गोलबजारका महाराजा र शाहजादाको शासनकाल तथा समाजवाद

[sharethis-inline-buttons]

–अर्जुन थपलिया

२०५१ साल तिरको कुरा हो –दिवंगत तत्कालीन अधिराजकुमार निराजन वेलायतमा पढ्न गएका थिए । उनी त्यहाँको अक्सफोर्ड विश्वविद्यालयमा भर्ना भए । उनले कोठामा राख्नका लागि हटलाइन टेलिफोन माग गरे । राजा र रङ्क सबैका लागि एकै किसिमको कानून लाग्ने वेलायतमा उनको माग बमोजिम नदिने भएपछि नेपालको राजदरवारले कूटनीतिक माध्यमबाट वेलायती राजप्रसादमा पत्र लेख्यो । राजकाज सञ्चालनमा अधिराजकुमार निराजनको सहयोग चाहिने भएकोले हटलाइन टेलिफोन उपलब्ध गराई दिन अनुरोध गरियो । त्यसपछि उनलाई हटलाइन टेलिफोन उपलब्ध गराइएको थियो ।

हिजोआज गोलबजार नगरपालिकामा राजालाई सघाउन शाहजादा घुमिवक्सेको देख्दा २०५१ सालतिरको कुरा याद आयो । शाहजादासँग केही थान केराको थाम जत्रा तिघ्रा भएका बलिष्ठ “बाउन्सरहरु” पनि घुमेको देखिन्छ । शाहजादा कुनै कोठामा पत्रकार पस्यो कि भनेर चियो गरिबक्सन्छ । पत्रकारहरुले कर्मचारीहरुसँग प्रश्न सोध्यो भने पाखुरा सुर्केर शाहजादा पुगिबक्सन्छ । शाहजादा यतिविघ्न शक्तिशाली होइबक्सन्छ कि गोलबजार नगरपालिका विरुद्ध बोल्ने तथा लेख्नेहरुको हात खुट्टा सग्लो नराख्ने धमास दिइबक्सन्छ । शाहजादा कुन कर्मचारी राख्ने , कसलाई पजनी गर्ने , प्रमुख प्रशासकीय अधिकृत कसलाई ल्याउने , कहाँबाट सामान खरिद गर्ने, कुन होटलमा खाजा र खाना अर्डर दिने , ग्राभेल कुन खानीबाट खरिद गर्ने र ठेक्का कसलाई दिने त्यसको योजना बनाउने तथा कार्यान्वयन गर्ने कार्यमा तल्लीन होइबक्सन्छ । शिक्षक सरुवा बढुवामा पनि शाहजादाको गहिरो अभिरुची भएको बुझिएको छ । अहिलेका महाअमात्य ( हाकिम ) हटाएर अर्को महाअमात्य ल्याउन पनि शाहजादाले अभियान तीब्र बनाउनु भएको रहेछ । महाअमात्यलाई यो कुराको सुइँको छ कि छैन ? शाहजादाको प्रमुख जिम्मेवारी पत्रकार तह लगाउनु पनि तोकिएको रहेछ ।

यति कुरा बुझेपछि देखेपछि मलाई गोलबजारका राजासँग एउटा कुरा सोध्न मन लाग्यो । महाराज हामीले हजुरलाई भोट दिएर जिताएका हौं । शाहजादालाई होइन । शाहजादा किन नगरपालिकामा अघोर कष्ट सहेर ड्युटी बजाउनु हुन्छ । हामीले पहिले पहिले गीत गाउँथ्यौं र सुन्थ्यौं पनि । “ माहुरी घुम्छ रसैले ” बिना रसको त माहुरी पनि घुम्दैन । शाहजादाको यतिविघ्न मोह र अनुराग किन नगरपालिकाप्रति ? किन गोलबजार नगरपालिका वरिपरी शाहजादाको घुमाइ हो ? नगरपालिका रसिलो छ कि कसो ?
हामी नागरिकलाई कौतुहल भयो महाराज । राजाले भनिबक्सन प¥यो “शाहजादालाई फलानो कानूनले दिएको अधिकार प्रयोग गरेर यति तलब खाने गरी शिष्टाचार महापाल पदमा नियुक्ति गरिबक्सेको छु ।” बिना तलब ( पारिश्रमिक ) काममा लगाउनु र खटाउनु त मानव अधिकारको उलंघन हुन्छ महाराज । शिष्टाचार महापाल शाहजादा प्रति अनुदार हुनु भएन महाराज । शाहजादालाई राजकोषबाट हण्डी बक्स होस् महाराज । वीर्ता बक्स होस् ।

महाराज , पत्रकार तह लगाउने कार्य निकै चुनौतीपूर्ण छ । यस्तो कठिन र साहासिक कार्यमा शाहजादालाई लगाउनु भएको छ । केही थान पत्रकारलाई पारितोषिक दिएर कलम बन्द गर्न लगाइबक्सेला शाहजादाले । तर केही पत्रकारहरु त डेकेन्द्र र उमा सिंह जस्ता हुन्छन् । उनीहरुलाई चुप लगाउन त बन्दुक र खुकुरी जस्ता हतियार नै प्रयोग गर्नुपर्छ । शाहजादा कतिको सक्षम हुनुहुन्छ ? तर महाराजको आदेश, अजस्र प्रेरणा र प्रशिक्षणले ५ वर्ष बित्दा नबित्दा शाहजादा पारसपथमा निपुण हुने कुरामा म विश्वस्त छु । कति समाचार प्रवीण पत्रकारहरुको ढुकढुकी बन्द हुन्छ थाहा छैन । यस्तो चुनौतीपूर्ण कार्यको लागि हामी शाहजादाको तलब व्यवस्था गर्न माग गर्छौ । दरबार बलियो भए नगरपालिका बलियो हुन्छ । शहज्यादको तलबका लागि हामी अतिरिक्त करको भार पनि बोक्न र सहन तयार छौं महाराज । यस्तो पारसपथगामी शाहजादालाई मनग्य तलबको व्यवस्था गरियोस् ।

