विजया दशमी : मान्यजनबाट विजयकाे प्रतीक टीका तथा आशिर्वाद प्राप्त गर्ने दिन

[sharethis-inline-buttons]

काठमाडाैं । नेपाली समाजमा उच्च महत्वका साथ मनाइने महान् पर्व बडा दशैंको दशौं दिन आश्विनशुक्ल दशमी तिथिमा शक्ति स्वरुपा भवानी दुर्गामाताको प्रसाद टीका लगाइँदै छ ।

दशैंको दशौं दिन माता सिद्धिदातृको पूजाआजा गरी देवी पूजा विसर्जन गरिन्छ । माता सिद्धिदातृलाई विजय र दानकी प्रतीक मानिएको छ । उनको वदन वर्ण खैरो रहेको छ । विद्या, ध्यानसाधना कलासाधकहरुले नित्य सिद्धिदातृ देवीको पूजा गरिरहेका हुन्छन् । देवता, सिद्ध, गन्धर्व, यक्ष, असुर लगायतले आफ्नो कार्यसिद्धिका लागि सिद्धिदातृदेवीको आराधना गर्दछन् ।

भगवान शंकरले माता सिद्धिदातृको पूजाआराधना गरी आफ्नो शरीरको देब्रपट्टि देवीलाई उत्पन्न गराई अर्धनारीश्वर बन्न सफल भएको शास्त्रहरुमा उल्लेख छ ।

भगवान श्रीरामले शारदीय नवरथामा देवीका विभिन्न स्वरुपको पूजाआराधना तथा शक्ति साधना गरी आसुरी वृत्तिका रावणमाथि विजय प्राप्त गरेको उल्लेख छ ।

नवरात्रको अन्तिम दिन आदिशक्ति भगवतीमाता सिद्धिदातृ, विजया वा अपराजिताको भक्तिपूर्वक पूजा गरिन्छ । गुह्यरुपमा समेत पूजा आराधना गर्न आह्वान गरिएकी देवीलाई दशैंको दशौं दिन विधिपूर्वक बिदा गरिन्छ ।

देवी विसर्जन गर्दा नवरात्रभर देवीपूजनमा प्रयुक्त टीका वितरण गरी निधारमा लगाउने र नौ दिनदेखि जमाइराखिएको जमरालाई सिद्धिको प्रसाद मानेर शिरमा लगाउने गरी देवीमन्दिर तथा कोटघरमा बाँडिन्छ । कतै कोटको मौलामा टीका लगाइदिने र पछि त्यसैबाट आफूले लगाउने पनि चलन छ । कोटबाट प्राप्त देवीप्रसाद घरघरमा लगी दशैंघरका जमरा र टीकामा मिसाइन्छ । घटस्थापनाको घडाबाट जलअभिषेक गरी घरका ठूलाबडा वा जेठासदस्यबाट टीका लगाइदिने गरिन्छ ।

शुभसाइतमा देवी प्रसाद टीका लगाएपछि शिरमा पहेंला जमरा सिउरिदिने र शिरमा हात राखेर ठूलाबडाले आशीर्वाद दिने गरिन्छ । यसरी आशीर्वाद दिंँदा पुरुषलाई ..आयु द्रोण सुते …मन्ने मन्त्र उच्चारण गरिन्छ भने नारीलाई आशीर्वाद दिंँदा जयन्ती मंगला काली ..भनेर सुखसमृद्धि, सुसन्तान,ज्ञान,विद्या र दीर्घायुको आशिष दिइन्छ । टीकाका दिन अस्त्रशस्त्रको आधार वृक्ष शमी दर्शन गर्ने परम्परा छ । शमीवृक्षमा देवीदेवताले हतियार थन्क्याउने विश्वास गरिन्छ ।

दशैंको टीकाजमरा लगाई आशिर्वाद लिने दिने क्रम दशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगातार चलिरहन्छ ।


प्रकाशित : २०७९ आश्विन १९ बुधबार