निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्न उम्मेदवारहरुलाई आयोगकाे आग्रह

[sharethis-inline-buttons]

काठमाडाैं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्न उम्मेदवारहरुलाई आग्रह गरेको छ । राजनीतिक दलका उम्मेदवारहरु तथा स्वतन्त्र उम्मेदवारहरुले चुनाव प्रचारप्रसार गरेको उजुरी परेसँगैै आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सचेत गराएको हो ।

निर्वाचन आचारसंहीता कन्द्रिय अनुगमन समितिका संयोजकसमेत रहनुभएका आयुक्त रामप्रसाद भण्डारीले आचारसंहीताअनुसार निर्वाचन हुने दिनभन्दा १७ दिन अगाडीदेखि (कार्तिक १८ गतेदेखि) मात्रै प्रचारप्रसार गर्न पाइने बताउनुभयो । आयुक्त भण्डारीले उम्मेदवारहरुले घरदैलो कार्यक्रम गर्न पाउने र त्यसमा २५ जनाभन्दा बढी सहभागि हुन नपाउने प्रावधानलाई पनि पालना गर्न सचेत गराउनुभयो ।

घरदैलोमा बाजागाजा र तामझाम गरिरहेको उजुरी आयोगमा परेको भन्दै उहाँले त्यस्ता कार्य नगर्न आग्रह गर्नुभयो । घरदैलोमा तामझाम र बाजागाजा गर्नुपनि आचारसंहिता विपरित हुने उहाँको भनाइ छ । आचारसंहीताको परिधिभित्र बसेर कानूनी सजाय नपाउनेगरी घरदैलो गर्न उहाँले उम्मेदवारहरुलाई आग्रह गर्नुभयो ।

उहाँले उम्मेदवारहरुले आफू राम्रो र अरु नराम्रो भनि प्रचारप्रसार गर्न नपाइने उल्लेख गर्नुभयो । उम्मेदवारहरुलाई आफ्नो घोषणापत्र अनुरुप र आफूले गर्ने कामहरुको मात्रै प्रचारप्रसार गर्न उहाँको सुझाव छ । अरु दल र स्वतन्त्र उम्मेदवारहरु नराम्रो भनि प्रचार गर्न नपाइने उहाँले उल्लेख गर्नुभयो । आयुक्त भण्डारीले प्रचारप्रसारको क्रममा आचारसंहीता उल्लंघन भएमा आयोगले उम्मेदवारको मनोनयनपत्र खारेजसम्म गर्नसक्ने बताउनुभयो ।

आयुक्त भण्डारीले आयोगले हालसम्म दर्जनौँ उम्मेदवारहरुलाई स्पष्टीकरण सोधिसकेको जानकारी दिनुभयो । स्पष्टीकरण चित्तबुझ्दो नभएमा थप कानूनी कारबाही अगाडी बढाइने र आचारसंहीता पालना गराउने सन्दर्भमा आयोग निर्मम र निर्दयी भएर अघि बढ्ने स्पष्ट पार्नुभयो ।

 


प्रकाशित : २०७९ आश्विन ३१ सोमबार