कथा : शिवराम र सिमल छहारी

[sharethis-inline-buttons]

-मोहनप्रसाद मैनाली
चापाखोरी चउर अर्थात् काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित तेमाल क्षेत्रको सबैभन्दा ठूलो दुबैदुबोले भरिएको एक आकर्षक चउर । बीचमा एउटा ज्यादै नै ठूलो सिमलको रूख, अर्को छेउपट्टि प्राथमिक विद्यालय, केही उचाईमा रहेको डाँडामा सरस्वती मन्दिर र वरिपरि सल्लाका रूखहरुले घेरिएको यो चउर सुगम स्थानमा भइदिएको भए ठूलै फुटबल मैदान हुुने थियो होला । तर, यहाँ यो चउर गाईवस्तु चर्ने ठाँउ भएको छ ।

सधैं झैं आज पनि गाईवस्तुहरु आफ्नै धुनमा चरिरहेका छन् । एकजना ज्यादै अग्लो तर ख्याउटे मान्छे त्यहींको सीमलको छहारीमा बसेर केही सोचे झैं सीमलको फूलतर्फ हेरिरहेका छन् । उनी अर्थात् शिवराम माइला । बच्चाहरुका माइला बा, बूढापाकाहरुका माइला, साथीहरुका शिव, दाइहरुका शिवराम र पछाडि कुरा काट्दा शिवे मात्रै । झुस्स दारी पालेकाले होला, उनलाई कसैकसैले दारीवाल पनि भन्छन् क्यारे ! शिवे उर्फ शिवराम आफ्नो विगत सम्झने क्रममा सीमली छायाँमा बसेर टोलाइरहेका छन्, सीमलको फूल हेर्दै ।

सीमलको रुखसँगै सानो डाँडामा रहेको सरस्वती मन्दिरमा बसेर म एकोहोरो शिवरामलाई हेरिरहेको छु । उनको ज्यान हेर्दा लाग्छ– उनी स्वस्थानी कथाका शिव शर्मा ब्राह्मण हुन् । तर, वास्तविकता भने अर्कै छ । आजभन्दा पच्चीस वर्ष अगाडि उनी पन्ध्रवर्षे अल्लारे ठिटा थिए । गाईवस्तु चराउन जान्थे, गोठाल्नीहरुसँग गट्टा, एकखुट्टे र लुकामारी खेल्थे । उनका गोठाला साथीहरु थिएनन् । सबै केटाहरु पढ्न जान्थे । शिवका भने बुबाआमाले सानैमा छाडेर गएकाले उनले विद्यालय जाने मौका नै पाएनन् । उनी त जेठाबाको घरमा हुर्केका थिए । पहिला त जेठाबाका बालबच्चा नभएकाले राम्रैसँग पालेका थिए ।

केही वर्षपछि जेठाबाका पनि छोरा जन्मिएकाले शिवलाई राम्रो गर्न छाडे । शिव पनि पन्ध्र वर्षे केटो भएकाले आफ्नै घरमा एक्लै बस्न थाले । बिहानै उठेर गाईगोठ सफा गर्नु, घाँस काट्नु, दिउँसो गोठालो जानु र खेतीपातीका काम गर्नु दैनिक कार्य थिए । यस्तै काममा व्यस्त हुँदाहुँदै उनलाई आफ्नो उमेर पच्चीस वर्ष भएको पत्तै भएन । तर उनी अझै अल्लारे झैं व्यवहार गर्थे । एक दिन गोठालो लागिरहेका बेला पानी पर्यो, सबैले आ–आफ्ना गाईवस्तु धपाए । चउरको विद्यालय बिदा भएकाले विद्यार्थी थिएनन् ।

गाईवस्तु विद्यालयभित्र थुने । पल्ला गाउँकी दीपा भने त्यहाँ थिइन् । एक छिनपछि जङ्गलबाट शिबु दाइ‘ भन्ने आवाज आयो । शिव झस्कियो, गोठाल्नीहरु तर्सिए । शिवले सोचे दीपालाई चितुवाले चिथोर्यो वा स्यालले लखेट्यो । उनी छिटछिटो त्यतैतिर दगुरे र दीपालाई बोलाए । दीपा निलो मुख लगाउँदै नजिकै आई । शिवले चिच्याउनुुको कारण सोध्यो । दीपाले खरायोको दुलोमा आफ्नो खुट्टा परेको सुनाई र मौन रही । केही बेर दुबैजना पानीमा रुझे र एउटै घुम ओडेर फर्किए । गोठमा गाई बाँधेर शिवराम खाना बनाउन थाले ।

आज उनलाई कराईले हात डाम्यो, आगोले कमिजको फेर पोल्यो, भात खाँदा जिब्रो पोल्यो । त्योभन्दा पनि बढी त दीपाको सम्झनाले मुटु पोल्यो । त्यस रात उनलाई निद्रा परेन । धेरै कोल्टे फर्के । पच्चीस वर्षको जवान भएको महशुुस गरे । दीपासँग बिहे गरेर सुख र रमाइलोसँग जीवन बिताएको कल्पनामा डुब्न थाले । त्यस दिन उनी गोठालो गएनन् । घाँस काटेर वस्तुलाई खुवाए । आफू भने भोकाएको महशुस पनि गरेनन् । यस्तै कल्पनाको तरङ्ग पार गर्दै एक दिन दीपालाई भगाएर बिहे गरे ।

