चुनाव लक्षित गरेर सरकारले बृद्ध भत्ताकाे उमेर हद ७० वर्षबाट ६८ बनायाे : एमाले अध्यक्ष ओली

[sharethis-inline-buttons]

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव आउँदैछ भनेर सरकारले बृद्ध भत्ताका लागि ७० वर्षबाट ६८ वर्ष उमेर हद बनाएको आरोप लगाउनुभएको छ ।

शुक्रबार पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वृद्ध भत्ता पाउन सरकारले २ वर्ष उमेर घटाएर ६८ वर्ष राख्नु चुनावबाहेक अन्य कुनै कारण नभएको बताउनुभयो ।

उहाँले सो सम्बन्धमा त्यसबाहेक अन्य कुनै लजिक छ भनि सरकारलाई प्रश्न समेत गर्नुभयो । उहाँले काँग्रेस नेतृत्वको विगतका सरकारहरुप्रति संकेत गर्दै मुलुकको उद्योगधन्दा निजी क्षेत्रलाई कौडीको मूल्यमा बेचेर राष्ट्रलाई कंगाल बनाएको पनि दोहोर्याउनुभयो ।

ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले निजी क्षेत्रलाई साथ लिएर कृषि क्षेत्रको उत्पादन वृद्धि र राष्ट्रिय उद्योगहरुको प्रवर्द्धनलाई बढावा दिने नीति लिएको बताउनुभयो ।

ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले मुलुकको समृद्धिका लागि स्पष्ट बाटो लिएको स्मरण गर्न पनि विज्ञहरुलाई आग्रह गर्नुभयो । उहाँले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट भ्रष्ट रहेको दावी समेत गर्नुभयो । ओलीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माप्रति संकेत गर्दै अर्थ मन्त्रालयको सिसीटिभी फुटेज हटाउनु, ड्यामेज गरिनु नै त्यसको पर्याप्त प्रमाण भएको तर्क गर्नुभयो ।

उहाँले न्यायालयका न्यायाधीश समेत आफ्नै रहेको काँग्रेसले खोटाङको एम अधिकारीलाई खोजिरहेको भन्दै आपत्ति जनाउनुभयो ।

मुलुकको अर्थतन्त्र संकट उन्मुख भएपनि आफ्नो पार्टीले त्यतातर्फ जान नदिने दृढता समेत व्यक्त गर्नुभयो ।


प्रकाशित : २०७९ श्रावण ६ शुक्रबार