काठमाडौं । प्रधानमन्त्री शेरबहादर देउवाले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई सरकारमा सहभागी हुन प्रस्ताव गर्नुभएको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री देउवाले राउतलाई सरकारमा सहभागी हुन प्रस्ताव गर्नुभएको हो । प्रधानमन्त्रीको प्रस्तावमा राउत सकरात्मक रहेको बताइएको छ । संघ र प्रदेशमा समेत सहकार्य गरेर अघि बढ्ने प्रस्ताव देउवाले गरेकोमा राउतले सरकारमा जान आफू सकारात्मक रहेको बताउनुभएको थियो ।
कांग्रेस नेतृत्वमा लोकतान्त्रिक सरकार गठन गर्न दुई नेताबीच सहमति भएको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो ।
कांग्रेस र जनमतबीच संघ र प्रदेश दुवै तहमा सहकार्य गर्ने सहमति भएको निधिले बताउनुभयो ।
राउतले यसअघि नै सरकारमा जान आफूले विकल्प खुला राखेको बताइसक्नुभएको थियो । जनमत पार्टी मधेस प्रदेशमा निर्णयक शक्तिको रुपमा रहेको छ ।
यसअघि राउत र कांग्रेस नेता विमलेन्द्र निधिबीच भेटवार्ता भएको थियो । निधिकै पहलमा राउत र प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो ।