मेयर श्याम श्रेष्ठले प्रतिपक्षलाई मिलाएर राख्नु भएको रहेछ –माननीय संसद लीलानाथ श्रेष्ठ

[sharethis-inline-buttons]

–अर्जुन थपलिया
“ समयमा तपाईँहरुको चेक कट्छ अहिले ? यहाँ त बोलेर धेरै विरोध हुनु पथ्र्यो । सबैले श्यामलाई (मेयर साहबलाई ) धेरै माया गर्नुहुँदो रहेछ । हाम्रो लालबाबु जीले अलिकति छुनुभयो , हाम्रो कांग्रेसका मित्रले । अलिकति जसपाले । धेरै छुनुपथ्र्यो । जे होस् श्यामले मिलाएर राखेका रहेछन् मेयर साहबले । तपाईँहरुले माया गर्नुभएको रहेछ । म त सुनिरहेको छु । मलाई नै चित्त बुझिरहेको छैन । कति काम भएको छ छैन मैले मापन गरिरहेको छु । थर्मामिटर भिडाएर हेरिरहेको छु । जनताको व्यापक गुनासो छ । जनताले परिवर्तन किन ग¥यो ? जसपाले अलिकति भन्यो , हिजो जस्तो थियो त्यस्तै हुनथालेको छ । त्यसमा हामीले कसरी छुटकारा पाउँछौं । यदी मेलै स्वार्थ राख्दिन भने हिजो जस्तो किन बन्न दिने ? ”

माथि उल्लेख गरिएका पंक्तिहरु माननीय सांसद लीलानाथ श्रेष्ठको मन्तव्यबाट जस्ताको त्यस्तै उतारिएको हो । २०७९ पुष ३० गते सम्पन्न गोलबजार नगरपालिकाको आठौं साधारण सभामा प्रमुख अतिथिको हैसियतमा माननीय श्रेष्ठले दिनुभएको अभिव्यक्ति सामाजिक सञ्जालहरुबाट प्रत्यक्ष प्रसारण भएको थियो । सामाजिक सञ्जालको तहखानामा भेटिएको माननीय श्रेष्ठको मन्तव्य जस्ताको त्यस्तै उतारेर यहाँ यो आलेखमा प्रस्तुत गरेको छु ।
अब लागौं माननीय श्रेष्ठ ज्युको अभिव्यक्तिको आशय र भावार्थ खुट्ट्याउन । केही दिन अघि मैले एक सय जना एमाले कार्यकर्ताहरुको अभिव्यक्ति समेटेर एउटा अध्ययन प्रतिवेदन यसै अनलाइनमार्फत प्रस्तुत गरेको थिएँ । त्यसको निष्कर्ष थियो ९८ प्रतिशत एमाले कार्यकर्ता मेयर श्याम श्रेष्ठको कार्यशैली प्रति असन्तुष्ट । त्यो आलेख प्रकाशित भए पछि केही एमाले कार्यकर्ताहरु रिसाउनु भयो । मेयर साहवको संयमले त झण्डै ठाउँ छोडेन । धम्कीयुक्त केही अभिव्यक्तिहरु परोक्षरुपमा प्रस्तुत भयो । मलाई आत्तिने र विचलित बनाउने प्रयत्न पनि गरियो ।

