काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको पद उम्मेदवारी दर्ता गरेसँगै सकिने बताउनुभएकाे छ । उहाँले त्यसको कानुनी व्याख्या गरेर आयोगले सार्वजनिक गर्न पनि बताउनुभएकाे छ ।
मंसिर ४ गतेका लागि निर्वाचन मिति तोकिएपछि आयोगको तर्फबाट बिहीबार पत्रकार सम्मेलन आयोजना गरेर प्रमुख निर्वाचन आयुक्त थपलियाले सबै उम्मेदवारका लागि समान प्रतिस्पर्धाको वातावरण बनाउनका लागि बहालवाला सांसदको पदावधिबारे टुंगो लगाइने बताउनुभएकाे हाे ।
‘आयोगले निर्वाचनमा सबै उम्मेदवारप्रति समान अवसर र समान खेल मैदानको अवसर उपलब्ध गराउनेछ । प्रतिनिधिसभा र प्रदेश सभाको पदमा उम्मेदवारी दिएपछि, दशैँलगत्तै उम्मेदवारी दर्ता गर्नुपर्ने गरी मिति तय गर्नुपर्ने देखिन्छ, उम्मेदवारी दिएपछि निजहरूको पद स्वतः सकिएको मानिनुपर्छ भन्ने आयोगको धारणा छ । कानुनसम्मत ढंगले व्याख्या गरेर अगाडि बढाउँछौं, थपलियाले भन्नुभयाे ।
प्रदेश सभा र प्रतिनिधिसभाको कार्यकालको व्याख्या भने आयोगले नगर्ने थपलियाको भनाइ थियो । उहाँले निर्वाचित भएको मितिबाट कार्यकाल शुरु हुने र त्यसको पाँच वर्षमा सकिने व्यवस्था पनि स्मरण गराउनुभयाे ।
सांसदहरूको पदावधि अन्तर्राष्ट्रिय मूल्य मान्यता, संसदीय अभ्यास, संविधान र कानुनी व्यवस्थाअनुसार हुनुपर्ने उहाँको भनाइ छ ।