प्रतिनिधि सभा र प्रदेशसभाको उम्मेदवारी दर्ता असोज २३ मा, यस्ताे छ कार्यतालिका

[sharethis-inline-buttons]

काठमाडाैं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत निर्वाचन आयोगले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ उम्मेदवारको मनोनयनपत्र दर्ताका लागि समय तोकेको छ।

आयोगका अनुसार प्रत्यक्षतर्फ उम्मेदवार हुन चाहनेहरूले यही असोज २३ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी दर्ता गर्न सक्नेछन्।

असोज २३ गते नै साँझ ५ बजेदेखि ७ बजेसम्म मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको सूची प्रकाशन गरिने आयोगले जनाएको छ।
आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार असोज २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय उम्मेदवारको विरोधमा उजुरी दिनका लागि तोकिएको छ।

यस्तै असोज २४ र २५ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णयका लागि समय तोकिएको छ। आयोगका अनुसार असोज २५ गते साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशनका लागि समय तोकिएको छ।

असोज २६ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय उम्मेदवारी फिर्ता लिने चाहनेका लागि छुट्याइएको छ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्मको समय उम्मेदवारको अन्तिम नामावली प्रकाशनका लागि तोकिएको आयोगले जनाएको छ।

आगामी मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चयनका लागि एकसाथ चुनाव हुँदैछ।


प्रकाशित : २०७९ आश्विन १९ बुधबार