जनकपुरधाममा सीताराम विवाह पञ्चमी महामहोत्सवको हर्षोल्लास

[sharethis-inline-buttons]

धनुषा । जनकपुरधाममा जारी रहेको सीताराम विवाह पञ्चमी महामहोत्सवको पाँचौँ दिन आज मटकोर विधि सम्पन्न भएको छ । जानकी मन्दिरबाट माता जानकीको स्वरूपलाई कलात्मक रथमा राखेर नेपाली सेनाको ब्यान्ड र अन्य बाजागाजासहित सुरक्षाकर्मीको सुरक्षा घेरामा जनकपुरधामको प्रसिद्ध गङ्गासागरमा माटो खन्ने गरिन्छ । जसलाई मटकोर विधि भनिन्छ ।

गङ्गासागरमा आयोजना हुने मटकोर विधिमा सहभागी हुन जानकी मन्दिरबाट साधु सन्त, महन्थ, योगी, सन्यासी, भिक्षुभिक्षुणी तथा ठूलो सङ्ख्यामा भक्तजनहरूको सहभागिता रहेको थियो । मटकोर विधिका क्रममा आज ‘सेभ हिस्टोरिकल जनकपुरधाम’ले गङ्गा आरतीको आयोजना गरेको थियो ।

सो अवसरमा महिलाले विभिन्न प्रकारका परम्परागत सांस्कृतिक गीतहरू गाएका थिए । मटकोर विधि हेर्न गङ्गासागर क्षेत्रमा ठूलो सङ्ख्यामा भक्तजनहरूको सहभागिता थियो । मटकोर विधिबाट उत्खनन् गरेर ल्याएको माटोलाई जानकी मन्दिरमा निर्माण गरिने विवाहको मण्डपमा बनाइने विवाहको बेदीमा प्रयोग गरिने चलन छ ।

सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सवअन्तर्गत भोलि सोमबार दिउँसो स्वयंम्बर तथा राति जानकी मन्दिरको परिसरमा निर्माण भएको विवाह मण्डपमा प्रतिकात्मक विवाह हुनेछ । सप्ताहव्यापी विवाह पञ्चमीअन्तर्गत यही मङ्सिर १३ गते रामकलेवा रहेको छ । रामकलेवामा भारतबाट आएका जन्ती तथा सरियातीहरूलाई राखेर प्रसादको रुपमा भोजन गराउने चलन रहेको र सोही दिन जन्तीलाई बिदाइ गर्ने चलन छ ।

रेल सेवा विस्तार

तीर्थयात्रीको सुविधाका लागि जनकपुरधाम जयनगर ब्रोडगेज रेल सेवालाई विस्तार गरेर आजदेखि तीन पटक सञ्चालनमा ल्याइएको छ । सीताराम विवाह पञ्चमीको एक दिन अगाडि आजदेखि रामकलेवासम्म प्रत्येक दिन तीन पटक रेल सञ्चालन गर्ने नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले बताउनुभयो ।

कम्पनीले आइतबार, सोमबार र मङ्गलबार भारतको सिमानामा गर्ने जयनगर रेल्वे स्टेसनबाट कुर्थासम्म बिहान साढे ८ बजे, दिउँसो साढे १२ बजे तथा साढे ३ बजे जनकपुरधामका लागि प्रस्थान गर्ने जनाएको छ ।

जनकपुरधामबाट बिहान १०ः४५ बजे, १ः४० बजे र ५ः१५ बजे जयनगरका लागि छुट्ने प्रबन्ध सञ्चालक झाले बताउनुभयो । जनकपुरधामको कुर्थादेखि जयनगरसम्म ३५ किलोमिटरमा ब्रोडगेज रेल सेवा सञ्चालनमा रहेका छन् । रेल सेवाले भारतबाट आउने तीर्थयात्रीहरूलाई जनकपुरधाम आउनका लागि निक्कै सहयोग मिलेको जनकपुरधाम उपमहानगरपालिका–३ का वडाध्यक्ष दीपेन्द्र साहले बताउनुभयो ।

महोत्तरीको भिठामोड नाकाबाट भारतीय सवारीसाधनबाट आएका तीर्थयात्रीहरूका लागि पर्याप्त मात्रामा बस सेवाको व्यवस्था नहुँदा तीर्थयात्रीहरू कष्टपूर्ण यात्रा गर्न बाध्य भएको साहले बताउनुभयो । विहार राज्यका मुझफरपुर निवासी मोहन यादवले गुनासो पोख्दै भन्नुभयो, “थोरै बस सेवा सञ्चालन भएकाले यात्रीहरूले पर्याप्त सेवा नपाएर दुःख भोग्नु परेको छ ।” कतिपय यात्रीहरू भिठ्ठामोडबाट जनकपुरधामका लागि पैदल नै हिँडेको देखिएको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ निवासी रामानन्द साहले जानकारी दिनुभयो ।


प्रकाशित : २०७९ मंसिर १२ सोमबार