हाट बजार ठेक्काको एक करोड ५२ लाख खोइ ?

[sharethis-inline-buttons]

श्रीमान् नगर प्रमुख ज्यु
श्रीमान् प्रमुख प्रशासकीय अधिकृत ज्यू

निकट विगतमा भएको संसदको चुनाव ताका गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठ र हालमा माननीय लीलानाथ श्रेष्ठले हाट बजार ठेक्काको दुई आर्थिक वर्षको १ करोड ५२ लाख रुपैयाँ अपचलन र हिनामिना भएको भाषणमा ठोकुवा मात्र गर्नुभएन अपितु भ्रष्टाचारीहरुलाई कानूनको कठघरामा उभ्याउने प्रतिवद्धता पनि जनाउनु भयो । उहाँहरुको त्यो ओजिलो संभाषणले जनतालाई मुग्ध बनायो । माननीय लीलानाथ श्रेष्ठले चुनावमा विजय हाँसिल गर्नुभयो ।

मलाई के लाग्छ भने मैले अब थप प्रमाण जुटाएर गोलबजार नगरपालिकामा उक्त रकम अपचलन भएको पुष्टि गर्नु पर्दैन । त्यो स्वयंसिद्ध तथ्य भैसकेको छ । मेयर साहव र माननीय ज्यु लीलानाथ श्रेष्ठ स्वयंले आम जनता सामु बोल्नु भएको कुरा झुठ हुन सक्दैन । निराधार हुन सक्दैन भन्ने मेरो मान्यता छ । संसदको चुनाव सकिएको पनि झण्डै तेश्रो महिना व्यथित हुँदै छ । तर अहिलेसम्म भ्रष्टाचारीहरु उपर कारवाही नभएको र भ्रष्टाचार गर्नेहरुलाई काखी च्यापेर मेयर साहव हिड्नु भएको देख्दा मलाई आश्चर्य लागेको छ । त्यसकारण म आज यो खुला पत्र लेख्दै छु ।

संसदीय चुनाव सकिए पछि एक दिन मेयर साहवको कार्यकक्षमा मैले सोधे , मेयर साहव हाट बजार ठेक्का रकम अपचलनको फाइल कहिले पठाउने अख्तियारमा ? मुक्सार १ बलडाडाको फाइल पनि त्यसरी नै अलप भयो । उहाँले भन्नुभयो सर्वदलीय बैठकमा राखेर छलफल गरेर छिट्टै पठाउँछु । मैले थपे यो छिट्टै छिट्टै आओस् मेयर साहव । उहाँले भन्नुभयो छिट्टै गर्छु । त्यसपछि म प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौडेलको कार्यकक्षमा पुगे । मैले भने ठूलै रकम हिनामिना भएछ । के हेरेर बस्नुभएको थियो हाकिम साहेव । उहाँले भन्नुभयो हिजो मात्र ठेकेदारलाई पैसा बुझाउन पत्र काटेको छु । मैले भने –अब  पत्र काटेर के काम ? त्यसबेला हाट बजार कर उठाउन किन रोक्नु भएन ? रकम समयमा नबुझाउँदा ठेक्का किन रद्द गर्नुभएन ? उहाँले भन्नुभयो पुरानो मेयरले रोक्न दिनु भएन । मैले फेरि सोधे कर उठाउने काम मेयरको होइन तपाईँ जिम्मेवार हो । मेयरलाई देखाएर आफ्नो जिम्मेवारीबाट पञ्छिन पाइन्छ ? त्यसपछि उहाँ केही नबोली उठेर हिँड्नु भयो ।

