गोरखा दरबारको दशैंघरमा विधिपूर्वक घटस्थापना

[sharethis-inline-buttons]

गोरखा । कालिका मन्दिरमा रहेको दशैँ घरमा आज विधिपूर्वक जमरा राखिएको छ । बिहान १० बजेर २३ मिनेटको शुभसाइतमा दशैं घरमा जौको जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिनुभयो ।

परम्पराअनुसार बिहान सवेरै मिरमिरे उज्यालोमा देवी भगवतीको सवारी गराएपछि बिहानको शुभसाईतमा कालिका भगवतीको मन्दिरमा दुई पाथी र गोरखनाथ गुफामा एक पाथी जौको जमरा राखिएको उहाँले बताउनुभयो ।

मूल दरबारको कैलास कोठाबाट भित्री बाटो हुदै देवी भगवतीको सवारी गराएर कैलास कोठामा विधिपूर्वक पूजाआजा गरी जमरा राखिएको  र  त्यसअघि मूलदरबारमा पानी घडी थापना गरी घटस्थापना गरिएको प्रमुख भुसालले जानकारी दिनुभयो । गोरखाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दूधर्मालम्बीहरुले जमरा राख्छन् भन्ने धार्मिक मान्यता रहदै आएको छ ।

बडादशैंमा लगाइने टीकासँगै जमरा लगाउँदा शुभ हुने विश्वासका कारण यहाँ प्रत्येक वर्ष जमरा राख्ने गरिन्छ । प्रतिपदा शुरु भएसँगै कालिका मन्दिरमा नियमित कालोे बोकाको बलिदिने प्रचलन छ । यसैगरी गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पनि जमरा राखिएको मन्दिरका मूलपुजारी इन्सान थापाले जानकारी दिनुभयो ।

मनकामना मन्दिरमो मकै र जौको छुट्टाछुट्टै जमरा राखिएको उहाँले बताउनुभयो। परम्परा अनुसार बिगतदेखि नै छुट्टाछुट्टै जमरा राख्नु पर्ने भएका कारण  नित्य पूजा गरी जमरा राखिएको मूलपुजारी थापाले बताउनुभयो । गणेश र कलस स्थापना गरेर दुवै ठाउँमा जमरा राखिएको उहाँको भनाइ थियो ।


प्रकाशित : २०७९ आश्विन १० सोमबार