
काठमाडाैं । आइतबार भएको संसदीय निर्वाचनको मतगणना सोमबार देशभरि हुने भएको छ।
निर्वाचन अधिकृतका कार्यालयहरूका अनुसार केही ठाउँमा मत गणना शुरू भइसकेको छ भने केही ठाउँमा सोमबार बिहानदेखि मतगणना सुरू गर्ने तयारी भइरहेको छ।
अहिलेसम्म काठमाडौं- ७, भक्तपुर-२, ललितपुर २ र ३ को मतगणना जारी छ । काठमाडौंका बाँकी ९ वटा क्षेत्रको मतगणना पनि अहिले ८ बजेदेखि शुरू भएकाे छ।
देशका अरू जिल्लामा पनि मतगणनाको तयारी थालिएको छ। कास्कीमा पनि मतगणना शुरू भइसकेकाे छ ।
निर्वाचन आयोगको प्रारम्भिक विवरणअनुसार यसपटक ६१ प्रतिशत मतदान भएको छ। यो निर्वाचन आयोगको अपेक्षाभन्दा कम हो।
निर्वाचन आयोगक अनुसार गणना शुरू भइसकेका केही स्थानमा प्रारम्भिक नतिजा आउने क्रम जारी छ ।
ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेले सुरुवाती अग्रता बनाएको छ । जारी मतगणनामा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले ११७ मत पाएका छन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादी पार्टीका कृष्णलाल महर्जनले ७७ मत पाएका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले ९० मत पाउँदा राप्रपाका उम्मेदवारले ७६ मत पाएका छन् ।
हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ९७ मत ल्याएका छन् ।