यसै बीच मैले माननीय लीलानाथ श्रेष्ठ ज्युको अभिव्यक्ति सुने । मैले २२ दिन समय खर्चेर १०० जना एमाले कार्यकर्तालाई भेटेर गरेको अध्ययनको निष्कर्ष भन्दा पनि गहकिलो तथ्य सत्य प्रस्तुत भएको पाएँ । माननीय ज्युले हँसिलो अनुहार लगाएर ठट्यौली पारामा गोलबजार नगरपालिका र मेयर श्याम श्रेष्ठ ज्युको कार्यशैली प्रति कठोर तथा कटाक्षपूर्ण भाषामा मूल्याङ्कन प्रस्तुत गर्नुभएको रहेछ । गोलबजार नगरपालिकामा मैले प्रकाशित गरेको अध्ययन प्रतिवेदनले देखाएको परिवेश भन्दा पनि तन्नम , निकृष्ठ र भद्दा कार्यशैली र कार्यप्रगति रहेको माननीय ज्युको ठहर रहेछ ।
वडाध्यक्षबाट सुरुवात गरेर जिल्ला विकास समितिका उपसभापति पदमा पाँच वर्ष व्यथित गर्नुभएको , त्यसपछि ५ वर्षका लागि संसद र ५ वटा मन्त्रालय एकसाथ हाक्ने गरी मन्त्री हुनुभएका लीलानाथ श्रेष्ठ ज्युको कपाल घामले मात्र फुलेको त पक्कै होइन । उहाँ दोश्रो कार्यकालको लागि पनि संसद पदमा निर्वाचित हुनुभएको मात्र होइन कानूनमा स्नातक पनि हुनुहुन्छ । मधेस प्रदेशको एमालेका सह इन्चार्ज पनि हुनुहुन्छ । उहाँको मूल्याङ्कन सतही र कपोलकल्पित पक्कै हुँदैन । अनुभवले खारिएर प्रतिष्ठको उचाई छुनु भएका माननीय लीलानाथ श्रेष्ठ ज्युको अभिव्यक्तिले मेयर श्याम श्रेष्ठको माथिलङ्ग हल्लिनु पर्ने हो । माननीय श्रेष्ठले मेयर श्रेष्ठको वास्तविक चरित्र र हैसियत इंगिध गरिदिनु भएको छ ।
माननीय ज्युले आफूले शुक्ष्म रुपमा थर्मामिटर लगाएर गोलबजार नगरपालिका र मेयर श्याम श्रेष्ठको कार्यशैली र कार्यप्रगति नियालेको भन्दै प्रतिपक्षमाथि पनि व्यङ्गवाण प्रहार गर्नुभएको रहेछ । मेयर श्रेष्ठको निष्कृयता, स्वार्थ सिद्धिका लागि पहिलेको मेयर जस्तै हुने लक्षण र जनताको आकांक्षा पूरा नहुने ÷नगर्ने कार्यशैलीको आलोचना गर्दै उहाँले प्रतिपक्षलाई मिलाएर राख्ने कार्यमा मेयर श्रेष्ठ सफल रहेको दर्साउनु भएको रहेछ ।

गोलबजार नगरपालिकाको प्रतिपक्षी वेञ्च सम्हालेर बसेका नेपाली कांग्रेस र जसपाका नेताहरुलाई मेयर श्रेष्ठले मिलाएर राखेकोले मेयर श्रेष्ठको आलोचना नगरेको माननीय श्रेष्ठको ठहर रहेको बताउनुभयो । तर प्रतिपक्षलाई मेयर श्रेष्ठले कसरी मिलाउनु भयो भन्ने कुरा माननीय ज्युले स्पष्ट खुलाउनु भएन ।

गमेर ल्याउँदा बुझिन्छ । प्रतिपक्ष सत्तापक्षसँग किन लहसिन्छ ? मेयर साहव कै ज्येष्ठ भ्राताश्री माननीय ज्युले आलोचना गर्ने गुञ्जाइस देख्दा प्रतिपक्ष किन मेयर साहवको अन्ध समर्थनमा ओर्लिन्छन् । किन मौनता साधेर बस्छन् ? किन प्रतिपक्षको धर्म विर्सेका हुन् ? कसरी मिलाउनु भएको होला मेयर श्रेष्ठले प्रतिपक्षलाई ? उहाँसँग के छ सुधाउने जडिबुटी ? के छ लालायित बनाउने , लठ्याउने र कर्तव्य बिर्साउने उत्कोच र पारितोषिक ? के प्रतिपक्षीहरु एउटा योजना पाउने वा योजनाको उपभोक्ता समितिको नेतृत्व पाउने आशामा धमिनी स्थान वरिपरी चक्कर लगाइरहेका छन् भन्ने आशय हो त माननीय लीलानाथ श्रेष्ठको ? मेरो मन्द बुद्धिले यस्तै लख काटेको छ । गुह्य सत्य के हो त्यो त माननीय श्रेष्ठ ज्युले प्रष्ट पार्नु हुने छ वा प्रतिपक्षीहरुकै प्रष्टीकरणबाट बोध होला ।

