गोलबजार नगरपालिका भित्रको कपोलकल्पित कालोपत्रे सडकको फर्जी फाइल कता पुग्यो होला ?

[sharethis-inline-buttons]

–अर्जुन थपलिया
सिरहा,माघ ११ ः
दशैं अघि कै कुरा हो मिति ठ्याक्कै याद भएन । म गोलबजार नगरपालिकाका नगर प्रमुख श्री श्याम कुमार श्रेष्ठको कार्यकक्षमा पुगें । त्यहाँ पहिलेदेखि नै गोलबजार नगरपालिका वडा नंं १ बलडाडाका महेन्द्र पूर्वे , राम दयाल र सागर पूर्वे पूर्वपट्टीको सोफामा बसिरहेका थिए । मेयर साहव श्रेष्ठ ज्यु आफ्नै कुर्सीमा हुनुहुन्थ्यो । उहाँको टेवलमा एउटा फाइल थियो । म कार्यकक्षमा पुग्नसाथ मेयर साहवले भन्नुभयो –“ ल ल पत्रकार पनि आइपुग्नु भयो । ल हेर्नुस् पत्रकार जी यहाँ कस्तो कस्तो भएको रहेछ । म त आफै अचम्ममा परिसकें । यहाँ त मलाई खोजबिन गर्नै महिनौ लाग्ने भयो ।”
पश्चिमपट्टीको सोफमा बस्दै मैले जिज्ञाशा राखें, के भयो त्यस्तो ? मेयर साहवले टेवलबाट फाइल उचालेर फेरि टेवलमै पछार्नुभयो र भन्नुभयो “ ल हेर्नुस् ६६ लाखको भुक्तानीको लागि यो किर्ते फाइल खडा गरी १८ नं. मा हालिएको रहेछ । वडा नं. १ बलडाडामा एउटा सडक बनाएको भनेर कपोलकल्पित सडक खडा गरी फर्जी उपभोक्ता समिति बनाएर किर्ते हस्ताक्षरबाट बैंक खाता खोल्न लगाएर भुक्तानी लिन खोजिंदै थियो । मैले थाहा पाएर यो फाइल “सिज” गरेर मेरो टेवलमा राखेको छु । यहाँ त के–के भएको छ–छ ?
मेयर साहवले आफ्नो बोलाइ रोकेर पूर्वपट्टी बसिरहनु भएका महेन्द्र पूर्वे , राम दयाल र सागर पूर्वेलाई एउटा पानामा हस्ताक्षर गर्न लगाउनुभयो । उहाँहरु तीनै जनाको नाम फर्जी भनिएको उपभोक्ता समितिमा राखिएको रहेछ । फाइलमा संलग्न दस्तावेजमा भएको हस्ताक्षर र उहाँहरुले मेयर साहवको मुखेञ्जेली गर्नुभएको हस्ताक्षर मिलेन । त्यसपछि महेन्द्र पूर्वे, रामदयाल र सागर पूर्वे तीनै जनाले भन्नुभयो “हामीलाई थाहा नै छैन कसले हाम्रो नाम उपभोक्ता समितिमा राख्यो । कुनै बैठक वा भेलामा हामी गएका छैनौ । कतै हस्ताक्षर गरेका छैनौ । उपभोक्ता समितिमा बस्ने भनेका छैनौ । हामी त आश्चर्यमा प¥यौं । यो किर्ते र जालसाजी जसले गरेको भए पनि मेयर साहव उनीहरु माथि कडा कारवाही गर्नुपर्छ ।
त्यसपछि म उठेर मेयर साहवको टेवलको समीपमा पुगें । फाइल हातमा लिएर कागज पत्र ओल्टाइ पल्टाइ हेरें । मैले उपभोक्ता समिति गठन गरिएको र त्यसलाई वडा कार्यालयबाट प्रमाणित गरिएको दस्तावेज हेरें । उपभोक्ता समितिसँग गरिएको सम्झौता पत्र हेरें । बैंक खाता खोल्न दिइएको सिफारिस पत्र हेरें । उपभोक्ता समितिलाई कार्य गर्न दिइएको कार्यादेश हेरें । लागत इस्टिमेट हेरें । फाइलमा कालोपत्रे गरिएको सडकको दुई वटा तस्बीर पनि संलग्न थिए । ती सबै कागजातमा अन्यान्य कर्मचारीहरुको दस्तखत थियो । तर प्रमुख प्रशासकीय अधिकृतको दस्तखत कुनै कागजमा थिएन । मैले तत्कालै मोवाइल झिकेर ती दस्तावेजहरुको तस्बीर खिच्न खोजेंं तर मेयर साहवले मेरो हातबाट फाइल तानेर लिनुभयो र फोटो खिच्न रोक्नुभयो । उहाँले भन्नुभयो पहिले म शुक्ष्म अध्ययन गर्छु त्यसपछि पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छु । दुई चार दिन पर्खिनुहोस् । सर्वदलीय जाँचबुझ समिति गठन गरेर म यसलाई पर्दाफास गर्छु र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कारवाहीको लागि सिफारिस गर्छु ।
यति कुरा हुँदाहुँदै प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौडेल मेयर साहवको कर्यकक्षमा आउनुभयो । मेयर साहवले भन्नुभयो हाकिम सहव यो के भएको ? (महेन्द्र , रामदयाल र सागर पूर्वेतर्फ देखाउँदै ) उहाँहरु त भन्नुहुन्छ हामीलाई त थाहै छैन उपभोक्ता समिति गठन गरेको ! उहाँहरुको हस्ताक्षर पनि मिल्दैन । मेयर साहवको प्रश्न सकिनासाथ मैले प्रश्न थपे “ हाकिम साहाव हजुरको हस्ताक्षर कहि कतै देखिदैन । फेरि यो फाइल १८ नं. मा कसरी पेस भयो । हाकिमले प्रमाणित नगरेको फाइल कसरी भुक्तानी सूचिमा प¥यो ? दुईवटै प्रश्नको उत्तरमा हाकिम साहव पौडेलले भन्नुभयो खोइ मलाई थाहा छैन । मैले उहाँलाई थप प्रश्न गरे – तपाई जस्तो जिम्मेवार पदको व्यक्तिले थाहा छैन भन्न मिल्छ ? तपाईको अनुमति बिना कसरी फर्जी फाइल भुक्तानी सूचिमा पर्छ ? उहाँ निरुत्तर हुनुभयो र भन्नुभयो छानविन गर्नुपर्छ । मैले सागर पूर्वेलाई सोधे के त्यहाँ कालोपत्रे गरिएको छ ? उहाँले भन्नुभयो – छैन । समितिका अध्यक्ष विजय साह को हुन् अझै पनि मलाई थाहा छैन । यतै गोलबजारकै व्यापारी हुने रे भनेको सुने ।

