सुरक्षा व्यवस्थापन मिलाउन सरकारलाई निर्वाचन आयोगकाे चार बुँदे निर्देशन

[sharethis-inline-buttons]

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि सरकारलाई चार बुँदे निर्देशन दिएको छ ।

आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं गृह मन्त्रालयलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा ४ बमोजिमको सुरक्षा योजना तयार गरी आयोगमा उपलब्ध गराउन निर्देशन दिएको हो ।

आयोगले गत स्थानीय चुनावबाट प्राप्त तथ्य, तथ्यांकसमेतका आधारमा मतदान कार्यमा विभिन्न खाले अवरोध सिर्जना भएका मतदान केन्द्रको विवरण तयार पार्न पनि निर्देशन दिएको छ ।

अति संवेदनशील तथा संवेदनशील मतदानस्थल तथा मतदान केन्द्रको तथ्यगत विवरण तयार गरी सोहीअनुसारको सुरक्षा योजनाको प्रबन्ध गर्न सरकारलाई आयोगले निर्देशन दिएको हो । कुनै पनि मतदान केन्द्रमा मतदान कार्यमा अवरोध नहुने अवस्थाको सुनिश्चितता हुने गरी विस्तृत सुरक्षा योजना तयार गरी तदनुसार सुरक्षाकर्मी खटनपटनको प्रभावकारी व्यवस्था मिलाउन आयोगले निर्देशन दिएको छ ।

कुनै कारणवश कुनै पनि मतदान केन्द्रमा मतदान अवरोध हुने वा गर्ने स्थिति सिर्जना भए निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ अनुसार कारबाही हुने ब्यहोराको जानकारी सबै सुरक्षा निकायलाई अग्रिम रूपमा दिन पनि निर्देशन दिएको आयोगका प्रवक्ता शालिग्रम शर्मा पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार आयोगले सुरक्षा व्यवस्थापनमा सुरक्षाकर्मी कम हुने अवस्था भएमा सुरक्षाको थप व्यवस्थाका लागि सेवा निवृत्त तालिम प्राप्त नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय सेवादल र स्थानीय तहका नगर प्रहरी तथा स्थानीय तह निर्वाचन, २०७९ मा भर्ना गरिएका तालिम प्राप्त जनशक्तिलाई निजहरू सेवा निवृत्त हुँदाका तत्‌तत् पदअनुसार नियुक्ति दिई परिचालन गरी निर्वाचन सुरक्षा व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।


प्रकाशित : २०७९ भाद्र २ बिहीबार