
काठमाडाैं । परराष्ट्रमन्त्री डा नारायण खड्का तीन दिने भ्रमणमा मंगलबार साँझ चीनतर्फ प्रस्थान गर्दै हुनुहुन्छ। चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा खड्का उत्तरी छिमेकीको औपचारिक भ्रमणमा जान लाग्नुभएकाे हाे।
गत वर्ष देउवा सरकार बनेपछि नेपालका तर्फबाट चीनतर्फ हुन लागेको यो नै पहिलाे उच्चस्तरीय भ्रमण हो।
मन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङबीच चीनको पूर्वमा पर्ने सान्दोङ प्रान्तस्थित तटीय शहर छिङदाओमा प्रतिनिधिमण्डल स्तरमा बुधबार द्विपक्षीय वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। वाङले खड्का र नेपाली भ्रमण टोलीको सम्मानमा बुधबारै रात्रिभोज दिनुहुने छ।
चीन भ्रमणमा परराष्ट्रमन्त्री खड्काले नेपालको एक चीन नीतिप्रति प्रतिबद्धता जनाउने परराष्ट्र मन्त्रालयले जनाएको छ।
‘एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध छ। हामी चीनको सार्वभौमिकता र अखण्डताको सम्मान गर्छौं। चीनले पनि नेपालको अखण्डतालाई सम्मान गरिआएको छ। शान्ति चाहने मुलुक भएकाले कुनै पनि विवाद शान्तिपूर्ण माध्यमबाट हल होस् भन्ने नेपालको धारणा हो,’ मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भ्न्नुभयाे।
गतसाता अमेरिकी सभामुख ताइवान भ्रमणमा रहेकै बेला चिनियाँ राजदूत होउ यान्छीले नेपालको एक चीन नीतिको प्रशंसा गर्दै त्यसमा नेपाल प्रतिबद्ध रहने अपेक्षा व्यक्त गर्नुभएकाे थियाे।