पोखरामा यति एयरको विमान दुर्घटना

[sharethis-inline-buttons]

माघ १÷ पोखरा
काठमाडौंबाट पोखरा उडेको यति एयरलाइन्सको जहाज आइतबार बिहान पोखरामा सेती नदीको खोंचमा दुर्घटनाग्रस्त भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट बिहान १०ः३३ बजे उडेको जहाजमा ६८ जना यात्रु र ४ चालक दलका सदस्य थिए । विमान पाइलट कमल केसीले उडाएका थिए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार सेती नदीको खोंचमा खसेको विमानबाट ३० जनाको मृत शरीर निकालिएको छ ।
एक प्रत्यक्षदर्शीका अनुसानर आइतबार बिहान एक्कासी घर नजिकै धुवाँको मुस्लो देखियो । घरको छतमा गएर हेर्दा छिमेकीहरु जहाज दुर्घटना भएको भनेर कराएको सुने । जहाज दुर्घटना हुनु भन्दा अघि जहाज आकाशमा घुमिरहेको प्रत्यक्षदर्शीहरुले बताए ।
जहाज सेती नदीको खोंचमा खसेको छ । बाहिर केही शवहरू उछिट्टिएको अवस्थामा रहेको उद्धार कार्यमा संलग्न सुरक्षाकर्मीहरुले जानकारी दिएका छन् । उद्धार कार्यमा नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी , दमकल र स्थानीय जनता संलग्न छन् । दुर्घटनास्थलमा पुगका स्थानीयहरुले सामाजिक सञ्जालमार्फत आगो दन्दनी बलेको जाहाजको भिडियो प्रत्यक्ष प्रसारण गरिरहेका छन् । आगो दन्किएको देख्दा विमानको भगनावशेषमा फसेका यात्रुहरुको जीवित उद्धार हुने सम्भावना कमै देखिन्छ । विमानको लगभग ७५ प्रतिशत भाग जलेकाले जिवित कोही भेटिने सम्भावना नरहेको स्थानीयहरु बताउँछन् ।
जहाज ल्याण्ड गर्ने क्रममा दुर्घटना हुन पुगेको प्रारम्भिक भनाईहरु सामुन्ने आएका छन् । जहाजका पाइलटले बस्ती जोगाएर जहाज सेती नदीको खोंचमा खसालेको प्रत्यक्षदर्शीहरुको भनाई छ । दुर्घटना नजिकै अल्कापुर भन्ने मानव बस्ती छ । सो बस्ती बचाउन चालकले जहाजलाई खोंचमा लगेका हुन सक्ने देखिएको छ । मानव बस्तीमा जहाज खसेको भए ठूलो धनजनको क्षति हुने थियो । मध्यान्ह १२ बजेसम्म पनि उद्धार कार्य जारी छ । प्रहरी र सेनाले डढेका शव निकाल्दै छन् ।


प्रकाशित : २०७९ माघ १ आईतवार