केही समय त दुबै जनाले रमाइलोसँगै दिनहरु बिताए । शिवराम घर बाहिरको काम गर्थे र घरभित्रका कामहरु दीपा गर्थिन् । सुख–दुःख उनीहरुको जीवन चलिरहेको थियो । साँवा अक्षरसम्म पनि नचिनेका शिवरामका वर्षैपिच्छे बच्चाहरु जन्मिन थाले । यो उनको सातौं सन्तान हो । न्वारनका दिन शिवराम आफ्नो बच्चाको मुखै नहेरी बारीमा गए । बिहानभरि बारी खने । घरको बारेमा केही पनि सोचेनन् । बिहानभरिमा एक हलको मेलामा मकै गोडेर सिध्याए । तीनधारेको चिसो र स्वादिलो पानी पिए । केही समय थकाई मारे र घरतिर उकालो लागे । तीन बजे शिवराम घर पुगे । दीपालाई पुलुक्क हेरे । भएको पकाएर दीपा र बच्चाहरुलाई खुवाए । उनलाई त अलिकति भाग पनि बचेन ।

एकछिन त आफैसँग रिसाए पनि तर, तीनधारेको पानीले पेट भरेको कुरा सम्झे अनि चुपचाप सोचमग्न भए । हरेक बेलुका उनको पेटमा मुस्किलले एक मुठ्ठी अन्न पथ्र्यो भने दिउँसो तीनधारेको पानीले साथ दिन्थ्यो । यस्तै गरेर उनको जीवन चलिरहेको थियो । समयको लगामले मान्छेलाई नियन्त्रण गर्छ भन्छन् तर शिवरामलाई समयले गरेन । उनको दसौं सन्तानले पनि पाइला टेकिसकेको थियो । वर्षैपिच्छे बच्चा जन्माउँदा र पेटभरि खान पनि नपाउँदा दीपाको ज्यान सुक्दै गएको थियो ।

शिवले दीपालाई मिठोमसिनो केही पनि ख्वाउन सकेनन् । दीपाको मलिन अनुहार र शिवप्रति देखाएको सदभावले शिवको मन नराम्रोसँग कुँडिन्छ । उनले मनमनै सोचे– यावत् जीवेत् सुखं जीवेत् ऋण कृत्वा घृतं पिवेत् । शिव आफ्नी दीपाका लागि घिऊ खोज्न गाउँतिर हिँडे तर उनको गरिबीको फाइदा मात्र उठाए सबैले, कसैले पनि घिऊ दिएनन् । शिवराम त्यसै फर्किए । दीपालाई सान्त्वना दिए । उनले मुख मिठो बनाइन् तर पेट भोकै थियो । बच्चाहरु भोक लाग्यो भनेर कराउँदै थिए ।
शिवरामले सोचेका थिए– मरेपछि त के हुन्छ–हुन्छ, बाँचुन्जेल एक छाक मीठो खान पनि नपाउने ? ऋण गरेर भए पनि दीपालाई घिऊभात खुवाउँछु । बच्चाहरुलाई राम्रो लगाउन दिन्छु, तर उनलाई न त कसैले घिऊ नै दिए न त ऋण नै पत्याए । समयले शिवरामलाई यसरी खेलाइदियो, जसरी आफ्नो पञ्जामा परेको मुसालाई बिरालाले खेलाईखेलाई मार्ने गर्छ । मध्याह्न भइसकेको थियो ।

शिवराम सीमलको छहारीबाट जुरुक्क उठे, सरासर डाँडाबारीमा झरे र मकै गोड्न थाले । उनलाई कोदालाले पनि धोका दियो, गोडामा दुई इन्च जति गहिरो घाउ बनाइदियो । उनी बारीको डिलमा थचक्क बसे । रगत रोक्ने कोसिस् नै गरेनन्, भल्भल्ती बग्यो रगत । केही बेरपछि आफै रोकियो रगत । एक मेलो मकै गोडेर घर फर्किन खोजेका थिए तर बाख्रा पनि भोकै हुने सम्झिएर एक अँगालो तिमिलाको स्याउला बोके र घरतिर लागे ।

आँगनमा स्याउला बिसाए । झमक्कै साँझ परेकाले ढोकाबाट उनका आँखा सिधै चुल्होमा परे । आगो बलिरहेको देखे र मनमनै खुशी भए । थपक्क भित्र पसे, बल्ल चाल पाए– त्यो खुसी होइन रहेछ, अँगेनाको छेउमा बालबच्चासहित दीपा बसेकी रहिछन् । बच्चाहरु झगडा गर्दैछन् । कोही मझेरीमा यत्रतत्र निदाइरहेका छन् । दीपाले एक पल्ट शिवरामको मुखमा पुलुक्क हेरिन् र आफ्नो पेटतिर इशारा गर्दै सृष्टिको जगतमा आफ्नो नयाँ सन्तानले पाइला टेक्नै लागेको सांकेतिक भाषा बोलिन् ।

शिवराम केही बोलेनन् । फरक्क फर्किए र बाहिर आए । पिँढीमा बसे, आकाशतिर हेरे र आँखा चिम्लिए । शायद उनी सोच्न थाले होलान् विगत र कल्पना गर्न थाले होलान् भविष्यको । शिवराम आजभोलि पनि सीमलको छहारीमा बसेर एक्लै टोलाइरहन्छन् उसैगरी ।


प्रकाशित : २०७९ आश्विन ८ शनिबार