समय बित्दै गयो । ठेकेदार बीरेन्द्र यादवलाई  ठेक्का प्रकरण र रकम नबुझाइएको बारे मैले भेटेरै सोधेको थिए । मेयर श्याम कुमार श्रेष्ठले हाट बजार ठेक्काको रकम नबुझाएको भन्नुहुन्छ ! उहाँले भन्नुभयो “ मलाई चलन पुर्जी नै दिएको छैन नगरपालिकाले अनि मैले कसरी बजार ठेक्काको रकम उठाएँ ? मेरो ठेक्का सदर नै भएको छैन । तर जव मैले उहाँलाई बजारमा ठेक्का कर संकलन गरेको हामीले देखेका छौं भने अनि उहाँ गल्नुभयो । उहाँले भन्नुभयो “मैले त महिनैपिच्छे रकम बुझाएको हुँ । रकम बुझाए पछि मलाई रसिद काटेर दिइएको छ । तर म जुन दिन रकम बुझाउँथे सो दिनको मितिमा रसिद नदिएर मिति फरक पारेर रसिद दिइन्थ्यो ।” दिनेश सहनीले जाली रसिद दिंदा मलाई पनि डर नलागेको होइन । तर हाकिम सहावले पनि केही हुन्न , हामी मिलाउँछौं भने पछि म चुप लाग्थे । मलाई दिएको रसिदको नम्बर अनुसारको रसिद अर्कै व्यक्तिलाई अर्कै प्रयोजनका लागि दिइएको हुन्थ्यो । मलाई ज्ञात थियो यो नक्कली ठेली छपाएर नक्कली रसिद दिइएको हो । मैले पटक पटक यसबारे हाकिम अनन्त कुमार पौडेललाई जानकारी पनि गराएँ । तत्कालीन मेयरलाई पनि भने । भोलि मलाई अप्ठेरो प¥यो भने म यो रसिद देखाइ दिन्छु पनि भने । उहाँहरुले चिन्ता गर्नु पर्दैन – केही हुँदैन भनेर मलाई थुम्थुम्याउनु भयो । मसँग ठेक्का वापतको रकम एक एक चुनदाम नगरपालिकाले असुल उपर गरी लिएको छ । रकम कहाँ गयो उहाँहरुलाई नै थाहा होला ।

प्रमाुख प्रशासकीय अधिकृत ज्यु ,

सार्वजनिक खरिद ऐन नियमका ज्ञाता त तपाईँ नै हुनुहुन्छ । आर्थिक वर्ष २०७७÷०७८ को हाट बजार ठेक्का रकम असुल उपर नभई बाँकी बक्यौता रहेको अवस्थामा सोही बीरेन्द्र यादवलाई पुन आर्थिक वर्ष २०७८÷०७९ किन ठेक्का दिइयो ? बक्यौता रकम नतिरेकोमा किन कालो सूतिमा राख्ने कारवाही प्रकृया चलाइएन । यसको के जवाफ छ तपाईँसँग ? के यो नियतवश गरिएको भुल होइन ? २०७८÷०७९ को ठेक्का पुनः सोही व्यक्ति वा उनैद्वारा सञ्चालित कम्पनीलाई परेपछि चलन पुर्जी किन दिइएन ? यदि चलन पुर्जी लिन नआएको हो भने पहिलोको ठेक्का रद्द गरेर दोश्रो अधिक रकम कवुल गर्नेको ठेक्का सदर गरी उनलाई चलन पुर्जी किन दिइएन ? कानूनले त्यसै गर्नु भन्छ । त्यसरी म्याद भित्र चलन पुर्जी लिन नआएको खण्डमा बीरेन्द्र यादव र उनको कम्पनीले राखेको धरौटी पनि जफत भइ नगरपालिकाको आम्दानी बढ्ने थियो । चलन पुर्जी लिनु अघि ठेकेदारले कि बैंक गइारेण्टी कि अचल सम्पत्ति धरौटी राख्नु पथ्र्यो । त्यसो गरिएको भए अहिले बैंक ग्यारे०टी वा अचल सम्पत्ति जफत गरी ठेक्का वातको बोलकवोल गरेको रकम असुल उपर गर्न सक्न्थ्यिो । चलन पुर्जी नलिई अटेर गरी हाट बजारमा ठेक्का कर संकलन गरेको भए तपाईँले तत्कालै नेपाल प्रहरी, सशस्त्र प्रहरी , जिल्ला प्रशासन कार्यालय सिरहालाई किन पत्र काटेर जानकारी दिनु भएन ? पत्रकार सम्मेलन गरेर ठेकेदारको जोर जवरजस्ती बारे नगरवासीहरुलाई किन जानकारी दिनु भएन ? सर्वदलीय बैठक गरेर किन यसबारे जानकारी गराउनु भएन ?

