लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयकमा सहमति भएका विषयलाई समेटेर नै सरकारले सदनमा पेस गरेर पारित गरेको बताउनुभएको छ । उहाँले वर्षाैँदेखि नागरिकताविहीन युवाहरुको भावनालाई सम्बोधन गर्न सरकारले दलहरुबीच सहमति गरेर विधेयक सदनबाट पारित गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “बाबुआमा नेपालमा रहेको तर छोराछोरी नागरिकताविहीन हुँदा राज्यबाट पाउनुपर्ने सबै अधिकारबाट वञ्चित युवाहरुको भावनाअनुसार विधेयक पास गरिएको हो ।”
गृहमन्त्री खाणले १० वर्ष उमेरमाथिका कोभिड–१९ विरुद्ध पहिलो शृङ्खलाको पूर्ण खोप तथा १५ महिनासम्मका बालबालिकाहरुको पूर्ण खोप दिगोपना सुनिश्चितता रुपन्देही जिल्ला घोषणा कार्यक्रम घोषणा गर्दै सरकारले सबै दलका नेताहरुसँग गहन छलफल गरेर यो विधेयक सदनमा अघि बढाएकोसमेत बताउनुभयो ।
उहाँले नागरिकता विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएर राष्ट्रपतिकामा स्वीकृतका लागि पठाइएको र यो विधेयक छिटो स्वीकृत होस् भन्ने आम नेपाली जनताको चाहना रहेको उल्लेख गर्नुभयो ।
उहाँले नेपालका हिमाल, पहाड र तराई जुन भूभागमा बसोबास गरेको छ त्यहीकै समुदायले नै भूगोलको रक्षा गरेको चर्चा गर्दै नेपाली भाषा, संस्कृति र भूगोलको रक्षा गर्ने वास्तविक नेपाली नागरिक नै राष्ट्रियताको संरक्षक भएको बताउनुभयो ।