मनाश्लु हिमपहिराेमा बेपत्ता एकजनाकाे शव फेला

[sharethis-inline-buttons]

काठमाडौं । मनास्लु हिमाल आरोहणका क्रममा बेपत्ता भएकामध्येका एकजनाको शव भेटिएको छ ।

मृत्यु हुनेमा सतुरी एक्स्पिडिशन प्रालिका आरोहण सहयोगी अनुप राई रहेको जनाइएको छ ।

प्रहरीकाअनुसार बिहान ११ बजे मनास्लु हिमाल आरोहण गर्नेक्रममा ५ जनाको आरोहण टोली हिमपहिरोमा परेको थियो।

पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले मनास्लु आधारशिविरमा हिमपहिरो गएको र सो घटनामा १२ जना घाइते भएको जानकारी दिनुभयो ।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको र ६ जना सामान्य घाइते भएको उहाँले बताउनुभयो । मनास्लु हिमाल आरोहण गरेर फर्कने क्रममा एक विदेशी नागरिक सम्पर्कविहिन भएको पनि उहाँले जानकारी दिनुभयो ।

हिमपहिरोमा परेकाको उद्धारका लागि काठमाडौँबाट तीनवटा हेलिकोप्टर पठाइएको छ । यद्यपि, मौसम खराबीका कारण घटनास्थलमा अवतरण हुन नसकेको र हेलिकोप्टर गोरखाको सामागाउँमा अवतरण गरेको जनाइएको छ ।

मनास्लु हिमपहिरोमा परेकाको उद्धारका लागि जानुभएका मिङ्मा शेर्पाले मौसम खराबीका कारण उद्धारमा कठिनाइ भएको जानकारी दिनुभयो । गोरखाको सामागाउँमा तीन वटा हेलिकोप्टरसहित शेर्पा टोली तयारी अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो ।

चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो गएको बताइएको छ । मनास्लु हिमाल आरोहण गर्न गएका विदेशी र उनीहरुका सहयोगी नेपाली आधार शिविरमा छन् । सेभेन समिट ट्रेकलगायत विभिन्न कम्पनीबाट आरोही मनास्लु गएका हुन् । पर्यटन विभाग पर्वतारोहण शाखाका अनुसार शरद ऋतुको मनास्लु हिमाल आरोहणका लागि ३८ आरोही समूहका चार सय चार आरोहीले आरोहण अनुमति लिएका छन् ।

यो सिजनमा सगरमाथा, मनास्लुसहितका १५ हिमाल तथा चुलि आरोहणका लागि जम्मा ५८ आरोही समूहका पाँच सय ६ जनाले आरोहण अनुमति लिएका छन् ।


प्रकाशित : २०७९ आश्विन १० सोमबार