प्रमुख प्रशासकीय अधिकृत ज्यु ,
कार्पेट मुनि फोहोर लुकाए झैं ठेक्का अवधि नसकिएसम्म र गोलबजार हटियाको ठेक्का कर रकम झ्वाम नपारुञ्जेलसम्म तपाईँले सकभर ढोकछोप गर्नुभयो । तर अब यति बुझ्नुस् कपडामा अग्नि लुक्दैन । अब तपाईंको भ्रष्टाचार र लुटको स्वर्गको पर्दाफास भइसक्यो । दुई आर्थिक वर्षको ठेक्का कर वापतको एक करोड ५२ लाख रकम अपचलन हुनुमा मूल रुपमा तपाई जिम्मेवार हुनुहुन्छ ? तपाईँले अनजानमा होइन जानाजान, मनशायपूर्वक नियतवश र योजनावद्ध रुपमा गोलबजार हटियोको ठेक्का कर बमोजिमको रकम एक करोड ५२ लाख अपचलन गरेकै हो । यसमा तपाईँलाई सघाउने , भाग खाने र ढाकछोप गर्न खोज्ने अरु पनि होलान । त्यो कुरा अनुसन्धान गर्ने नेपाल सरकारको आधिकारिक निकायको अनुसन्धानबाट खुल्ने छ र खुल्दै जाने छ । यद्यपि पैसा , पावर र अन्य राजनीतिक शक्तिको आडमा तपाईँ जोगिन सक्ने सम्भावनाहरु प्नि थुप्रै छन् । किनकी यो नेपाल हो । यहाँ यस्तो भइरहेको छ ।

नगर प्रमुख श्याम श्रेष्ठ ज्यु ,

आफूले मत दिएर जिताएको मेयरको प्रशंसा गर्ने रहर कस्को हुँदैन । मेरो पनि रहर छ तपाईको प्रशंसा गर्ने । मसँग शब्द भण्डार पनि छन् । देदीप्यमान, ज्वाजल्यमान, ओजस्वी र तेजस्वी मेयर लेख्न पाइएला भन्ने आशा पनि थियो । हाम्रो नयाँ मेयरले नगरमा सुशासन कायम गर्नु हुन्छ र म प्रशंसामा कलम चलाउँछु भन्ने अभिलाषा पनि थियो । म किन आशावादी थिएँ भने – कमरेड लीलानाथ श्रेष्ठ तुलनात्मक रुपमा वेदाग राजनीतिक जीवन जिउन र विकास प्रतिको अनुराग भएका व्यक्तित्व भन्ने हाम्रो ठहर थियो । उहाँको अभिभावकत्वमा तपाईँले कुमार्गानुगामी हुने छुट पाउनु हुने छैन भन्ने ठम्याई थियो । सधै सधैं नकारात्मक समाचार सम्प्रेषण गर्नु पर्दा हाम्रो पनि चित्त कुढिएको हुन्छ ? हामीलाई पनि सकारात्मक काम र घटनाहरु लेख्न र सम्प्रेषण गर्न अत्यन्त रहर छ । जाँगर छ सुशासन कायम गर्न तपाईँले गर्नु भएको कुनै एउटा काम त देखाई दिनुस् – म लेख्छु । मेयर साहव हामीले खाजेको रुप लावण्य तर देखियो गलगाँड । अनि कसरी लेखुँ त आहा कति राम्रो गलगाँड ? मिल्यो त यसरी लेख्न ? कमरेड लीलानाथ श्रेष्ठको अभिभावकत्व तथा मार्गदर्शन तपाईँका लागि सर्पमा नसर्ने श्रीखण्डको सुगन्ध ठहरियो ।

