फूल खेतीकाे व्यवसायिकरणमा कञ्चनपुरका युवा

[sharethis-inline-buttons]

धर्मराज कठायत
कञ्चनपुर ।
जिल्लामा पहिलो पटक ठूलो परिमाणमा पुष्प व्यवसाय शुरु गरिएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका कर्मचारीहरुले पुष्प व्यवसाय शुरु गरेका हुन् ।

फूल भन्ने बित्तिकै मान्छेको मन लोभिनु स्वभाविक हो ।  बढ्दो शहरीकरणसँगै गमला र कौसीमा सिमित भएको फूललाई पछिल्लो समय युवाहरुले व्यावसायिक रुपमा लगाउन शुरु गरेका छन् । विभिन्न उत्सव तथा कार्यक्रमहरुमा फूलको माग बढ्न थालेसँगै यसको व्यवसायिकरणमा युवाहरु जुटेका छन् ।

पुष्पखेतीलाई व्यवसायिकरण गर्न कञ्चनपुरको कृषि ज्ञान केन्द्रमा कार्यरत चार जना युवा कर्मचारीहरु मिलेर पुष्प व्यवसायमा लागि परेका छन् । कृषि पेसा गर्न पढे लेखेका र कुनै सरकारी जागिरले छेक्दैन भन्ने उदाहरण बन्न सफल ज्ञान केन्द्रका चार जना कर्मचारीहरुले कञ्चनपुरको भीमदत्त १० तिल्केनीमा २ विगाह जग्गा भाडामा लिएर फूल खेती सञ्चालन गरेका हुन् ।

पहिलो पटक कर्मा ५५५ र कलकत्ते ओरेन्ज जातको फूल खेती गरिएको तथा तिहार र आउदै गरेको निर्वाचन अनि मंसिरमा हुने विवाहलाई मध्यनजर गर्दै आम्दानी गर्ने लक्ष्य लिएको पुष्प व्यवसायी कृषि ज्ञान केन्द्रका प्रविधिक सहायक जनक बहादुर सिंहले बताउनुभयो।

अन्य बालीभन्दा कम लगानीमा बढी फाईदा गर्न सकिने भएकाले कृषि ज्ञान केन्द्र कञ्चनपुरका बागवानी विकास अधिकृत आशिष पाठक, कृषि प्रसार अधिकृत कमल नयन पन्त र वाली विकास अधिकृत जागृत खनाल मिलेर फूल खेती सञ्चालन गरिएको समेत उहाँले बताउनुभयो । फूल खेती सञ्चालन गर्न कृषि विकास निर्देशनालयको समेत सहयोग रहेको समेत उहाँको भनाइ रहेको छ ।

करिव २० देखि २५ लाखसम्मको आम्दानी गर्ने लक्ष्यका साथ सञ्चालन गरिएको १२ देखि १५ हजार विरुवा रोपिएको सिंहले बताउनुभएको छ । विशेष गरी धनगढी र महेन्द्रनगरको बजारलाई मध्यनजर गरेर फूल खेती गरिएको समेत उहाँले बताउनुभएको छ ।

पढे लेखेका शिक्षित युवा र कुनै सरकारी जागिरमा लागेकाहरुको कृषि प्रतिको रुचि घट्दै गएका बेला युवा कर्मचारीहरुले गरेको कृषि व्यवसाय भावी युवा पुस्ताका लागि उदाहरण बन्न सक्छ। यसरी शिक्षित बेरोजगार युवाहरुले समेत कृषि पेशालाई व्यवसायकिरण गर्दै कृषि योग्य जमिनको सदुपयोग गर्ने हो भने बेरोजगारीको समस्या समाधान भइ देशको अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुग्न सक्ने देखिन्छ।


प्रकाशित : २०७९ आश्विन ३१ सोमबार