काभ्रेपलाञ्चाेक । जिल्लाको चौंरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौंलागाईं जेष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्यकर्मीको टोली सहित टोल–टोलमा पुग्नुभएकाे छ ।
‘जेष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम’ को एक समोरोहका बीच अध्यक्ष चौंलागाईंले उद्घाटन गरेसँगै जेष्ठ नागरिकको स्वास्थ्य सेवा प्रदान गर्न अब टोल–टोलमै पुग्नु भएको हो ।
‘जेष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम’ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चौंलागाईंले हरेक नागरिकले सहज ढंगले स्वास्थ्य सेवा पाउनु उसको अधिकार भएको बताउनुभयाे । ‘हरेक नागरिकले सहज ढंगले स्वास्थ्य सेवा पाउनु उसको अधिकार हो । यसको व्यवस्था सरकारले गर्नुपर्छ ।’ उहाँले भन्नुभयाे, ‘यही मर्मलाई आत्मसात गर्दै विशेष गरी जेष्ठ नागरिकहरुलाई टोल–टोलमै स्वास्थ्य सेवा प्रदान गर्न हामी आएका छौं । आगामी दिनहरुमा यो कार्यक्रमलाई अझ प्रभावकारी बनाउन आम जनताको माँझमा आउने योजना छ ।’
यस कार्यक्रम अन्तर्गत विभिन्न टोलमा गाउँघर क्लिनिक सञ्चालन गर्ने बताउँदै उहाँले गाउँघर क्लिनिकसम्म आउन नसक्ने अशक्त नागरिकहरुको हकमा भने घर–घरमै स्वास्थ्य सेवा प्रदान गरिने बताउनुभयाे।
गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेटमा जेष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रमको व्यवस्था गरेको थियो ।