‘एजेन्डा’सहित खुल्ला बहसका लागि आउन विपक्षी उम्मेदवारलाई मन्त्री कार्कीको चुनौती

[sharethis-inline-buttons]

सुनसरी । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘एजेन्डा’सहित खुल्ला बहसका लागि आउन विपक्षी उम्मेदवारलाई चुनौती दिनुभएको छ ।

सुनसरीमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा मन्त्री कार्कील विपक्षी दलका उम्मेदवारप्रति लक्षित गर्दै व्यक्तिगत लाञ्छना लगाउने कार्य तत्काल बन्द गरेर एजेन्डासहित खुल्ला बहसका लागि आउन चुनौती दिनुभयो ।

चुनावी एजेन्डा नभएका केही उम्मेदवारले सुनसरी क्षेत्र नं ४ मा आफ्नो पहल र प्रयासमा भएको विकास निर्माणका कार्य देखेर आत्तिएको र डराएकोसमेत उहाँले बताउनुभयो । कोरोना महामारीका बाबजुद आफ्नो पहल र प्रयासले भएको विकास निर्माणबाट विपक्षी हतोत्साहित भएको उहाँको भनाइ थियो ।

लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सुनसरी क्षेत्र नं ४ का उम्मेदवारसमेत रहनुभएका मन्त्री कार्कीले मङ्सिर ४ गते हुने निर्वाचनमा आफ्नो प्रतिस्पर्धी कोही नभएको जिकिर गर्नुभयो ।

गत वर्ष निर्वाचनमा आफू यस क्षेत्रका लागि नयाँ व्यक्ति भएका बेला यस क्षेत्रका जनताले पाँच हजारभन्दा बढी मतले विजयी गराएको उल्लेख गर्दै उहाँले अब आफूले यस क्षेत्रमा गरेको विकास निर्माणको कार्यका अधारमा यस क्षेत्रका जनताले १५ हजारभन्दा बढी मतले विजयी गराउनेमा आफू विश्वस्त भएको बताउनुभयो ।

यस क्षेत्रबाट विजयी भएको अवस्थामा संसद्मा ताली बजाउने वा गुनासोबारे ध्यानाकर्षण गराउने नभई जनसरोकारका विषयमा प्रत्यक्ष तवरबाट निर्णय लिनसक्ने वा गराउन सक्ने पहुँच राख्ने उहाँले जानकारी दिनुभयो । विसं २०७४ मा आफूले प्रतिबद्धता गरेकोमध्ये ८० प्रतिशत कार्य पूरा गरेको भन्दै उहाँले अबको आफ्नो योजना स्वास्थ्य, शिक्षा क्षेत्रमा सुधार गरी गरिबी र बेरोजगारी हटाउनेतर्फ केन्द्रित रहेको बताउनुभयो ।


प्रकाशित : २०७९ कार्तिक १४ सोमबार