काठमाडौं । नेकपा एकीकृत समाजवादी पुनर्गठन भएको एक वर्ष पूरा भएको छ । एकीकृत समाजवादीले गत वर्ष भदौ ९ गते निर्वाचन अयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको थियो । उक्त दिन अर्थात भदौ ९ गतेलाई एकीकृत समाजवादीले पार्टी पुनर्गठन दिवसको रुपमा मनाउने भएको छ।
दिवसको अवसरमा बिहीवार नयाँ बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा विशेष कार्यक्रमको आयोजना हुने भएको छ ।
बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बिहीबार दिउँसो १ बजे बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा पुनर्गठन दिवस मनाउन लागिएको जानकारी दिनुभयो ।
उहाँले आफूहरुको पार्टी पुनर्गठन पश्चात पहिलो परिणाम प्रतिगमनकारी एमालेको झुण्डलाई सत्ताबाट झारेको र लोकतान्त्रिक शक्तिलाई एक ठाउँमा उभ्याएर संविधान जोगाएको बताउनुभयो ।
साथै देशभरीका लोकतान्त्रिक, समाजवादी शक्तिहरुलाई एक ठाउँमा उभ्याएर, जुटाएर नेपालको संविधानलाई जोगाउने, राजनीतिक स्थायित्व प्रदान गर्ने काम गरेको समेत उहाँले दाबी गर्नुभयो । आफूहरुले गरेका त्यही प्रयासका कारणले आउँदो मंसिर ४ गते देशभर आम निर्वाचन र प्रदेश सभाको निर्वाचन हुन लागेको उहाँको जिकिर थियो ।
प्रवक्ता खतिवडाले पार्टीले हालसम्म ५ लाख सदस्यता वितरण गरिसकेको दाबी पनि गर्नुुभयो । २ लाख भन्दा बढी सदस्य पार्टीका विभिन्न कमिटीमा आवद्ध भइसकेको पनि उहाँले जानकारी दिनुभयो । त्यस्तै पार्टीको निर्वाचन चिन्ह कलमको व्यापक प्रचार–प्रसार भइसकेको उहाँको भनाइ थियो ।
पार्टी पुनर्गठन दिवसका अवसरमा काठमाडौंमा राखिएको कार्यक्रममा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसहित शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ।
गत वर्ष नेकपा एमालेबाट विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा भदौ २ गते निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएकोमा भदौ ९ गते सो पार्टीले दर्ता प्रमाणपत्र पाएको थियो।