–माेहनप्रसाद मैनाली
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको घोषित निर्वाचनको मिति नजिकिदै जाँदा दलहरु उम्मेदवार चयन गर्नमै व्यस्त देखिएका छन् । देशभर एकैदिन सम्पन हुने निर्वाचनका लागि कतिपय दलहरुले उम्मेवारको नाम सिफारिस गरिसकेका छन् भने कतिले सिफारिस प्रक्रिया शुरु गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल तथा वर्तमान संसदमा सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संघ र प्रदेश दुबैका लागि आफ्ना उम्मेदवारहरु सिफारिस गर्न सबै तहमा निर्देशन जारी गरिसकेको छ ।
संघीय निर्वाचनका लागि २ क्षेत्र तोकिएको धादिङ जिल्लामा पनि सबै दलहरुले उम्मेदवार छनोट प्रक्रिया शुरु गरिसकेका छन् । सक्षम, जनाधार भएका र नीति निर्माण तहमा पुगेर जनताका वास्तविक मर्म अनुसार काम गर्न सक्ने नेता छनोट हुनु पर्नेमा स्थानीयहरूले जोड दिइरहेका छन् ।
स्थानीय स्तरमा विकास निर्माण तथा जनताका पिरमर्का सम्बोधन गरी सामाजिक क्रियाकलापमा लामो समयदेखि सम्लग्न हुँदै आउनुभएका नेता सुरेश आचार्यको नाम क्षेत्र नम्बर १ प्रदेश (क) को उम्मेदवारका लागि अग्र स्थानमा रहेको छ ।
स्थानीय स्तरमा ज्यादै लोकप्रिय नेता आचार्य लामो समयदेखि नेकपा एमाले पार्टीमा आवद्ध रही स्थानीय राजनीतिमा क्रियाशील रहनुभएको छ । समयानुकुल विकासका लागि स्थानीय स्तरमा चेतना अभिवृद्धी गर्दै सामाजिक सेवामा समेत क्रियाशील नेता आचार्यलाई स्थानीय जनताकाे चाहना अनुरुप पार्टीले उम्मेदवार चयन गरेको खण्डमा वास्तविक जनप्रतिनिधि पाउन सक्ने स्थानीय बताउँछन् ।
गत स्थानीय तह निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ मा नेकपा एमालेले सबैभन्दा बढी मत प्राप्त गर्न सफल भएको थियो । जस अनुसार एमालेले ३७ हजार ७७८ प्राप्त गरेको थियो भने नेपाली कांग्रेसले २४ हजार ९२५ मत प्राप्त गरेको थियो । त्यस्तै, नेकपा माओवादी केन्द्रले १९ हजार ४२३ र नेकपा (एकीकृत समाजवादी) ले ८ हजार ८३६ मत प्राप्त गरेको थियो ।
आसन्न संघीय निर्वाचनमा जिल्लाकाे निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एमालेका भुमि त्रिपाठी सर्वसम्मत रुपमा उम्मेदवार चयन हुने निश्चित देखिएको छ भने गठबन्धनबाट बाग्मती प्रदेशका वर्तमान मुख्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्रप्रसाद पाण्डे र नेकपा (माओवादी केन्द्र) का शालिकराम जमकट्टेलमध्ये एक जनाकाे सम्भावना रहेको छ।
त्यस्तै, प्रदेशसभा निर्वाचनका लागि क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश (क) मा नेकपा (एमाले) बाट सुरेश आचार्यको नाम करिब पक्का भइसकेको छ भने गठबन्धनबाट कांग्रेसका विश्व अर्याल तथा मधुकुमार श्रेष्ठ मध्ये एक जनाकाे नाम सिफारिस हुन सक्ने देखिएकाे छ।
आसन्न प्रदेशसभा निर्वाचनका लागि क्षेत्र नम्बर १ प्रदेश (क) बाट उम्मेदवारी चयनका लागि नेकपा (एमाले) का आचार्यभन्दा बढी लाेकप्रिय र जनाधार भएका तथा पार्टीमा लामाे समयदेखि क्रियाशील नेता नदेखिएकाले पार्टीले उहाँलाई नै निर्विकल्प उम्मेदवार चयन गर्ने स्थानीय कार्यकर्ताकाे दाबी छ।
आफ्नाे निर्वाचन क्षेत्रमा मात्रै नभइ जिल्लाभरका स्थानीय किसान, श्रमिक तथा मजदुरहरूमा परिचित र लाेकप्रिय नेता आचार्य पार्टीकाे जिल्ला सचिवालय सदस्यसमेत हुनुहुन्छ । पार्टीकाे आठाैँ महाधिवेशन प्रतिनिधसमेत रहिसक्नुभएका आचार्य पार्टीद्वारा सञ्चालन हुने हरेक गतिविधिमा सक्रिय रूपमा सम्लग्न भइ पार्टीद्वारा निर्देशित कार्यहरू स्थानीय स्तरमा कार्यान्वयनका लागि दत्तचित्त भएर लागिरहनु भएकाे छ ।
हाल धुनिवेशी ६ का स्थायी बासिन्दा रहनुभएका आचार्य भुगाेलले चिनेका नेतामा पर्नु हुन्छ भने स्थानीयले प्रखर वक्ताका साथै इमान्दार र जनताकाे मर्म बुझेर काम गर्न सक्ने सक्षम नेताका रूपमा अघि सारेका छन्। जिल्लाभर विकासप्रेमी तथा श्रमिक, किसान र मजदुरका प्रतिनिधिकाे रूपमा ख्याति कमाउनुभएका नेता आचार्यलाई प्रादेशिक स्तरकाे नीति निर्माण तहमा पुग्नै पर्ने नेताका रूपमा हेर्ने गरिएकाे छ ।