काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीबारे सकारात्मक कुरा गर्दै नगर्न पार्टीका नेता, कार्यकर्तालाई कडा निर्देशन दिनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित पार्टीको उपत्यका विशेष युवा जिल्ला भेलामा बोल्दै अध्यक्ष नेपालले ओलीबारे सकारात्मक हुने खालको कुनै पनि प्रचार नगर्न पार्टी पंक्तिलाई सचेत गराउनुभएको हो ।
ओलीबारे पोजिटिभ हुने गरी प्रचार गरिए सैह्य नहुने उहाँको चेतावनी थियो । अध्यक्ष नेपालले हामीलाई अपराधि घोषणा गर्ने, देशद्रोही भन्ने, अस्तित्वलाई समेत स्विकार नगर्ने ओलीलाई मुखभरीको जवाफ दिन पार्टीका नेता, कार्यकर्ताहरुलाई सक्रिय हुन आग्रह समेत गर्नुभयो ।
उहाँले एमालेसँग जाने कल्पना समेत गर्न नसकिने पटकपटक दोहोर्याउनु भयो । अध्यक्ष नेपालले विचार मिल्ने, कुरा मिल्ने बामपन्थी दलहरुसँग एकतावद्ध भएर जाने प्रस्ताव आफ्नो पार्टीले अगाडि बढाईरहेको तर एमालेसँग भने मिल्ने कुनै सम्भावना नभएको बताउनुभयो ।
उहाँले स्थानीय तहको चुनावमा भन्दा पनि थप सफलता हासिल गर्नका लागि आफ्नो पार्टीले आगामी चुनावमा पनि सत्तारुढ गठबन्धन कायमै राखेर अघि बढने निर्णय लिएको उल्लेख गर्नुभयो ।
अध्यक्ष नेपालले पार्टी विभाजन भएको बेला गएका १० भाईहरुको एमालेमा बिजोग भईरहेको टिप्पणी पनि गर्नुभयो । एमालेमा बिजोग हुने अवस्था आउने देखेरै आफूहरुले बाध्य भएर नयाँ पार्टी गठन गर्नु परेको उहाँको भनाइ थियो ।