तेस्रो पटक भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

[sharethis-inline-buttons]

काठमाडौं । भारतबाट लगातार तेस्रो पटक पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। नेपाल आयल निगमका अनुसार मंगलबार प्राप्त मूल्य सूचीमा पेट्रोल १ रुपैयाँ ९४ पैसा र डिजल ४ रुपैयाँ ८४ पैसा घटेर आएको छ ।

यसअघि साउन १६ गते दोस्रो पटक डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको थियो ।

त्यसअघि साउन १ गते पेट्रोल प्रतिलिटर १५ रुपैयाा ७६ पैसा र डिजेल १६ रुपैयाा ५६ पैसा घटेर आएको थियो। लगातार तीन पटक मूल्य घटेर आए पनि नेपाल आयल निगमले भने यहाँ मूल्य घटाएको छैन ।

नेपालमा हालको मूल्यलाई यथावत राख्दा पेट्रोलमा अब निगमलाई प्रतिलिटर ४ रुपैयाँ नाफा देखिएको छ भने डिजलमा प्रतिलिटर ५ रुपैयाँ घाटा रहनेछ ।समग्रमा अब निगमलाई १५ दिनको नोक्सान ३१ करोडमा झरेको छ । यसअघिको नोक्सानीका कारण भारतीय आयल कर्पोरेसनलाई निमगले अझै २४ अर्ब तिर्नुपर्ने दायित्व छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै नेपाल आयल निगमलाई इन्धनको भाउ घटेर आएको हो । हाल अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ९३ डलर हाराहारीमा छ भने डब्लूटीई तेलको मूल्य प्रतिब्यारेल ८८ डलर छ । यो भाउ अझै घट्ने अनुमान छ । दुई महिनाअघि प्रतिब्यारेल १२० डलरभन्दा माथि पुगेको कच्चा तेलको मूल्य पछिल्ला दिनमा घट्दै गएको छ।


प्रकाशित : २०७९ श्रावण ३१ मंगलवार