सुनसान प्रदीप गिरीको आश्रम, पैतृक घर जीर्ण

[sharethis-inline-buttons]

काठमाडाैं । आइतबार दिउँसो १ बजेको टन्टलापुर घामलाई छिचोल्दै सिरहाको बस्तीपुर पुग्दा गाउँमा सन्नाटा छाएको थियो । लहान बजारदेखि करिब ६ किलोमिटरको दुरीमा रहेको बस्तीपुर काँग्रेस नेता प्रदीप गिरिको शोकमा डुबेको थियो । कोही राम्ररी बोल्न सक्ने अवस्थामा थिएनन । उनीहरुका आँखा ओभाना थिएनन् ।

समाजवादी चिन्तक स्व गिरिको पुख्र्याैली घर पुग्दा ढोका बन्द थियो । उनको पैतृक घर जीर्ण अवस्थामा थियो । उक्त पक्की घर गिरिका बुवा स्व मित्रलाल गिरिले बनाएका हुन् । घरको माथिल्लो भागमा बिरुवासमेत उम्रिएका छन् । सबै आफन्त राजधानी काठमाडौँ र विराटनगरमा बस्न थालेपछि पैतृक घर जीर्ण बनेको गाउँलेले बताए ।

“दाजुभाइहरु धेरै पहिलादेखि नै बाहिरै बस्न थाल्नुभएको छ”, स्थानीय चेतबहादुर भुजेलले भने, “घरको स्याहार गर्ने कोही हुनुहुन्न, उहाँका आफन्तहरुले पनि धेरै पहिला नै गाउँ छोडिसक्नुभएको छ ।” पुख्र्यौैली घरमा स्व गिरिकी बहिनी डा मन्जुला गिरि कहिले काँही आएर बस्ने गरेको उनले बताए । “घरको स्याहार हुन सकेको छैन”, भुजेलले भने ।

पञ्चायतकालमा गाउँको पञ्चायत गर्न स्व गिरिका बुवा मित्रलालले बनाएको ऐतिहासिक कचहरी घर संरक्षणको पर्खाइमा छ । स्व गिरिले पैतृक घर छाडेर गाउँ नजिकैको खुट्टी खोला किनारमा आश्रम बनाएर बस्दै आएका थिए । कुनै बेला गाउँका नेता कार्यकर्ताको बाक्लै उपस्थिति रहने उक्त आश्रममा आज दिउँसो पुग्दा सुनसान थियो ।

सिरहा क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित स्व गिरिले शान्त रुपमा बस्न र थकाइ मेटाउन गाउँ नजिकै उक्त आश्रम बनाएको स्थानीयले बताए । मूल व्यक्ति नै सदाका लागि छाडेर गएपछि आश्रममा बस्दै आएकाहरु शोकमा डुबेका थिए । शुभेच्छुक तथा नेता कार्यकर्ता स्व गिरिलाई श्रद्धाञ्जली दिन राजधानीतर्फ हिँडेका आश्रममा बस्दै आएका दीप परियारले बताए ।

“प्रदीप सर यहाँ हुँदा दिनहुँ भीड लाग्थ्यो । उहाँको निधनको खबर सुनेपछि यहाँका धेरै व्यक्ति गए राति नै राजधानी गइसक्नुभयो”, उनले भने, “उहाँ आएको खबर पाउने बित्तिकै गाउँले तथा विभिन्न पार्टीका नेता कार्यकर्ता भेट्न आश्रममा आउनुहुन्थ्यो ।

करिब ६ बिघा क्षेत्रफलमा फैलिएको उक्त आश्रममा स्व गिरिले थुप्रै दलित तथा सुकुम्वासीलाई जग्गा दिएर बसाएका छन् । इट्टाको पर्खाल र जस्ताले छाएको उक्त आश्रममा बसेर नै स्व गिरिले राजनीतिक र सामाजिक गतिविधि गर्दै आएका थिए ।रासस


प्रकाशित : २०७९ भाद्र ६ सोमबार