाई दौडेर नाघ्ने प्रतियोगिता आयोजना गरेर बजेट खर्च गर्नुपर्छ । त्यसो गर्दा प्यासले काकाकुल जनताको ध्यान मुख्य सवाल खानेपानीबाट अन्यत्र मोडिन्छ । ” खानेपानी खानेपानी भनेर कराउने जनतालाई बग्दै गरेको कमला नदीमाथि हेलिकप्टर उडाएर नेता ज्युहरुले देखाइदिनु भएको छ । यो भन्दा उत्तम ध्यान मोड्ने प्रतियोगिता के हुनसक्छ ? तमासा हेर्न मन्त्रमुग्ध नागरिक सम्मोहित भएपछि पुर्पुरोमा राख्नु पर्ने हातले ताली बजाउन थाल्छन् । राजनीतिले राज्यको नीति र सामाजिक संरचनालाई गरिबमुखी, दलितमुखी बनाउँछ भनेर राजनीतिमा लागेको म । भूमिमाथि जोत्नेको स्वामित्व खडा गर्न झापा विद्रोहबाट जमिन्दारको गर्धन छिनालेर सुरु भएको कम्युनिष्ट पार्टी । शनै शनै कालखण्डमा अहिंसाको मार्ग रोज्यो , माले बन्यो – जनताको बहुदलीय जनवादमार्फत व्यालेटबाट कम्युनिष्ट सत्ता स्थापना हुने मार्ग खोज्यो । एमाले बन्यो । कमरेड लीला र कमरेड नवीनसम्म आइपुग्दा सारस्वरनाथ महादेवमाथि हेलिकप्टरबाट पुष्पवृटिमा आइपुगेको छ । कता गयो वर्गीय पक्षधरता । कता हरायो राज्यको श्रोतमाथि गरिब, दलित तथा कमजोर बर्गको पहुँच तथा नियन्त्रण ? आशोले भने झैं कार्ल माक्र्स त पूर्वीय समाज हेर्न आएनन् तर उनका अनुयायी कमरेड लीलानाथ र कमरेड नवीनले माक्र्सवादलाई नयाँ जामा लगाइदिएका छन् । सारस्वरनाथ महादेवमाथि पुष्पवृष्टिमार्फत समाजवाद ।।।

 


प्रकाशित : २०७९ फाल्गुन ७ आईतवार