त्यसपछि मैले मेयर साहवलाई सोधे महेन्द्र पूर्वेलाई सचिवमा राखिएको रहेछ । अध्यक्षमा विजय साह हुनुहुन्छ ? उहाँहरुको नाममा बैंक खाता खोल्न सिफारिस भएको रहेछ । अनि बैंकको हस्ताक्षर कार्डमा कसले हस्ताक्षर गरेका होलान त ? मेयर साहवलेले भन्नुभयो पक्कै त्यहाँ पनि किर्ते हस्ताक्षरलाई सक्कली भनेर प्रमाणित गरेर पठाइएको हुनुपर्छ ।
यति कुरा भएपछि किर्ते जालसाजी गर्नेलाई कारवाही होस् हाकिम साहव र मेयर साहव भन्दै महेन्द्र , रामदयाल र सागर पूर्वेले मेयर साहवसँग बिदा मागे । मेयर साहवले पनि आवश्यक परेको बेला बोलाउँछू भन्दै बिदा दिनुभयो ।
मेयर साहव , यो कपोलकल्पित सडकको फर्जी फाइलबारे हामी पत्रकारहरुले पनि जानकारी पाउँ । भ्रष्टाचार निवारणका लागि यो एउटा दृष्टान्त हुन सक्छ भन्दै म पनि निस्के ।
बाहिर निस्केपछि मेरो अनुहारमा एउटा चमक आएको अनुभूति गरें । ओहो ! आफूले मत दिएर जिताएको मेयर श्याम कुमार श्रेष्ठ त साच्चै आभायुक्त व्यक्तित्व हुनुहुँदो रहेछ जस्तो लाग्यो । आहो कस्तो राम्रो ! भ्रष्टाचार प्रति शून्य सशहनशीलता । भ्रष्टाचार पत्ता लगाउन सक्ने खुवी भएको मेयर । ठीक ठाउँमा मत हालिएछ । क्या सफाईले भ्रष्टाचारको फाइल जफत गर्नुभयो । वाह वाह ! मेयर श्याम श्रेष्ठ । अब भ्रष्टाचारीलाई कठालो समाएर कानुनको कठघरामा उभ्याउनुस् । हामी क्या बात मेयर भनेर तपाईको दृष्टान्त दिएर कलम चलाउने छौं । सुशासनको एउटा कोसेढुंगा स्थापित गर्नुहोस् । यी सब कुरा मेरा मनमा उठेका तर्कना र गोलबजार नगरपालिकामा सुशासन स्थापना हुने सुन्दर बान्कीका मेरा रहरहरु हुन् । मनमा एक दुई शंका पनि जाग्यो । दस्तावेजहरुको फोटो खिच्न किन दिनुभएन मेयर साहवले ? अनि प्रमुख प्रशासकीय अधिकृतको प्रमाणित दस्तखत बिना भुक्तनी सूचिमा ( १८ नं. ) कसरी प¥यो त्यो फाइल ? के सारा काम भएर चेक काट्ने बेलामा मात्र हाकिमले दस्तावेजहरुमा हस्ताक्षर गरेर चेक काट्ने हो ? तर यो प्रश्नको उत्तर अहिलेसम्म भेटिएन ।
प्रतीक्षामा १५ दिन बित्यो । त्यसपछि मैले मेयर साहवलाई भेटेर फेरि सोधें । मेयर साहव के भयो त्यो मुक्सारको सडकको फाइल ? कहाँ पुग्यो अनुसन्धान ? कहिले गर्नुहुन्छ पत्रकार सम्मेलन ? मेयर साहवले हातको इशाराले लाखे –लाखे भन्नुभयो । चुनाव पछि गर्छु । अब चुनावको चटारो सुरुभयो । रात रह्यो अग्राख पलायो भने झैं हुने हो कि भनेर मेरो मनमा चिसो पस्यो । भ्रष्टाचार प्रतिको शून्य सहनशीलता र सुशासन कायम गर्ने हुटहुटी मेयर साहवमा हो भने त यति विलम्ब गर्न नहुने हो जस्तो लाग्यो । तर पर्ख र हेर गर्नुबाहेक अन्य विकल्प थिएन मसँग ।
चुनाव पनि बित्यो । तर त्यो फाइल कहाँ पुग्यो केही थाहा छैन । न सर्वदलीय जाँचबुझ समिति बन्यो । न त अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुग्यो । मेयर साहवको भ्रष्टाचार प्रतिको शून्य सहनशीलता पनि कता हरायो –हरायो ? न पत्रकार सम्मेलन भयो । मेयर साहवको आभायुक्त मुहार त धमिलो देख्न थाले मैले । तर कहाँ के कुरामा फेर प¥यो र रंगेहात पक्राउ परको त्यो फाइल गायव भयो त ? मेरो मनमा यो प्रश्नले घर बनायो ।