महाराज, हजुरलाई सघाउन शाहजादा अहोरात्र खटिनु भएको छ । सुशासनको गला रेटेर लुटतन्त्र स्थापित गर्न कसैको ज्यान लिनसम्म तयार होइबक्सन्छ । सुनिन्छ बिच्छु ग्याङ्ग नामक एउटा समूह पनि बनेको छ । भनिन्छ जनताको मुख थुन्न भय र त्रास नफैलाएसम्म सम्भव हुँदैन । शासकले फैलाउने नै भय हो । त्यस कार्यमा महाराजलाई शाहजादाले निराश बनाइ बक्सेको छैन । धमिनी स्थान वरिपरी पत्रकार एक्लै घुम्न पनि डराइरहेका छन् हिजोआज । महाराजको आदेशानुसार शाहजादाले धमिनी स्थान वरिपरी रक्षा कवच तयार पारिबक्सेको छ । त्यसलाई भेदन गरेर कुनै पत्रकारले सूचना चुहाउन सक्दैन ।

नातावाद कृपावाद त सुनिएकै कुरा हो , अब त जातिवाद पनि सुनिन थालिएको छ । खाजा पनि स्वजातीय बन्धुकै पसलबाट खरिद गर्ने महाराज र शाहजादाको हुकुम प्रमाङ्गी छ –गाइँगुईँ भनेको बोलेको सुनिएको छ । त्यस अनुसार हिजोआज दुर्गा मन्दिर छेउछाउतिर भिड बढेको देखिन्छ । यस्तो महान निर्णय पनि शाहजादाकै योजना अनुसार गरिएको सुनिन्छ । गोलबजार नगरपालिकाको शाहजादा तत्कालीन नारायणहिटी राजदरवारका अधिराजकुमार निराजन भन्दा मेधावी , ओजस्वी , तेजस्वी र प्रतिभावान होइबक्सन्छ । शाहजादाले कतिपय अन्य पालिकामा गएर पिता महाराजलाई सघाउन कूटनीतिक वार्ता गरेको पनि सुनिएको छ – महाराज । शाहजादा प्रति साधुवाद छ ।

महाराज ! जहाँसम्म मलाई ज्ञात छ वा भनौ मेरो लघु बुद्धिले जानेको छ –नगरपालिकामा चुनाव लडदा पार्टीले घोषणा पत्र बनाएको हुन्छ । पार्टीको नीति अनुसार काम गर्ने गराउने भनेर पार्टीले जनतासँग बाचा गरेको हुन्छ । तर चुनाव जितेपछि निर्वाचित राजा र पार्टी बीच तालमेल छुट्छ र टुट्छ । त्यसपछि निर्वाचित राजाका परिवारजन , नातागोता र आफन्तहरुको ढलिमली हुन्छ । घोषणा पत्र रद्दीमा बेचेर योजना निर्माणमा शाहजादाहरु हावी होइबक्सन्छ । योजना कार्यान्वयन सम्झौतामा हस्ताक्षर भएपछि महाअमात्य र अमात्यहरुको रजगज हुन्छ । आर्थिक वर्षको अन्त्यसम्म निगरानी गरेर उठती कोषबाट हिस्सा सुरक्षित गर्नु शाहजादाको निकै चलाखीपूर्ण भूमिका चाहिन्छ । यो कुरा होइन भने महाराजले नेतृत्व गरिबस्केको राजनीतिक दलका कार्यकर्ताहरुले भनुन् “आर्थिक वर्ष २०७९÷०८० को योजना र बजेट निर्माण पार्टीको निर्णय अनुसार वा घोषणा पत्र अनुसार तर्जुमा गरिएको हो । भन्नसक्नु हुन्छ ? सक्नु हुन्न भने राजामाथि पार्टीको पकड छैन । शाहजादा र महाअमात्यहरु हावी छन् । यो सुशासनको द्योतक होइन । पक्का होइन ।

पार्टीका उपल्ला तहका कार्यकर्ताहरुले महाराज र शाहजादा दुवैलाई राम्ररी चिन्नुभएको छ । मुख्यतः शाहजादामा भएको वर्गीय समाजको स्वरुप , वर्गीय चेतना र चरित्र तथा वर्ग संघर्षको ज्ञानबारे पनि सम्बन्धित दलका नेता तथा कार्यकर्तालाई ज्ञात नै छ । शाहजादा नियन्त्रित नगरपालिकाले समाजवाद उन्मुख विकासको गति अघि बढाउलान भनेर कसरी विश्वस्त हुन सक्नु हुन्छ ? पुराना राजालाई पनि केही सीमित मानिसहरुले घेरा हालेका थिए तर त्यसमा सानो विविधता थियो । परिवारभन्दा बाहिरका पनि थिए । विजातीय पनि थिए । तर अहिलेका राजा त परिवार र स्वजातीय घेरामा होइबक्सन्छ । शाहजादाहरुको घेरामा होइबक्सन्छ । गोलबजार नगरवासीहरु –५ वर्ष पछि घरभित्रबाट आँगनमा निस्केर हेर्नुहोला “ समाजवाद तपाइँहरुको संघारमै आएर उभिएको हुने छ । शाहजादाले हाम्रो प्राण बक्सिनुभयो भने हामी पनि हेर्ने र देख्ने छौं ।


प्रकाशित : २०७९ फाल्गुन ४ बिहीबार