मेयर साहव म शासक वर्गको विरुदावली लेख्ने कलमघिस्सु , भाँट लेखनदास पत्रकार होइन । गुण र दोषका आधारमा लेख्ने गर्छु । म नेपाली नागरिकता त्यागेको पत्रकार पनि होइन । म नेपालको नागरिक हुँ र मलाई नेपालको संविधान २०७२ ले बोल्ने , लेख्ने र शासकहरुसँग प्रश्न गर्ने मौलिक अधिकार प्रदान गरेको छ । त्यसकारण म लेख्छु , बोल्छु र प्रश्न सोध्छु । तपाईँ जनताको मत पाएर जितेको जनप्रतिनिधी हो । गोलबजार नगरपालिकाको बारेमा जनताको प्रश्नको जवाफ दिनु तपाईँको नैतिक र कानूनी जवाफदेही र जिम्मेवारी हो । भारतीय पत्रकार रवीश कुमार लेख्छन् सरकारमा बस्नेहरु र पत्रकार बीचको सम्बन्ध के हो भने जवसम्म आफ्नो सत्ताको पक्षमा लेखिदिन्छ तवसम्म राज्यको चौथो अङ्ग भनिन्छ । सत्ताधारीहरुको गैरकानुनी कार्य र उनीहरुले गरेको आर्थिक अपचलनबारे मौन बसिदिंदासम्म पनि पत्रकार मित्र बन्धु भन्न छाडदैनन् । तर जव पत्रकारले आफू विरुद्ध कलम चलाइदिन्छ अनि सत्ताधारी नेताको नजरमा उनीहरु देश र समाजका दुश्मन ठहरिन्छन् । उनीहरुलाई फटहा , पित पत्रकारिता गरेको र विज्ञापन नदिए वापत लेख्यो भन्न थालिन्छ । म तपाईँहरुको फगत आरोप वा प्रताडित गर्ने भाषा शैलीबाट किमार्थ विचलित हुन्न । अगेना बीच फूलेको फूललाई तातो हावाको डर हुँदैन । यो नश्वर जीवन कसैले मारेन भने पनि एक दिन मर्छ । यति सत्यबोधका साथ म प्रश्न गर्छु ।
मेरो प्रश्न छ तपाईलाई ः

१. तपाईले चुनाव जितेपछि गोलबजार हाट बजार ठेक्काको दुई आर्थिक वर्षको एक करोड ५२ लाख रुपैयाँ हिनामिना भएको थाहा पाउनु भयो । ९ महिना बितिसक्दा पनि किन त्यो फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउनु भएन ? के ले छेक्यो ? के ले रोक्यो ? आखिर किन ढिलासुस्ती ? जुठो खान्छ मान्छे गुलियोको लोभले र मुखले खाए पछि आँखा लजाउँछ भन्छन् उखानमा । नुन खाए पछि गलिन्छ पनि भन्ने गरिन्छ समाजमा । के यही तीनवटा उखान चरितार्थ भएका हुन् त ? हाट बजार ठेक्काको रकम अपचलन गर्ने दोषीहरु नगरपालिकामा अहिलेसम्म साँढे झैं डुक्रीरहेका छन् । तपाईँ जस्ता माक्र्सवाद पढेका, जानेका , मदन भण्डारीको बहुदलीय जनवादका अनुयायी र स्वच्छ छविका भनिनु भएका लीलानाथ श्रेष्ठ अभिभावक पाएका व्यक्ति किन भ्रष्टाचार सहेर बस्नुभएको हो ? विज्ञानले भन्छ कहि धुँवा निस्कनुको अर्थ कहि आगो बल्नु हो । या त तपाईँले हिनामिना भएको रकमबाट भाग पाउनु भयो वा पाउने आशा छ नत्र भ्रष्टाचार र भ्रष्टाचारीलाई ९ महिना जोगाउनु भ्रष्टाचार प्रतिको जिरो टोलोरेन्स कदापि होइन । पानी माथि बसेर ओभानो भईदैन मेयर साहव ।

