काठमाडौं । आगामी निर्वाचनमा वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले नेकपा माओवादी केन्द्रको चुनाव चिह्न प्रयोग गर्ने भएको छ ।
माओवादी केन्द्रको मंगलवार विहान बसेको स्थायी कमिटी बैठकले गौतमको पार्टीलाई पनि हँसिया हथौडा चुनाव चिह्न दिने निर्णय गरेको हो । यसअघि
बाबुराम भट्टराई नेतृत्वको नेसपालाई पनि पार्टीको चुनाव चिन्ह दिने माओवादी केन्द्रले निर्णय गरेको थियो ।
भट्टराईलाई पार्टीको चुनाव चिह्न प्रयोग गरेर निर्वाचन लड्न दिने औपचारिक निर्णय भए पनि वामदेवको हकमा चुनाव चिह्न दिएपनि कहाँबाट लड्ने भन्नेबारे चाहिँ गठबन्धनमा छलफल गरेर निष्कर्षमा पुग्ने निर्णय भएको माओवादीका एक नेताले बताए ।
वामदेवले बर्दिया नभई प्यूठानबाट चुनाव लड्ने आशय व्यक्त गरेपछि गठबन्धनमा अप्ठ्यारो परेको छ । किनभने प्यूठान जनमोर्चालाई दिने गठबन्धनमा छलफल भइरहेको छ ।