चितवन । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेकपा एमाले सरकार गठनको दिशामा नरहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार बन्ने प्रक्षेपण गर्नुभएको छ । सत्ता गठबन्धन र केही बाहिर रहेका दलहरु मिलेर नयाँ सरकार बन्ने अवस्था रहेको तर मुलुकको अवस्था भने झनै कमजोर बन्ने पाण्डेले बताउनु भयो ।
‘चुनावको परिणाम स्थिरताको पक्षमा आएन, कनै दलको मात्र होइन, कांग्रेस र एमाले मिल्दा बाहेक अरु दुई पार्टी मिलेर सरकार गठनको अवस्था पनि रहेन, त्यसकारण गठबन्धनको नेता भएकोले नेपाली कांग्रेसकै सभापति शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार बन्छ भन्ने मलाइ लाग्छ,’ प्रेस चौतारी चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष पाण्डेले भन्नुभयो ।
उहाँले देउवासँग गठबन्धन सरकार चलाएर जे गर्न पनि छुट दिने बिशेषता भएकोले यस्तो अपेक्षा गरिएको बताउनु भयो । ‘देउवाकै नेतृत्वमा सरकार बन्ने आधारका रुपमा अरु पनि कारण छन, गठबन्धनमा बसेर चुनाव लडेको हुनाले चुनाव सकिना साथ अर्काे गठबन्धनमा जानु राम्रो होइन, हामी सरकार गठनतिर लागेका छैनौं । गठबन्धन र गठबन्धन बाहिरका पनि दल मिलेर सरकार बन्ला । राप्रपाबाहेक बाँकी दलहरु सरकारमा जाने नै कुरा गरिरहेका छन । यस्तो स्थितिमा देउवाकै नेतृत्वमा सरकार बन्ला,’ पाण्डेले भन्नुभयो ।
उहाँले एमाले भने सरकार गठनतिर नलागेको बताउनु भयो । ‘अहिले हामी सरकारको दौडमै छैनौं, प्रतिपक्षमा रहने भनिसकेका छौं । मिलिजुली सरकार बनाउने र मन्त्री दिने र मन्त्रीलाई जे गर्दा पनि छुट गर्ने बिशेषता देउवाको छ । त्यसैतिर मुलुक जान्छ भन्ने मलाइ लाग्छ । तर मुलुक थप बर्वादीतिर जाने देखिन्छ,’ पाण्डेले भन्नुभयो ।
उहाँले मुलुक गम्भीर दिशामा जाने अवस्थामा भने कांग्र्रेस र एमाले मिल्नुपर्ने अवस्था आउन सक्ने बताउनु भयो । ‘मुलुकमा गम्भीर स्थिति आयो भने कांग्रेस एमालेले कँही न कँही ब्रोडर अन्डरस्टयाण्डिग गर्नुपर्छ भन्ने मेरो ब्यक्तिगत मान्यता छ,’ पाण्डेले भन्नुभयो । उहाँले चुनावको परिणामले जनतामा आशा घटदै गएको र थप निरासातर्फ देश जान्छ कि भन्ने देखिएको पनि बताउनु भयो ।
‘यो परिणामले थप अस्थिरतातर्फ, थप अनिश्चयतातर्फ देश जान्छ । कुनै एउटा दलले प्रष्ट बहुमत ल्याएको स्थिति छैन । एमाले र कांग्रेसबाहेक अरु एउटा दल मिल्दा पनि सरकार बनाउन सक्ने अवस्था छैन,’ पाण्डेले भन्नुभयो । उहाँले नयाँ सरकार बन्दा मन्त्रिपरिषदमा जाने पनि सन्तुष्ट होइन, असन्तुष्ट नै बनेर बस्ने अवस्था आउनेपनि बताउनु भयो ।