कविता : राधिका

[sharethis-inline-buttons]

–शेखर पाण्डे
प्रेममाधुर्य बोकेर हिँड्दै वन प्रेमले नै पगाल्छ्यौ तिमी त्यो मन ।
सार सम्पूर्ण हौ ढुक्ढुकी हौ तिमी राधिका कृष्णको जीवनी हौ तिमी ।।१

बाँसुरी उत्ति प्यारो तिमी झन् बढी गोपिनी डाहले जल्दछन् हरघडी ।
प्राणप्यारी बन्यौ के गरी राधिका ? शब्द हुन् कृष्ण, राधा तिमी हौ डिका ।।२

पग्लिँदा झन् बढ्यो प्रेम घट्थ्यो अरु कृष्ण यज्ञाग्नि हुन्, राधिका हौ चरु।
प्रेम नौनी बन्यो पग्लिँला झन् मीठो राधिका कृष्णको प्रेम साँच्चै मीठो ।।३

रागमा हुन्न सम्बन्ध राधा प्रिया भावमा हुन्छ सम्बन्ध राधा प्रिया ।
हुन्छ राधा भए पूर्ण त्यो जीवनी हुन्न राधा नभै पूर्ण त्यो जीवनी ।।४

बाँसुरी, गाई, बाच्छा तिमी साथमा हुन्छ आनन्द राधा मीठो वातमा।
गाई बाच्छाहरु आज जाओ पर लौ न राधा प्रिया बन्द आँखा गर ।।५

प्रेममा आज भिज्नैछ आनन्दले प्रेममा आज डुब्नैछ आनन्दले ।
हर्ष,विस्मात,आश्चर्य हो जिन्दगी राधिके ! रूप, सौन्दर्य हो जिन्दगी ।।६

चम्कियौ चाँदनीझैँ तिमी राधिका आज ब्रह्माण्ड यो सूर्य नै भो फिका।
कृष्ण कुर्दै बसेको छ वृन्दावन राधिका टेकिद्यौ धन्य होस् आँगन ।।७
छन्द : श्रग्विणी
–धुनिवेशी–९, धादिङ्ग


प्रकाशित : २०७९ आश्विन ८ शनिबार