काठमाडौं। नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वउपप्रधानमन्त्री डा. भीमबहादुर रावलले सत्ता गठबन्धनले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा तालमेल गर्ने निर्णय गर्नु संविधानविपरित भएको टिप्पणी गर्नुभएकाे छ ।
उहाँले निर्वाचनमा तालमेल समान सिद्धान्त, विचार र दर्शन भएकाहरुबीच हुने भन्दै अहिले कायम रहेको पाँच दलीय गठबन्धनबीच कुनैपनि कुरा नमिल्ने बताउँदै गठबन्धन गरे संविधानविपरित हुने बताउनुभएकाे हाे ।
आज (शुक्रबार) राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै रावलले हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पनि पाँच दलीय गठबन्धनले संविधानविपरित तालमेलको नाममा लोकप्रिय मत मागेको आरोप लगाउनुभयाे ।
रावलले आम निर्वाचन सरकार र आयोगले स्वतन्त्र, निश्पक्ष र भयरहित वातवारणमा गराउनुपर्नेमा जोड दिनुभयाे ।
रावलले निर्वाचनको मिति घोषणा गर्दागर्दै सरकारले कतिपय सचिवहरुको सरुवा र केही महत्वपूर्ण नियुक्ती गरेको भन्दै विरोध जनाउनुभयाे । निर्वाचनमा उम्मेद्धवारले मनोनयन गर्दाको समयसम्म सांसद पद कायम रहने जिकिर गर्नुभयाे । आगामी निर्वाचनमा एमाले कसरी जान्छ ? भन्ने विषयमा अहिले छलफल नभएको उहाँकाे भनाइ थियो । उहाँले नेपालको संविधान, स्वतन्त्रता, लोकतन्त्र र राष्ट्रको हितको लागि बोल्नु नागरिकको कर्तव्य भएको भन्दै आफूले सोही कर्तव्य निर्वाह गरेको पनि बताउनुभयाे ।