काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) ले आफ्ना जनप्रतिनिधिलाई १६ बुँदे निर्देशन जारी गरेको छ। राजधानीमा स्थानीय जनप्रतिनिधिहरुलाई दुई दिनसम्म अभिमुखीकरण तालिम दिँदै समाजवादीले १६ बुँदे निर्देशन जारी गरेको हो।
सो निर्देशनमा सादा जीवन, उच्च विचारका साथ जीवन बिताउँदै जनपक्षीय शैली अपनाउन भ्रष्टाचार, ढिलासुस्ती र अनियमितता जस्तो जनविरोधी रोगहरूलाई समाप्त पार्न, आ–आफ्नो कार्यक्षेत्रमा शिक्षा र आधारभूत स्वास्थ्य सेवा सुलभ गराउन लगायतका प्रतिबद्धता जनाइएको छ।
यस्ता छन् समाजवादीकाे प्रतिबद्धता,
१. हामी हाम्रो पार्टीको घोषणापत्रमा प्रस्तुत गरिएका प्रतिबद्धतालाई पूर्ण रुपमा कार्यान्वयन गर्न कटिबद्ध छौं ।
२. हामी सादा जीवन, उच्च विचारका साथ जीवन बिताउँदै जनपक्षिय शैली अपनाउन प्रतिबद्ध छौं ।
३. हामी भ्रष्टाचार, ढिलासुस्ती र अनियमितताजस्तो जनविरोधी रोगहरुलाई समाप्त पार्न आ—आफ्नो ठाँउबाट संघर्ष गर्न कटिबद्ध छौं ।
४. हामी आ—आफ्नो कार्यक्षेत्रमा शिक्षा र आधारभुत स्वास्थ्य सेवा सुलभ गराउन प्रतिबद्ध छौं । साथै स्वास्थ्य शिक्षाजस्ता आधारभूत मानवाधिकारकोसुनिश्चित गर्न यसमा सावर्ज निक लगानी गराउन प्रतिबद्धता व्यक्त गर्दछौँ । समाजवाद निर्माणको अनिवार्य शर्त समग्र मानव विकास भएकाले मानव संशाधन विकासमा लगानी बढाउने कुरा हाम्रो प्राथमिकतामा रहनेछ ।
५. हामी स्थानीय उत्पादनलाई प्रात्साहित गर्नेछौं । कृषि उत्पादन बढाउने र कृषकको उत्पादन बिक्रीको व्यवस्था गर्न विशेष योजना सञ्चालन गर्नेछौं ।
६. हामी सामाजिक न्याय स्थापना गर्न, सबैखाले विभेदको अन्त्य गर्न र समानता सहितको स्वतन्त्र समाज विकासको लागि कटिबद्ध छौं ।
७. हामी हाम्रो कार्यक्षेत्रबाट युवाहरुको विदेश पलायन रोक्न र स्वदेश मै रोजगारी सृजना गर्न हरसम्भव प्रयास गर्नेछौं ।
८. हामी आ—आफ्नो कार्यक्षेत्रको बजेट र प्राप्त अन्य स्रोत साधनको अधिकतम सदुपयोग गर्नेछौं, आफ्नो स्थानीय तहको बजेटलाई यथासम्भव उत्पादनमुखी र जनमुखी बनाउनेछौं
९. हामी भविष्यमा आइपर्ने विभिन्न खालका विपदका जोखिमहरुको आँकलन गरि विपद जोखिमको पूर्वतयारी गरि विपद व्यवस्थापनमा ध्यान दिनेछौं ।
१०. हाम्रा स्थानीय तहहरु मार्फत बालमैत्री स्थानीय शासन अबलम्बन गर्नेछौं । हाम्रो उपस्थिती भएको स्थानीय तहमा महिला, अपांगता भएका व्यक्ति र जेष्ठ नागरिकको सम्मान तथा सुरक्षामा ध्यान दिनेछौं साथै फरक पहिचान भएका र तेस्रो लिंगी समुदायका मानिसहरुले समानता र सम्मानपुर्ण व्यवहार पाउनु हुनेछ । श्रमजीवी वर्गलाई लक्षित गर्दै बालस्याहार केन्द्र स्थापना गर्ने काम प्राथमिकतामा राख्नेछौँ ।
११. हामी सावर्जनिक भौतिक संरचना निर्माण गर्दा अपांग मैत्री, र बालमैत्री बनाउनेछौं ।
१२. हामी आ—आफ्नो कार्यक्षेत्रको प्राकृतिक पर्यावरणको सुरक्षा गर्न गाँउ सहर सफा राख्न तथा विकास निर्माणलाई वातावरणमैत्री बनाउन प्रतिबद्ध छौं ।
१३. हामी राष्ट्रिय एकता र जनताका बीचमा मेलमिलाप र साम्प्रदायिक सद्भाव कायम गर्न निरन्तर प्रयत्नशील रहने छौं ।
१४. हामी हाम्रा स्थानीय तहका नागरिकहरुको समस्याको केन्द्र भागमा रहेर हर योजना तर्जुमा तथा कार्यान्वयन गर्नेछौं ।
१५. हामी आ आफ्नो स्थानीय तहमा स्रोत साधनको अधिकतम प्रयोग गर्दै निर्यात बृद्धि, आयात प्रतिस्थापन र स्वाबलम्बी अर्थतन्त्र निर्माणमा प्रतिबद्ध रहनेछौं ।
१६. हामी नेपालको संविधानले निर्दिष्ट गरेको अधिकार र पार्टीको कार्यदिशा अनुरुप स्थानीय तहमा समाजवाद उन्मुख कार्य गर्न प्रतिवद्ध छौं।