नवरात्रकाे छैटाैं दिन : माता कात्यायनीकाे पूजा आराधना गरी मनाइँदै

[sharethis-inline-buttons]

काठमाडाैं । नेपाली समाजमा भव्यताका साथ मनाइने महान् पर्व बडा दशैंको छैटौं दिनकी देवी माता कात्यायनीको पूजाआजा गरिन्छ ।
माता कात्यायनीलाई साहसको प्रतीक मानिन्छ ।

यज्ञयज्ञादि दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृतिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको ग्रन्थहरुमा उल्लेख छ ।

देवकार्य सिद्ध गर्नका लागि माता भवानी स्वयंम् कात्यायन ऋषिको आश्रममा पैदा भएकी थिइन् । तत्पश्चात उनले कात्यायन ऋषिकी पुत्री हुन स्वीकार गरेकी थिइन् । राजर्षि जनककी पुत्री जानकी भएझैं कात्यायन ऋषिकी पुत्री कात्यायनी नामले लोकमा प्रसिद्ध भएकी हुन् । माता कात्यायनीको वदन वर्ण सुन्तला रङको रहेको वर्णन गरिएको छ ।

उनले हातमा चम्किलो खड्ग धारण गरेकी छन्, उनको यो शस्त्रलाई चन्द्रहास खड्ग भनिन्छ । अतिशक्तिशाली सिंहमा चढेर देवी कात्यायनीले दानवको वध गरेको देवीभागवत लगायतका ग्रन्थमा उल्लेख गरिएको छ ।

देवी कात्यायनी माता पार्वतीको सौर्य अवतार मानिन्छ । देवी कात्यायनीको पूजाआराधनाका लागि आज देवीमन्दिर, शक्तिपीठ तथा दशैंघरहरुमा भक्तहरुको उपस्थिति रहेको छ ।

 


प्रकाशित : २०७९ आश्विन १५ शनिबार