
जनकपुरधाम । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी (जसपा)का शीर्षनेताहरूले उम्मेदवारी दर्ता गराउनुभएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुरले महोत्तरी क्षेत्र नं ३ बाट उम्मेदवारी दिनुभएको छ भने जसपाका अध्यक्ष उपेन्द्र यादवले सप्तरी क्षेत्र नं २ मा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
जसपाका सङ्घीय परिषद् अध्यक्ष अशोक राई सुनसरी निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवार बन्नुभएको छ । पूर्वमन्त्री राजकिशोर यादवले सिरहा–२ बाट उम्मेदवारका लागि मनोनायन दर्ता गराउनुभएको छ । अर्का पूर्वमन्त्री रेणु यादव सिरहा–३ (ख) बाट प्रदेशसभामा उम्मेदवारी दिनुुभएको छ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पनि सोही प्रदेशमै दोहोरिनुभएको छ ।
लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले सर्लाही निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दिनुभएको छ । उक्त क्षेत्रमा गठबन्धनका दुई उम्मेदवार बनेका छन् । सोही निर्वाचन क्षेत्रमा महेन्द्र यादवले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ ।
त्यस्तै शरतसिंह भण्डारीले महोत्तरी क्षेत्र नं २ र लक्ष्मणलाल कर्णले पर्सा क्षेत्र नं १ बाट उम्मेदवारी दिनुभएको छ । सप्तरी क्षेत्र नं २ मा जयप्रकाश ठाकुरले उम्मेदवारी दर्ता गराउनुभएको छ । उक्त क्षेत्रमा जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार हुनुहुन्छ । बारा क्षेत्र नं ३ बाट प्रमोद गुप्ताले टिकट पाउनुभएको छ । लोसपाले सत्ता गठबन्धनसँग तालमेल गरेको छ ।
त्यसैगरी सङ्घीय मन्त्रीद्वय प्रदीप यादवले पर्सा–१ र मोहम्मद इस्तियाक राईले बाँके–२ बाट उम्मेदवारी दिनुभएको छ । महोत्तरी क्षेत्र नं ४ बाट डा सुरेन्द्र यादवले टिकट पाउनुभएको छ । जसपाले नेकपा ९एमाले०सँग तालमेल गरेको छ ।