धमिनी मन्दिर परिसरमा “७ तले व्यापारिक मल ” बनाइने , मन्दिर परिसर भित्र “मल” बनाए आन्दोलन गर्ने स्थानीयको चेतावनी

[sharethis-inline-buttons]

अर्जुन थपलिया
माघ १४, २०७९÷सिरहा
गोलबजार नगरपालिकाले यहाँ स्थित धमिनी मन्दिरको दक्षिण र पश्चिमतर्फको आमुख छोपिने गरी ७ तले “व्यापारिक मल ” निर्माण गर्ने भएको छ । ७ तले विशाल ”व्यापारिक मल” निर्माण गर्न १८ करोड रकम खर्च गरिने भएको छ । गोलबजार नगरपालिकाले प्रस्तावित मल निर्माण गर्न नगर विकास कोष नयाँ बानेस्वर काठमाडौंसँग ऋण लिने भएको छ । यस सम्बन्धमा नगर विकास कोषका अधिकृत प्रतीक राज तिमल्सिनासँग जिज्ञाशा राख्दा उहाँले भन्नुभयो , “हो ! गोलबजार नगरपालिकाले व्यापारिुक मल निर्माण गर्ने उद्देश्यका साथ १८ करोड ऋण माग्न प्रस्तावना पत्र सहित फाइल पेस गरेको छ ।” डिपिआर तयार भएर स्थलगत निरीक्षण गरेपछि ऋण दिने वा नदिने बारे निर्णय हुनेछ ।
व्यापारिक मल (भवन) निर्माण प्रयोजनको लागि गोलबजार नगरपालिकाले काठमाडौंका एक कन्सलटेन्ट इन्जिनीयरलाई विस्तृत परियोजना प्रतिवेदन ( डिपिआर ) तयार गर्न दिएको छ । इन्जिनीयर आएर प्रारम्भिक नापजोख गर्दैगर्दा मैले ( यो पंक्तिकारले ) त्यहाँ उपस्थित गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौडेलसँग जिज्ञाशा राखेको थिएँ । उहाँले भन्नुभयो “यहाँको विकासका लागि मेयर साहवको आग्रहमा मैले यो व्यापारिक मल निर्माणको पहल गरेको हुँ ।” डिपिआर तयार हुँदैछ । छिट्टै मल निर्माण कार्य सुरु हुन्छ
व्यापारिक मल निर्माण गर्न अहिले रहेको उप प्रमुखको कार्यकक्षदेखि पश्चिम प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष रहेको भवनभन्दा पनि पश्चिम ग्रामिण हटिया जाने बाटोसम्म र त्यहाँबाट उत्तर बाउण्ड्री वाल गरिएको स्थानसम्मलाई निक्र्यौल गरिएको छ । प्रस्तावित व्यापारिक मल निर्माणसुरु गर्नु पूर्व नगरपालिकालाई नयाँ भवनमा सार्ने योजना बनाइएको छ । गोलबजार नगरपालिका वडा नं. २ का वडाध्यक्ष सुकदेव सिंहले भन्नुभयो नगरपरिषद्बाट पास भएको छैन । कार्यपालिकामा सामान्य छलफल गरेर मल निर्माण गर्ने फाइल अघि बढाइएको छ । ऋण स्वीकृत भएपछि मात्र छलफलमा ल्याउने योजना छ ।
त्यसैगरी अहिले भाडामा दिइएका सटरहरु वडा कार्यालय रहेको भवन , उप प्रमुखको कार्यकक्षसम्मको भवन र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष रहेको भवन पनि भत्काउनु पर्ने छ । नेपाली कांग्रेसका नेता राजदेव साह ( लालबाबु ) ले भन्नुभयो ”७ दलीय संयन्त्रमा मेयर श्याम श्रेष्ठले सामान्य छलफल गराउनु भएको छ । तर विस्तृत छलफल गरेर अन्तिम निर्णय गर्ने भन्नुभएको छ । छिट्टै बैठक राख्ने भन्नुभएको थियो तर अहिलेसम्म बैठक भएको छैन । उहाँले भन्नुभयो राजमार्गदेखि एक सय ३ फिटसम्ममा कुनै पनि स्थायी संरचना बनाउन कानुनले मिल्दैन । १०३ फिट छाडेर मल निर्माण गर्दा अर्को ३० देखि ३५ फिट जग्गा चर्चिन्छ । त्यसरी त धमिनी मन्दिरको पर्खालसम्मै “मल” टाँसिन्छ । खोइ कसरी प्लानिङ्ग भएको छ बुझ्नै पर्छ ।
७ तले व्यापारिक भवन ( मल ) निर्माण गर्दा धमिनी मन्दिरको दक्षिणतर्फको आमुख पूरै छोपिन्छ । पश्चिमपट्टीको लगभग ४ कट्ठा जग्गा पनि भवनले चर्चिने देखिन्छ । त्यसपछि २ देखि ३ कट्ठा जग्गा मोटर पार्किङ्गको लागि छुट्टयाइनु पर्छ । दक्षिणतर्फबाट मलमा पसेर पूजाआजा गर्न मन्दिरमा जाने भक्तजनहरुलाई कठिनाई हुने देखिन्छ । धमिनी मन्दिर प्रवेश गर्न उत्तरतर्फबाट प्रवेशद्वार बनाउनु पर्ने हुन्छ । उता पश्चिमपट्टी रहेको ४ कट्ठा जग्गा व्यक्तिको निजी सम्पतिको रुपमा दर्ता छ । जग्गा धनी ४ दाजुभाईले छाप्रो हालेर किराना पसल थापेर भोग गरिहेका छन् । व्यक्तिको निजी जग्गाको स्वामित्व हस्तान्तरण नगरी मल निर्माण गर्दा अदालतबाट निषेधाज्ञा आउन सक्ने सम्भावना पनि उत्तिकै छ ।
व्यापारिक मल निर्माण गर्ने गोलबजार नगरपालिकाको योजना बाहिरिए पछि स्थानीय स्तरमा विरोधका स्वरहरु पनि सुनिन थालेको छ । स्थानीय व्यापारी सुन्दरलाल साह भन्नुहुन्छ –धमिनी मन्दिर हाम्रो माथा टेक्ने आस्थाको धरोहर हो । यहाँ व्यापारिक मल निर्माण गर्न खोज्नु घोर अन्याय हो । नगरपालिकाले पैसा कमाउन समाजको आस्था केन्द्रसँग खेलवाड गर्न मिल्दैन । धमिनी थान खाली गरेर त्यहाँ उद्यान बनाउनु पर्छ । पर्यटकीय स्थल बनाउनु पर्छ । यो मन्दिरमा दुर दराजबाट श्रद्धालुहरु आउने गरेका छन् । मन्दिरको शोभा विगारेर व्यापारिक मल निर्माण गरियो भने भएपछि सदियौंदेखि लाग्ने गरेको नयाँ वर्षको मेला लाग्ने स्थान मासिने छ । बली चढाउने स्थान अभाव हुने छ । यस्तो भयो भने कर वृद्धि गर्दा भएको आन्दोलनभन्दा पनि ठूलो आन्दोलन हुने छ ।

