काठमाडाैं । कांग्रेस नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको शनिबार राति निधन भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत ७५ वर्षीय गिरीको शनिवार राति साढे ९ बजे निधन भएको हो । समाजवादी चिन्तकका रूपमा परिचित गिरी चार दशकभन्दा लामो समयदेखि राजनीतिमा संलग्न थिए ।
स्वास्थ्य अवस्था स्थिर बनेपछि गिरीलाई भेन्टिलेटरमा राखिएको थियो । मेडिसिटीमा डा. पंकज वर्मनसहितको चिकित्सक टोलीले उनको उपचार गरिरहेको थियो । गिरिको निमोनिया निको हुन नसकेको तथा घाँटीमा देखिएको क्यान्सर अन्य भागमा पनि फैलिँदै गएको थियो ।
भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर स्वदेश फर्किएलगत्तै निमोनिया देखिएपछि गिरीलाई तीन साताअघि मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । उनको निधनप्रति राजनीति नेतृत्वले दुःख व्यक्त गरेको छ ।
कांग्रेसले विज्ञप्ति निकालेर उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । मित्रलाल र पुण्यप्रभाका छोरा गिरीका श्रीमती र एक छोरा छन् । उनी सिराहा १ बाट प्रतिनिधिसभा सदस्य हुन् । स्थायी ठेगना बस्तीपुर सिराहा रहेका गिरी हाल भीमसेनगोला काठमाडौंमा बस्दै आएका थिए ।
आइतबार ९–११ बजेसम्म पार्थिव शरीर अस्पतालमै श्रद्धाञ्जलीका लागि राखिने, ११ः३० देखि २ बजेसम्म पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिने र त्यसपछि अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजाने कार्यतालिका रहेको कांग्रेसले जनाएको छ ।