पत्रकार डा चापागाईंलाई हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार   

[sharethis-inline-buttons]

काठमाडौँ, १८ माघ
प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष डा बालकृष्ण चापागाईं यस वर्षको हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुहुने भएको छ ।
सङ्गठनको सचिवालय बैठकले वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी रघु मैनालीको संयोजकत्वमा गठन गरेको पुरस्कार छनोट समितिले पूर्वअध्यक्ष चापागाईंलाई हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको हो ।
समितिले यस वर्षको अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कारबाट लमजुङका पत्रकार कृष्ण केसीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । यस्तै डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कारबाट दैलेखका याम शर्मा, वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कारबाट बाराका लक्ष्मी साहलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।
यस्तै सावित्री–पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कारबाट सुनसरीका लीलाराज भट्टराई र चन्द्र न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कारबाट डडेलधुराकी ममता भट्टलाई पुरस्कृत गर्ने निर्णय भएको छनोट समितिका संयोजक रघु मैनालीले जानकारी दिनुभयो ।
प्रेस चौतारीले आफ्नो स्थापना दिवस माघ २२ गते हृदयचन्द्रसिंह प्रधानसहित छवटा पुरस्कार प्रदान गर्दै आएको छ । यस वर्ष प्रदान गर्ने पुरस्कारका लागि आज नाम सार्वजनिक भएको हो । प्रेस चौतारीले आफ्नो स्थापना दिवसमा विभिन्न रचनात्मक कामसमेत गर्दै आएको छ ।
प्रेस चौतारीको यही माघ ९ र १० गते बसेको सचिवालय बैठकले वरिष्ठ पत्रकार मैनाली संयोजक तथा उपाध्यक्ष देविका घर्तीमगर र महासचिव हीरामान लामा सदस्य रहेको पुरस्कार छनोट समिति गठन गरेको थियो । समितिले अन्तिम निर्णय गरी केन्द्रीय कार्यालयलाई नाम बुझाएको छ ।


प्रकाशित : २०७९ माघ १८ बुधबार