नेपाल एयरलाइन्सको अध्यक्षले संस्थालाई तहसनहस बनाए : उड्डयनमन्त्री

[sharethis-inline-buttons]

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल एयरलाइन्सको अध्यक्षले संस्थालाई तहसनहस बनाएको आरोप लगाउनुभएको छ ।

बुधवार नेकपा (एकीकृत समाजवादी) केन्द्रीय पर्यटन विभागले काठमाडौंमा आयोजना गरेको ‘पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको समस्या र चुनौतीहरु’ विषयक गोष्ठीमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो ।

उहाँले एयरलाइन्सले सबै आन्तरिक तथा वाह्य जहाजहरुलाई उडान गर्न नसकेको बताउनुभयो । एयरलाइन्सको अध्यक्षले जहाजको इञ्जिन बिग्रियो भनेर इञ्जिन भाडामा ल्याउन मात्र रहर गरेको र इञ्जिन मर्मतमा ध्यान नदिएको उहाँको भनाई छ ।

जहाजको टिकटलाई अनलाइन प्रणालीमा लैजान आफूले निर्देशन दिएको भएपनि एयरलाइन्सले हालसम्म टिकटलाई अनलाइन प्रणालीमा नलगेको उहाँले स्पष्ट पार्नुभयो । मन्त्री श्रेष्ठले एयरलाइन्सले मन्त्रालयसँग कुनैपनि समन्वय नगरेको भन्दै यसरी संस्था चलाएमा एयरलाइन्स समाप्त हुने बताउनुभयो ।

मन्त्री श्रेष्ठले नेपाललाई बाह्रै महिना पर्यटकीय देशको रुपमा प्रचार गर्नुपर्ने बताउनुभयो । उहाँले सबैले मार्च, अप्रिल, सेप्टेम्बर र अक्टोबरमा मात्र नेपाल घुम्न सकिने भनेर प्रचार गर्ने गरिएको भन्दै अबदेखि १२ महिना नै घुम्न सकिने देशको रुपमा प्रचार प्रसार गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री श्रेष्ठले पर्यटकीय क्षेत्रको पूर्वाधार विकासको लागि पनि ध्यान दिनुपर्ने बताउनुभयो ।


प्रकाशित : २०७९ भाद्र १५ बुधबार