संगीतकार शुभबहादुर सुनामकाे ७४ वर्षकाे उमेरमा निधन

[sharethis-inline-buttons]

काठमाडौं । कुशल संगीतकार तथा स्याक्साेफोन वादक शुभबहादुर सुनामको निधन भएको छ । उहाँको सोमबार बिहान बिहान पौन पाँच बजे उपचारका क्रममा अस्पतालमा निधन भएको हो ।

आईतवार राती अचानक लगातार खोकी लागेपछि उहाँलाई छाउनीस्थित सैनिक अस्पतालमा पुर्याइएको थियो । शुभबहादुरका नाती युवा संगीतकार तथा संगीत संयोजक एलिश कार्कीका अनुसार शुभबहादुरको रक्तचाप बढेको पाइएको थियो। मृगौला रोगसँग जुध्दै आउनुभएका शुभबहादुर केही समयदेखि डायोलोसिस् गर्दै आइरहनुभएको थियो ।

अन्तिम संस्कारका लागि शुभबहादुरको शव पशुपति आर्यघाट पु¥याईंदैछ भने अन्तिम श्रद्धाञ्जलिका लागि उनको पार्थिव शरीरलाई केही घन्टा आर्यघाटमा राखिने छ ।

७४ वर्षीय शुभबहादुरले ११ वर्षकै कलिलो उमेरमा नेपाली सेनामा ब्वाईज दर्जामा जागिर शुरु गरी जर्नेलसम्म हुनुभएको थियो । उहाँ सैनिक व्यान्डमा रही वाद्यवादन तथा संगीत सिर्जनका कार्यमा समर्पित हुनुहुन्थ्यो ।

रेलीमाई रेलीमाई, फुलै फुलको मौसम तिमीलाई, पिरती बस्योजस्ता गीतका संगीतकार शुभबहादुरले एक सयभन्दा बढी आधुनिक तथा एक दर्जन जति फिल्मी गीतमा संगीत सिर्जना गर्नुभएको छ ।

शुभबहादुर स्याक्साफोन वादनका लागि परिचित हुनुहुन्थ्यो । ६ महिनाअघि मात्र पत्नीशोक व्यहोर्नुभएका उहाँको परिवारमा दुई छोरा एक छोरी छन्।


प्रकाशित : २०७९ आश्विन ३ सोमबार