दुई चार दिन पहिले एक दिन म घुम्दै मुक्सारतिर गएको थिए । त्यहाँ मैले एमालेका इमान्दार र सुशासनको मुमुक्षा भएका तीन जना मानिस भेंटे । सुन्दर थापा मगर , श्रवण मल्ल र महेन्द्र पूर्वे । उहाँहरुले मलाई देखेर भन्नुभयो “ पत्रकार महोदय जनताको आवाज लेख्न छोड्नुभयो कि कसो ? कि कलम बन्धकी राख्नुभयो ? उहाँहरुको भनाइ मलाई बिझाएन मात्र अपितु चरचर चह¥यायो । एउटा पत्रकारलाई कलम बन्धकी राख्यौं भनेर जनताले सोध्दा मरेतुल्य अनुभूति हुनु स्वभाविक हो । युद्धमा हतियार बेच्ने योद्धा र समाजमा कलम बेच्ने पत्रकार उस्तै हुन् । तर समाजको मनोवृति पनि अचम्मको छ । पत्रकारले नलेख्दा “हेर बिक्यो , लेख्नै छोड्यो” भनेर घारे हात लगाउने । लेख्ने पत्रकारलाई पैसा दिएन होला अनि लेख्यो भन्ने । यद्यपि तीनै जना महानुभाव र म एक आपसमा चिनजान र घुलमिल भएकै व्यक्तिहरु प¥यौं । मैले भने दाइ पेट त मेरो पनि छ तर सलाइको बट्टा जत्रै मेरो घर छ । त्यहाँ भित्र ढिडो खाएर म हर्षित छु । कुटो कोदालो गरेर मेरा हातका रेखाहरु प्नि मेटिएका छन् । कसैले ताराहरु सहितको सम्पूर्ण आकाश र अनन्त सम्पदाहरुसहितको यो घर्ती सबै मेरै नाममा लेखिदिए पनि म कलम बन्धकी राख्ने छैन । दाजुहरु – सवाल देखियो र प्रमाण पुग्यो भने म लेख्छु ।

