काठमाडौं । सत्ता गठबन्धनमा रहेका चार दलका शीर्ष नेताबीच आगामी दिनमा थप एकतावद्ध भएर अघि बढ्ने सहमति भएको छ ।
सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा चुनावी समीक्षा गर्दै उनीहरूले थप एकतावद्ध भएर अघि बढ्ने सहमति जुटाएका हुन् ।
बैठकपछि संयुक्त विज्ञप्ति जारी गर्दै नेताहरुले मुलुकको हितलाई केन्द्रमा राखेर आगामी दिनमा थप एकतावद्ध भएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मंसिर ४ को चुनावले गठबन्धनको आवश्यकता र सान्दर्भिकता थप पुष्टि गरेको विज्ञप्तिमा उल्लेख छ। मुलुकका सामु विद्यमान चुनौतीहरूको सामना गर्नुपर्ने आवश्यकताले यो गठबन्धनलाई निरन्तरता दिनु जरूरी रहेको शीर्ष नेताहरुले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
संयुक्त विज्ञप्तिमा प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गर्नुभएको छ ।
उहाँहरुले मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनाव सम्पन्न गरेकोमा नेपाल सरकारलाई धन्यबादसमेत दिनुभएको छ ।
निर्वाचनका बेला कतिपय निर्वाचन क्षेत्रमा असहयोग र असमझदारीका घटना देखिएको चार दलका शीर्ष नेताको भनाइ छ। ती असमझदारीबारे आगामी दिनमा थप समीक्षा गरिने विज्ञप्तिमा उल्लेख छ ।