मेरो अध्ययनको निष्कर्ष प्रस्तुत गरिएको आलेखले मेयर साहवलाई क्रुद्ध बनायो । यसलाई मैले अन्यथा लिइन । भनिन्छ लोकतन्त्रमा आफ्ना विरोधीहरुको रक्षा गर्ने दायित्व पनि सत्ताधारीको हुन्छ तर सायद त्यति उन्नत र परिस्कृत लोकतन्त्र अझै आएको छैन । एक दिन आउला । किनकी आफूलाई आफैले सच्याउँदै परिस्कृत गर्दै लैजाने राजनीतिक व्यवस्था लोकतनत्र नै हो । सोचनीय कुरा के छ भने आफ्ना अग्रज भ्राता तथा अभिभावक माननीय श्रेष्ठको भनाइबाट मेयर श्रेष्ठको मन कुढियो कि कुढिएन ? त्यस्तो कटाक्षपूर्ण र आफूलाई बदनियतमा लाग्न लागेको सुनेर आक्रोसित हुनुभयो कि भएन ? म यसै आलेखमार्फत एमाले कार्यकर्ता पंक्तिलाई पनि आग्रह गर्न चाहन्छु कृपया आकाशगंगा टेलिभिजनको फेसवुक पेजमा माननीय लीलानाथ श्रेष्ठ ज्युको भाषण फुर्सद लिएर सुन्नुहोला । मेरो आलेखमा प्रस्तुत गरिए जस्तेै माननीय ज्युको ठहर रहेछ ।
गोलबजार नगरपालिकामा बहुमतसहित एमालेको सत्ता छ । सिरहा जिल्लाको ९ वटा पालिकामा एमालेको सरकार छ । प्रदेश सरकारमा महत्वपूर्ण मन्त्रालयसहितको एमाले सहभागिता छ । जिल्लामा ४ जना प्रतिनिधी सभा सदस्य र ३ जना प्रदेश संसद एमालेबाटै छन् । संघीय सरकारमा पनि एमाले शक्तिशाली अवस्थामा देखिन्छ । यो सबै शक्तिको प्रभाव गोलबजार नगरपालिकामा पनि पर्छ । यसरी हेर्दा गोलबजार नगरपालिकाको एमाले सरकार अपरिमित शक्तिशाली छ । त्यसमाथि प्रतिपक्षलाई मिलाएर राखिएको छ । यस्तो अवस्थामा गोलबजार नगरपालिकामा लोकतन्त्र कसरी जीवित रहन सक्छ ? गल्ती कमजोरी औंल्याइ दिने साहासिक र सकृय प्रतिपक्ष खोइ ? अपार शक्तिको उन्मादले गोलबजार नगरपालिकामा स्वेच्छाचारिता बढ्न सक्छ ।

भारतीय सुप्रसिद्ध गद्य लेखक तथा व्यङ्गकार सम्पत सरल भन्छन् “मिडिया, पत्रकार, लेखक, वुद्धिजीवी, कलाकार, व्यङ्गकार , चित्रकार तथा कार्टुनिष्टहरु ” सत्ताका सदावहार प्रतिपक्षी हुन् । यो लोकतान्त्रिक मान्यता र अभ्यास भित्रैको कुरा हो । झन् प्रतिपक्ष कमजोर भएको र सत्तापक्षले विराट शक्ति हात पारेर निरंकुश व्यवहार र गैर लोकतानित्रक आचरण देखाउन थालेपछि मिडिया, पत्रकार, लेखक, वुद्धिजीवी, कलाकार, व्यङ्गकार , चित्रकार तथा कार्टुनिष्टहरु कडा प्रतिपक्षको भूमिकामा ओर्लिएर लोकतन्त्रको रक्षा गर्नुपर्छ । एकहोरो नरेन्द्र मोदीको विपक्षमा बोल्ने सम्पत सरललाई मोदी समर्थक पत्रकारले सोधेका थिए –‘तपाईँ किन एक पक्षीय रुपमा मोदी विरुद्ध बोल्नु हुन्छ ? संतुलन मिलाउनु पर्ने होइन र ?’ सम्पत सरलले जवाफ दिए “म संतुलन मिलाउनैका लागि मोदी विरुद्ध एकपक्षीय रुपमा बोल्छु । किनकी अहिले प्रतिपक्ष निरीह छन् । प्रतिपक्षको भार पनि हामी माथि थपिएको छ । ” लोकतान्त्रिक अभ्यासका दृष्टिकोणबाट गोलबजार नगरपालिकामा प्रतिपक्ष कमजोर भूमिकामा छन् । त्यसकारण हामी पत्रकार माथि संतुलन मिलाउने भार पनि आइलागेको छ । हामी पत्रकार सदावहार प्रतिपक्ष नै हौं । तर म अझ रचनात्मक र सदावहार प्रतिपक्षको भूमिका निर्वहन गर्न चाहन्छु । रचनात्मक यसर्थमा कि , म राम्रा कामहरुको प्रशंसामा पनि कलम चलाउने छु । सफलता कति मिल्छ र जनताको कसौटीमा कस्तो देखिन्छु त्यो भविष्यले निक्र्यौल गर्ला ।

 

 


प्रकाशित : २०७९ फाल्गुन १ सोमबार