मेरो कुरा सुनेर उहाँहरु जे सवाई कहनुभयो त्यसलाई मैले भिडियो रेकर्ड गरे । उहाँहरुले निर्भीक भएर बलडाडामा कपोलकल्पित कालोपत्रे सडक र फर्जी उपभोक्ता समितिको बारेमा बोल्नुभयो । उहाँहरुले मेयर साहव श्याम श्रेष्ठ र माननीय सांसद लीलानाथ श्रेष्ठलाई पटक–पटक भेटेर भ्रष्टाचारीलाई कारवाही गर्न आग्रह गरेको र कारवाही गरिछाड्ने झुठा आस्वासनको टिठलाग्दो कथा सुनाउनु भयो । उहाँहरुले मेयर साहवले झुक्याएको र झरा टार्ने काम गरेकोले आशा मरेको अतिशय वेदना पोख्नुभयो । त्यो फर्जी फाइललाई सक्कली बनाउन भित्रभित्रै एउटा गोप्य समिति बनाएर नपुगेको रीत पु¥याएर भुक्तानी झिकेर बिलो लगाएर खाएको दुर्दान्त तथा हृदयविदारक कथा सुनुउनुभयो । फर्जी फइल खडा गर्ने दोषीहरु पर्टीका नेताजनका आफन्त परेकोले जोगाइएको गैर जिम्मेवार र सुशासन द्वेषी निम र करेला मिसाएको जति तितो जवाफदिएर पठाएको बताउनुभयो ।
भ्रष्टाचार प्रति “जिरो टोलोरेन्स ” भएका मेयर साहवको महान कदममा कसरी तगारो लागेछ भन्ने कुरा मैले सुन्दर , श्रवण र महेन्द्र दाजुहरुको मुखारवृन्दबाट सुनेर थाहा पाएँ । सत्य साचो के हो थाहा छैन । कि त पत्रकार सम्मेलन गरेर मेयर साहवले नै भन्नुपर्छ । नत्र मैले यी तीन जना दाजुहरुलाई नै सत्य माने । सूचना पत्रकारहरुसँग मात्र हुँदैन । तथ्य र सत्यका ज्ञाता त गाउँका मानिसहरु पनि हुनुहुँदो रहेछ भन्ने थाहा पाएँ ।

“डरा हुआ पत्रकार मरा हुआ नागरिक पैदा करता है ” प्रस्तुत पंक्ति भारतीय पत्रकार रवीश कुमारको हो । यसमा भारतीय कवि वसिम वरेल्वीले थपेका छन् “ जिन्दा होना हि काफी नही जिन्दा दिखना भि चाहिए ” । पत्रकार रवीश कुमारले भारतमा भएको गोदी मिडियाको माहौललाई कटाक्षपूर्ण झटारो हानेका हुन् । तर सुन्दर, श्रवण र महेन्द्र दाईको कथनबाट आज म एक पंक्ति थप्छु “ जागृत नागरिकहरुले लोकतन्त्रमा पत्रकारलाई जिउँदो रहन प्रेरणा दिदाँ रहेछन् । ” भिडियो रेकर्डमा उहाँहरु तीन जनाले भनेपछि मैले आफ्नो कर्तव्यपथमा लम्किन उचित ठने र यो आलेख लेखेर सार्वजनिक गरेको छु । म यसै आलेखमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वर्दिबासस्थित कार्यालयको ध्यान आकर्षण गर्न चहान्छु कि लोकतन्त्रका सच्चा पहरेदार मुक्सारका सुन्दर बहादुर मगर, श्रवण मल्ल र महेन्द्र पूर्वेहरुको आर्तनादमाथि सुनुवाई गरियोस् । त्यो कपोलकल्पित सडकको फर्जी फाइल झिकाएर अनुसन्धान गरी दोषी देखिएकाहरु उपर कारवाही गरियोस् । सुशासन हेर्ने उत्कठ अभिलाषा भएका नागरिकहरुको संविधान प्रदत्त अधिकारको संरक्षण होस् । मैले त थाहा पाइसकें भ्रष्टाचार रोक्ने शून्य सहनशीलता र सुशासन स्थापना गर्ने मेयर साहव श्याम कुमार श्रेष्ठको हुटहुटी पानीका फोका झैं कसरी फुटेछन् ।

फोटो , नगरपालिकाको वेभसाइटबाट

 


प्रकाशित : २०७९ माघ १२ बिहीबार