काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो काम गर्नेलाई दण्डित गर्नुपर्ने बताउनुभएको छ ।
सोमवार गत स्थानीय निर्वाचनमा पार्टीमाथि अन्तर्घात गर्ने नेताहरुको छानबिन गर्न गठित टंक राई नेतृत्वको समितिको प्रतिवेदन बुझ्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो ।
उहाँले पार्टीलाई अनुशासनमा चलाउनका लागि समिति गठन गरेर अन्तर्घातको छानबिन गरिएको बताउनुभयो । उहाँले राम्रो काम गर्नेलाई प्रोत्साहित गर्ने र नराम्रो काम गर्नेलाई दण्डित नगर्ने हो भने पार्टी कम्युनिष्ट पार्टी जस्तो नरहने बताउनुभयो ।
अध्यक्ष दाहालले पार्टीलाई विधिसम्मत् रुपमा चलाउने पनि बताउनुभयो ।
उहाँले छानबिन समितिले विभिन्न नेता कार्यकर्तालाई निलम्बन, निष्काशन र चेतावनी दिनुपर्ने निस्कर्ष निकालेको भन्दै प्रतिवेदनको सम्बन्धमा पार्टीको पदाधिकारी र स्थायी कमिटी बैठकमा छलफल गरेर आवश्यक कारबाही गरिने बताउनुभयो ।