
बुटवल । एमाले उपाध्यक्ष विष्णु पौडेलले एमालेले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने बताएका छन् ।
एमालेको नेतृत्वबिना देशले सही निकास पाउन नसक्ने भन्दै उनले निर्वाचनको सम्पूर्ण परिणाम आइसकेपछि सरकार गठनका लागि एमालेले अगुवाइ गर्ने बताउनुभयो ।
रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि सोमबार बुटवलमा प्रेस चौतारी रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘बहुमत नपाए पनि एमालेले सरकारको नेतृत्वका लागि अधिकतम पहल गर्ने छ,’ उहाको भनाइ थियो ।
पौडेलले निर्वाचनबाट कसैको बहुमत नआउनु देशका लागि दुर्भाग्यपूर्ण भएको पनि बताएउनुभयो । कुनै दलको बहुमत नआउँदा मुलुक अस्थिरताको चक्रव्यूहमा फस्ने खतरा रहेको उहाँको भनाइ थियो । राजनीतिक स्थायित्व, विकास र समृद्धिका एजेन्डा लिएर एमाले चुनावमा गए पनि सत्ता गठबन्धनको चौतर्फी घेराबन्दीका कारण एमालेको बहुमत आउन नसकेको पौडेलले बताउनुभयो ।
एमालेका शीर्ष नेताहरूलाई पराजित गर्ने योजना रहे पनि त्यो प्रयास सफल नभएको उहाँले बताउनुभयो । ‘एजेण्डाका हिसाबले एमालेले बहुमत पाउनुपर्ने हो तर पाएन, प्राप्त जनादेशलाई हामी स्वीकार गर्दै अगाडि बढ्छौं,’ पौडेलको भनाइ थियो । उहाँले रुपन्देही २ का मतदाताको सल्लाह सुझावलाई आत्मसात गरेर असल जनप्रतिनिधिको भूमिका निभाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
पौडेलले अन्य दलका उम्मेदवारलाई मतदान गर्ने मतदातालाई पनि पराजित भएको महसुस नगर्न आग्रह गर्दै आफू सबैको साझा जनप्रतिनिधि भएर कसैप्रति दूरी नराखी समदूरी राखेर व्यवहार गर्ने बताउनुभयो । पौडेलले निर्वाचनलाई स्वच्छ र निष्पक्ष ढंगले सम्पन्न गर्न सञ्चार क्षेत्रले खेलेको भूमिकाको अविस्मरणीय रहेको भन्दै सराहना गरे ।