तपाईँले स्वयं आठौं नगरपरिषद्लाई सम्बोधन गर्दै भन्नुभएको छ त्यो एक करोड पैत्तीस लाखको चेक के हो ? त्यसलाई छिट्टै मिलाउनुस् । नत्र त्यो फाइल म अख्तियारमा पठाई दिन्छु । ( रेकर्डिङ्ग सुरक्षित छ ) मेयर साहव सार्वजनिक ओहदामा बसेका व्यक्तिले सार्वजनिक रुपमै त्यसरी भन्न मिल्छ ? तपाईँले भनेको त हामीले दुईवटा अर्थमा बुझ्यौं । पहिलो बुझाई ः हाट बजार ठेक्का रकम अपचलन गर्नेहरु हो दिनेस सहनी वा अरु कसैले दिएको एक करोड ३५ लाखको चेक बाउन्स भएको छ । त्यो छिटो क्यास गरेर मेरो भाग सुरक्षित गर । तिमीहरु जो जो भ्रष्टाचारमा संलग्न छौं छिटो सल्ट्याउ नत्र म फाइल अख्तियारमा पठाउँछु । अर्को अर्थ ः मलाई नदिए पनि नदेउ तर तिमीहरु चेक क्यास गरेर नगरपालिकाको खातामा जम्मा गरेर छिटो तनावमुक्त होउ ।

मेयर साहव यी दुबै अर्थमा तपाईँका भनाइ आपत्तिजनक र गैर कानूनी छन् । तपाईँ जस्ता सार्वजनिक ओहदाका व्यक्तिले भ्रष्टाचार र भ्रष्टाचारीलाई जोगाउने वा ढाकछोप गर्ने होइन । सिधै र अविलम्ब कानूनको कठघरामा उभ्याउने हो । संसदको चुनाव ताका तपाईँ र तपाईँका माननीय दाजु लीलानाथ श्रेष्ठले हरेक मञ्चमा भन्नुभयो गोलबजार नगरपालिकामा हाट बजार ठेक्काको एक करोड ५२ लाख रुपैया हिनामिना भएको छ । हामीले यो फाईल अख्तियारमा पठाएर भ्रष्टाचारीहरुलाई कानूनको डोरीले पाता कस्ने छौं । एमालेको कोणसभामा भाषण सुन्न आउनु भएका एमालेका नेता , कार्यकर्ता तथा आम जनता सबैलाई थाहा छ । तपाईँहरुले बोलेको बचन पूरा गर्नु भएको सुन्न र देख्न सिङ्गो एमाले पंक्ति र आम जनता आतुर छन् । व्यग्र छन् । तर खोई त तपाईँहरुले आफ्नो प्रतिवद्धता पूरा गर्नु भएको ? अनि जनताले वा पत्रकारले प्रश्न उठाउँदा उल्टो भिजिलान्ते प्रयोग गर्छु भन्ने धम्की दिने ? के यही कार्यशैलीले अब आउने चुनावमा एमालेलाई जनताले भोट देलान त ? के तपाईँहरुको पारिवारिक राजनीतिक विरासत जोगिएला त ?
मेयर साहव राजनीतिमा मौका चुकेपछि दोषको भागिदार आफू पनि बन्नुपर्छ । ठेकेदार बीरेन्द्र यादवलाई मैले सोधेको थिए मेयर श्याम श्रेष्ठले फाइल अख्तियार पठाउँछु भन्नुहुन्छ त ? उहाँले भन्नु भयो २०७९ बैशाखमा चुनिएर आउनु भएका श्याम श्रेष्ठलाई बैशाख , जेठ र असार तीन महिनाको किस्ता मैले बुझाएको र त्यस वापत फर्जी रसिद दिएको कुरा थाहा छ । त्यसबेला त उहाँ केही बोल्नु भएन । अहिले बोलेर हुन्छ ? तपाईँहरु दाजुभाईले देख्नु नै भएको छ अर्को एक राजनीतिक परिवारको हालत । चल्न नजान्दा र जनता माझ स्वच्छ छविमा प्रस्तुत हुन नसक्दा थन्किनु परेको छ । पत्रकारलाई धम्क्याउनु भन्दा आफ्नो छवि सुधार्नुस् नत्र थाहा पाइ राख्नुस् समाजमा शुद्धिकरणको प्रकृया आरम्भ भइसक्यो जनताले राजनीतिक परिवारलाई कतै थन्काइ देलान ।

मेयर साहव सरकारी बक्यौता फर–फारक गर्दा चेक दिएर हुँदैन । बैंक दाखिला गरेको भौचर नै बुझाउनु पर्छ । ठूलो रकमको हकमा भौचर बुझाएर पनि पुग्दैन । भौचर अनुसारको रकम बैंक दाखिला भएको छ कि छैन भनेर पत्र लेखेर बैंकलाई सोधनी गरिन्छ । बैंकले रकम दाखिला भएको र तोकिएको खातामा जम्मा भएको पत्र पठाए पछि मात्र फरफारक दिइन्छ । हाट बजार ठेक्कामा रकम नबुझाउने कुन व्यक्ति हुन मलाई थाहा छैन । किनकि तपाईँहरुले सूचना नै दिनु भएको छैन । तर मेयर साहवले आठौं नगरपरिषद्लाई सम्बोधन गर्दा भन्नुभएको अनुसार हो भने भ्रष्टाचार ढाकछोप गर्ने जमर्को गर्दा झन् उदाङ्गो भएको छ । त्यो चेक पनि भ्रष्टाचार भएको एउटा प्रमाण बन्छ ।

मेयर श्याम कुमार श्रेष्ठ ज्यु र प्रमुख प्रशासकीय अधिकृत ज्यु

म तपाईँहरुलाई यसै आलेखमार्फत चुनौति दिन्छु “यदि तपाईहरुले भ्रष्टाचार गरेको होइन वा छैन भने वा ढाकछोप गर्न खोजेको होइन भने र हाट बजार ठेक्काको रकम अपचलन भएकोमा तपाईहरुको कत्ति पनि दोष छैन भने त्यो ठेक्का सम्बन्धी फाइल लिएर सार्वजनिक सुनुवाईको आयोजना गरौं । ” गोलबजारका सारा व्यापारी, वुद्धिजीवी शिक्षक , लेखापरीक्षण सम्बन्धी ज्ञान भएका , सबै राजनीतिक दलका प्रतिनिधीहरु , पत्रकार , नागरिक समाजका सदस्यहरु , सार्वजनिक खरिद ऐन÷ नियम सम्बन्धी जानकारहरु र भ्रष्टाचार निवारण गर्ने आधिकारिक संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रतिनिधी समेतलाई बोलाऔं । बहस गरौं । कसरी एक करोड ५२ लाख रकम अपचलन भयो र कसले ग¥यो ? त्यसमा प्रकृयागत रुपमा सघाउ पु¥याउने को को थिए –सार्वजनिक रुपमै छानविन गरौं र दोषी उपर कारवाही गरेर हिनामिना तथा अपचलन भएको रकम असुल उपर गरौंं । हिम्मत छ तपाईँहरुको ? त्यसरी गर्दा तपाईँहरु निर्दोष ठहरिए म मेरो लिखत फिर्ता लिएर सार्वजनिक रुपमा माफी माग्छु ।

महाभारतमा पितामह भीष्मले दुर्योधनलाई भनेका छन् कालले रगतको पोखरीमा नुहाउने निर्णय गरिसक्यो । त्यसकारण तिम्रो बुद्धि नफिरेको दुर्योधन । अब राजनीतिक डुंगा डुब्ने र डुवाउने नै निर्ण भएको हो भने अग्रिम बधाई छ भन्नुपर्ला । गोलबजार नगरपालिकाको स्टेयरिङ्ग “केवलराम” कै हातमा छ भन्ने अनुभूति त नगरवासीहरुलाई पनि भएकै छ । गोलबजार नगरपालिकाको एक करोड ५२ लाख “अनन्त” मा अलप भएको छ । अनन्त यति अनन्त छ् कि पार पाउनै सकिदैन । नगरवासी त सुस्केरा हाल्दै भन्छन् –“हरि अनन्त हरि कथा अनन्ता” ।

फोटो ः गोलबजार नगरपालिकाको वेभसाइट


प्रकाशित : २०७९ माघ १९ बिहीबार