त्यसैगरी गोलबजारका अर्का व्यापारी वैद्यनाथ शर्माले धमिनी थान पूजाआजा गर्ने स्थान हो । त्यहाँ व्यापारिक मल बनाउन दिंदैनौ । धार्मिक सम्पदा मास्ने योजना सफल हुन दिदैनौं । धमिनी थान गोलबजारको मात्र होइन यो धार्मिक स्थल सिरहा जिल्ला र सीमावर्ती भारतीय जनताको आस्थासँग पनि जोडिएको छ । बिना चप्पल १० कोस दुरी पैदल हिँडेर श्रद्धालुहरु दूध चढाउन यहाँ आउँछन् । धमिनी थानको सम्पूर्ण जग्गा खाली गरेर त्यसलाई पर्यटकीय स्थल बनाउनु पर्छ । धार्मिक स्थलसँग छेडछाड नगर्न हामी नगरपालिकालाई सचेत गराउन चहान्छौं ।

त्यसैगरी एमालेका नेता वेतौनाका गणेश गौतमले भारतको एक उदाहरण दिदै जैन मन्दिर मास्ने सरकारको निर्णय बदर भएको र धार्मिक स्थल कायम भएको बताउनुभयो । उहाँले भन्नुभयो यहाँका सरकार सञ्चालक र शासक भन्नेहरुले धमिनी थानसँग खेलवाड नगरेको राम्रो हुन्छ । नत्र जनताको आस्थासँग खेल्दा आक्रोश थामिसक्नु हुँदैन ।  धमिनी थान संरक्षणका लागि जनता ओर्लिने छन् ।

धनगढीमाइ नगरपालिका कसहाका विनोद यादव भन्नुहुन्छ धमिनी मन्दिरमा मल बनाउने कुरा कुनै हालतमा सह्य हुँदैन । त्यो जग्गा धर्मस्थलको हो । नगरपालिकाले पैसा कमाउन धमिनी थानको जग्गा प्रयोग गर्न पाउँदैन । धमिनी थानको जग्गा मास्ने प्रपञ्च गरियो भने गोलबजार मात्र होइन जिल्ला भरबाटै आन्दोलन उठने छ ।

धमिनी थानको जग्गा प्रयोग गरेर व्यापारिक मल निर्माण गर्ने कुरामा स्थानीय युवा तथा समाजसेवी गंगा यादवले पनि आक्रोश पोख्नुभयो । उहाँले धमिनी थानमा व्यापारिक मल निर्माण गर्न नदिने र स्थानीय जनता आन्दोलनमा उत्रिने बताउनुभयो ।

स्मरण रहोस् स्थानीय निर्वाचनको समयमा एमालेले धमिनी थान परिसर पूरै खाली गरेर सुन्दर उपवन निर्माण गर्ने घोषणा गरेको थियो ।


प्रकाशित : २०७९ माघ १४ शनिबार